सन् २०१० मा बोस्टनमा नेपालीहरूको संग्लग्नतामा स्थापित हिमालयन लायन्स क्लबले आफ्नो स्थापनाको नवौँ वार्षिकोत्सव मनाएको छ ।
झन्डै चार दर्जनको संख्यामा रहेका सदस्य र तिनका परिवार सदस्य अनि आमन्त्रित गरी १०० बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा क्लबका गतिविधि प्रस्तुत गर्नुका साथै नयाँ कार्यसमितिको घोषणा गरिएको थियो ।
लायन्स क्लब इन्टरनेसनल ३३ के म्यासाचुसेट्सका जोन चेयर केन चियाको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा चाइना टाउन लायन्स क्लबका फेनी चान्, बोनी कोकसहित क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्त, एसियन अमेरिकन कमिसनका कमिस्नर प्रल्हाद केसी, एनआरएन एनसीसी युएसएका बोर्ड अफ डाइरेक्टर तृष्णा शर्मा, एनआरएन म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष विष्णु कार्की, पशुपति-बुद्ध फाउन्डेसनका चेयर पर्सन मिलन गुरुङ, एनडब्लुजीएनका अध्यक्ष शान्ति जोशीलगायतका आमन्त्रितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लवका अध्यक्ष राम थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव थानीरत्न कँडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लबका द्वितीय उपाध्यक्ष गोवर्द्धन पूजाले क्लबको गतिविधिसहित पाहुनाको स्वागत गरेका थिए ।
क्लबका नवनिर्वाचित अध्यक्ष पेशल रेग्मीले आफ्नो कार्यकालमा पुराना राम्रा कार्यलाई निरन्तरता दिने र नयाँ राम्रो कार्यको थालनी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्लवले वर्षिक रूपमा नेपालको एउटा विद्यालयलाई छनोट गरी १५ सय अमेरिकी डलर सहयोग गर्दै आएको छ भने रक्तदान, आँखा स्वास्थ्य शिविर, तीज कार्यक्रमलगायतका कार्य गर्दै आएको छ ।
क्लवका पूर्वअध्यक्ष विष्णु कार्कीको संयोजनमा गठित निर्वाचन समितिले घोषणा गरेको नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष पेशल रेग्मी, प्रथम उपाध्यक्ष गोवर्द्धन पूजा, द्वितीय उपाध्यक्ष सुशील नेपाल, सचिव तथा कोषाध्यक्ष थानीरत्न कँडेल, मेम्बर सेक्रेटरी विनोद उप्रेती रहेका छन् । यसरी नै विभिन्न उपसमितिहरूमा महेश्वर पन्त, विनोद सुवेदी, राम धिताल, चन्द्रबहादुर मल्ल, अन्जु थापा, मान्ती शाह, दीपक पुरी, आशु राजभण्डारी छनोट भएका छन् । नयाँ कार्यसमितिले आगामी जुलाईबाट कार्यभार ग्रहण गर्नेछ ।
(तस्वीर : विमल नेपाल)
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५