बारा : बारा–पर्साका हावाहुरी पीडितले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् ।
सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गरेका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेको खबर गोकुल घोरसाइनेले आजको समाचारपत्रमा लेखेका छन् ।
फेटा गाँउपालिका ६ पुरैनियाका अमरुद्दिन देवानले वर्षाअघि नै स्थायी घर बनाइदिन प्रधानसेनापति थापालाई अनुरोध गरे । ‘वर्षाअघि घर बन्न नसके पीडितको बिचल्ली हुने बताउँदै उनले भने, ‘सरकारले घर बनाउने जिम्मा दिएपछि समयमै काम पूरा हुने विश्वास पलाएको छ ।’
हेलिकप्टरबाट दिउँसो बाराको फेटा गाउँपालिका १ भलुही भरबलिया र वडा नम्बर ६ पुरैनिया पुगेका प्रधानसेनापति थापाले हुरी प्रभावितलाई भेटेर घर बनाउन जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गरे । उनले दुई महिनाभित्रै घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
‘लाजपूर्जा भएको नम्बरी जग्गा नभएका पीडितहरूका लागि भने सामूहिक आवास बनाउने योजना छ’, उनले भने, ‘जसको नम्बरी जग्गा छ, त्यसको विवरण हामीलाई छिट्टै उपलब्ध गराइदिनुस् ।’
उनले भने, ‘ऐलानी जग्गामा बस्दै आएकाहरूको हकमा प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षले जग्गा उपलब्ध गराइदिएमा सुकुम्बासी पीडितहरूका लागि सामूहिक आवास बनाउँछौँ ।’
प्रधानसेनापति थापाले सोमबार नै हुरीले प्रभावित बाराको परवानीपुर गाँउपालिका ४ चैनपुर, पर्साको सुखचैना, जगरनापुर गाँउमा पनि स्थलगत निरीक्षण गरेकमा थिए ।
निरीक्षण टोलीमा प्रधानसेनापति थापासँगै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई, गाउँपालिका अध्यक्ष, वडा अध्यक्षलगायतको सहभागिता थियो ।
यही चैत १७ गते आँधीहुरीले बारामा एक हजार आठ सय ९५ र पर्सामा तीन सय ९६ घर टहरमा क्षति पु¥याएको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ । स्मरणीय छ, सरकारले हुरी प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५