काठमाडाैं : अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सुजन सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावले अहिले धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको हो । यसकै प्रभावले उपत्यकासहित मध्य र पूर्वमा केही ठाउँमा अझै केही समय मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ ।
त्यसपछि रोकिए पनि मंगलबार काठमाडाैंसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् सुवेदीको अनुमान छ । मौसम खुले पनि एकैछिनमा बदली हुनेछ ।
एक दुई ठाउँमा ठूलो पानी पनि पर्न सक्छ । पश्चिमको मौसम भने आंशिक बदली हुने उनले बताए ।
पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पश्चिमबाट बादल मध्यतिर सरिरहेकाले अहिले देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास चलेको हो ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५