काठमाडौं : काठमाडौंमा सम्पन्न लियो जिल्ला परिषद् ३२५ एवान्को सातौँ राष्ट्रिय महाअधिवेशनबाट विराटनगरका रञ्जित भगत अध्यक्षमा निर्विरोध भएका छन् भने उपाध्यक्षमा सब्रिनराज गौतम निर्वाचित भएका छन् ।
लियोको अभियानमा विगत लामो समयदेखि सक्रिय सहभागी हुँदै आएका भगत यसअघि विभिन्न पदमा रहेर युवा सशक्तीकरण लगायत सामाजिक काममा सक्रिय थिए । विराटनगर ग्रिन सिटी लियो क्लबको संस्थापक अध्यक्ष हुँदै उनी लियो जिल्ला परिषद्मा कमिटी कोअर्डिनेटर, सहकोषाध्यक्ष, एरिया कोअर्डिनेटर मूल्यांकन समितिको सदस्य, सदस्य अभिवृद्धि संयोजक, सिनियर एरिया कोअर्डिनेटर, बहुजिल्ला परिषद्को सहकोषाध्यक्ष हुँदै गतवर्ष जिल्ला परिषद्को उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन् ।
त्यस्तै उनको कामप्रतिको लगाव देखेर अमेरिकी दूतावासले समेत उनलाई अमेरिकी काउन्सिल युवा परिषद्को सदस्यमा मनोनित गरेको थियो ।
यसवर्ष वान टिम वान ड्रिमको नारालाई आत्मसात् गर्दै लियोलाई एउटा नयाँ उचाइ दिन आफू प्रतिबद्ध भएर लाग्ने र युवालाई अझ बढी रचनात्मक र क्रियाशील बनाउन भूमिका खेल्ने भगतले बताए ।
लियोको सम्मेलनमा भारत, श्रीलंका, दुबईलगायत देशको भ्रमण गरेर आफ्नो क्षमता बढाउँदै लागेका भगतको नेतृत्वलाई जिल्ला परिषद्मा महत्वपूर्ण रूपमा हेरिएको छ ।
अध्यक्षमा निर्वाचित भएपछि उनले टिममा सचिवको जिम्मेवारीमा मुकेश पौडेल र कोषाध्यक्षमा डोल्मा श्रेष्ठलाई मनोनीत गरेका छन् । अन्य पदमा पनि चाँडै नै नियुक्त गर्ने भगतले जानकारी दिए ।
देशका विभिन्न ठाउँमा ५८ लियो जिल्ला परिषद्का क्लब छन् । लायन्स क्लब अन्तर्राष्ट्रियको युवा प्रोजेक्टको रूपमा लियो क्लबले काम गर्ने गर्दछ । सात हजारभन्दा बढी क्लब र एक लाख ७५ हजारभन्दा बढी सदस्य संलग्न रहेर एक सय ४५ भन्दा बढी देशमा काम गरिरहेको छ ।
त्यस्तै काठमाडौंमै सम्पन्न लायन्स क्लब अन्तर्रास्ट्रिय ३२५ एवान्को निर्वाचनमा विराटनगरका राजन खत्री डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् । त्यस्तै प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा टंकबहादुर श्रेष्ठ, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा रेवतबहादुर कार्की निर्वाचित भएका छन् ।
गभर्नरमा निर्वाचित खत्रीले विकास अधिकारीलाई सचिव, धीरज गुरुङलाई कोषाध्यक्ष र पूर्वगभर्नर भीम घिमिरेलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५