काठमाडौं : पश्चिम लण्डनको क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
सोमबारराति भएको खेलमा वेष्ट ह्यामलाई २–० ले हराउँदै चेल्सी तेस्रो स्थानमा उक्लिएको हो । चेल्सीको जितमा दुवै गोल इडेन हाजार्डले गरे ।
पहिलो हाफको २४ औं मिनेटमा गोल गर्दै हाजार्डले चेल्सीलाई अग्रता दिलाएका थिए । खेलको ९० औं मिनेटमा दोस्रो गोल गर्दै उनले अग्रता दोब्बर पारे ।
पाँचौ स्थानमा रहेको चेल्सी जितपछि तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३३ खेलबाट ६६ अंक भएको छ भने पराजित वेष्ट ह्यामको समान खेलबाट ४२ अंक छ ।
लिगको शीर्ष स्थानमा लिभरपुल छ । उसको ३३ खेलबाट ८२ अंक छ भने दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३२ खेलबाट ८० अंक छ ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५