एउटा गाउँ समृद्ध बन्न कति समय लाग्छ ? २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ कार्यक्रम ल्याए र गाउँलाई बजेट छुट्याउने कामको सुरुवात गरे ।
भरतमोहनले यो कार्यक्रम ल्याएको २५ वर्ष पुग्न लाग्यो । हाम्रा गाउँको अवस्था भने उस्तै छ । त्यसैले फेरि भन्न मन लाग्छ, एउटा गाउँ कति समयमा समृद्ध बन्छ होला ? अनि यतिका वर्षसम्म गाउँहरू किन समृद्ध बन्न सकेनन् ?
यसका आफ्नै तर्क र उत्तर हुन सक्लान् तर इच्छाशक्ति भयो भने विकास हुन समयचाहिँ लाग्दैन । धनकुटाको भेडेटार नजिकै रहेको नाम्जे गाउँलाई नै हेरौँ न । यो गाउँ १० वर्षअघिसम्म सामान्य, पिछडिएको थियो । कच्ची सडक थियो, छिनछिनमा घाम र कुहिरोको लुकामारी हुने यो ठाउँका बाटाहरू दिनभरको घामले सुक्दैनथे ।
अमेरिकी टेलिभिजन च्यानल सीएनएनले ७ डिसेम्बर, २०११ मा यो गाउँलाई विश्वका १२ पर्यटकीय गाउँको सूचीमा राख्यो । यसको प्रचार नेपालमा मात्र होइन, संसारभर भयो । सीएनएनको यो सूचीमा परेपछि नाम्जे गाउँले विस्तारै मुहार फेर्न थाल्यो । नाम जोगाइराख्ने चुनौती खडा भयो । आज नाम्जे गाउँ एउटा नमुना गाउँ र पर्यटकीय गन्तव्य बनेको छ ।
सन् २०११ मा सीएनएनको विश्वका १२ पर्यटकीय गाउँको सूचीमा पर्यो धनकुटकाे नाम्जे गाउँ। विश्वका १२ आत्माघरमध्ये आठौँ यही गाउँमा पर्छ । एक सय २८ चिहानका ढुंगाबाट बनेको यो घर हेर्न पर्यटक पुग्छन् ।
मगर जातिको बढी बस्ती रहेको नाम्जे पुग्ने पर्यटकले होमस्टेमा बसेर हुर्रा नाचको मज्जा लिन पाउँछन् । टाढाबाट आएका पाहुना र पर्यटकसँग छिट्टै घुलमिल हुनु यहाँका मानिसको परिचय नै बनेको छ ।
यो गाउँको भ्रमणमा आएकी ओडेगार्ड कार्पेट्सकी संस्थापक तथा अध्यक्ष स्टेफानी ओडेगार्डले विश्वकै पर्यटकीय गन्तव्यका रूपमा सिफारिस गरेकी थिइन् । स्टेफानी ओडेगार्ड आफ्नो कम्पनीलाई आवश्यक कच्चा पदार्थ जम्मा गर्न स्थानीय महिलाहरू खोज्दै नाम्जे पुगेकी थिइन् ।
नाम्जेको आतिथ्य पाएपछि उनले भनेकी थिइन्, ‘मैले म आफ्नै घरमा छु भन्ने महसुस गरेँ ।’ नाम्जेको आफ्नै मौलिक पहिचान त्यहाँको सम्पत्ति हो ।
त्यहाँका मगर समुदायहरू प्रकृतिसँग नजिक मात्र छैनन्, अध्यात्मिक गतिविधिमा पनि उत्तिकै विश्वास राख्छन् । नाम्जे पुगेपछि हरेक पर्यटक थुम्की हिलको टुप्पामा चढ्न, स्थानीय मगर समुदायको दफनस्थलमा जान सक्छन्, जहाँ स्थानीयले पूर्वजको सम्मानमा पूजा गर्छन् ।
करिब १० वर्षअघि यहाँ खानेपानीको समस्या थियो । सीएनएनले सार्वजनिक गरेको विश्वका १२ पर्यटकीय गन्तव्य गाउँको सूचीमा परेपछि यसको परिचय बदलियो । यो गाउँको अर्को आकर्षण हो, अमेरिकाका क्याथोलिक युनिभर्सिटीका १२ जना आर्किटेक्ट इन्जिनियरहरूले बनाएका आत्माघर । नाम्जेका मगरहरूको २२८ वटा चिहानको ढुंगा मिलाएर बनाइएको छानोबिनाको घर आत्मघर हो, जुन विश्वका १२ आत्मघरमध्ये आठौँमा पर्छ ।
यही आत्मघर हेर्नलाई नै पर्यटकहरू नाम्जेको थुम्कीसम्म गुग्छन् । यो आत्मघर २० रोपनी क्षेत्रफलमा फैलिएको छ । यो जग्गा अमेरिकी पिस्कोर स्वयंसेवक राजिवकुमार गोयलले खरिद गरिदिएका हुन् ।
नमुना पर्यटकीय गाउँमा परेको नाम्जेमा दैनिक सयौँ पर्यटक पुग्छन् । नाम्जे करिब १० वर्षको अवधिमा पिछडिएको गाउँ हुँदै नमुना गाउँसम्मको परिचय बनाएको स्थान हो । हामीसँग यस्ता अनगिन्ती गाउँ छन्, जहाँ पर्यटनको अथाह सम्भावना छ । फेरि आफ्नो गाउँलाई विकासतिर डोहो¥याउन, समृद्ध बनाउन कुनै सूचीमा पर्नै पर्छ भन्ने होइन । सबै एकजुट भएर गाउँको विकासमा लाग्ने हो भने गाउँगाउँ हुँदै समग्र देश विकास हुन्छ ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५