करिब चार हजार दुई सय मिटर उचाइमा रहेको सोलुखुम्बूको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम भए । एक्काइस किलोमिटरको दूरी गुरुङले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा ४० मिनेटमा पार गरे ।दुवै जनाले नगद ५०–५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरुषतर्फ सोलुखुम्बूका सुमन कुलुङ दोस्रो र खोटाङका हेमराज बस्नेत तेस्रो भए । कुलुङले एक घण्टा ५३ मिनेट र बस्नेतले एक घण्टा ५९ मिनेटमा निर्धारित दूरी पूरा गरे ।
यसैबीच महिलातर्फको म्याराथन दौडमा खिजीदेम्बा गाउँपालिका–३ ओखलढुङ्गाकी कष्णकुमारी भुजेल दोस्रो र मोलुङ गाउँपालिका ओखलढुङ्गाकी छोटी शेर्पा तेस्रो भए । भुजेलले दुई घण्टा ५२ मिनेट र शेर्पाले दुई घण्टा ५४ मिनेटमा दौड पूरा गरेका थिए । पुरुष र महिलातर्फ दोस्रो र तेस्रो भएका प्रतियोगीले क्रमशः ४० हजार र ३० हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन् ।
म्याराथनका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुङ्गा टुरिजम डेभलपमेन्ट कमिटीले हाफ म्याराथन आयोजना गरेको कमिटीका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले बताए । चार हजार दुई सय मिटर अग्लो सोलुखुम्बूको पिकेदेखि दुई हजार पाँच सय मिटर उचाइमा रहेको खिजिफलाटेसम्म २१ किलोमिटर हाफ म्याराथन गरिएको उनको भनाइ छ ।
उपाध्यक्ष शेर्पाका अनुसार दौडमा दुवैतर्फ आठौँ स्थानसम्मका प्रतियोगीलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । म्याराथनमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भक्तपुर, प्यूठानलगायत जिल्लाका ९४ महिला तथा पुरुष धावक सहभागी थिए ।