काठमाडौं : के तपाईं त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रारको कार्यालय पुग्नुभएको छ ? आफ्नो कम्पनीको काम आफैँ गर्नुभएको भए पक्कै पुग्नुभएको छ । त्यहाँ जाँदा दुःख पनि प्रशस्तै पाउनुभएको होला, होइन ?
वास्तवमै कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर दुःख नपाउनेहरू कमै होलान् । दुःख भोग्नुभन्दा त्यहाँ वरपर छरिएर बसेका ‘दलाल’हरूको सहारा लिनु नै उत्तम ठान्छन्, अधिकांस सेवाग्राही । कम्पनी रजिस्ट्रारको कार्यालयबाहिर उभिन नपाउँदै त्यहाँ तैनाथ ‘दलाल’हरूले तपाईंलाई सोधिहाल्छन्, ‘सर, कम्पनीको काम गर्नुपर्ने हो ?’
‘यति पैसा दिनुहोस्, हामी चाँडै काम गरिदिन्छौँ’ भन्दै कम्पनी रजिस्ट्रारको कार्यालयमा अतिरिक्त रुपैयाँ लिएर सेवाग्राहीको काम गरिदिनेहरूमा वकिल, अडिटर, पत्रकार, विद्यार्थीलगायतकाहरूको बाहुल्य रहेको छ । चाँडै काम सक्नुपर्ने भए अलिक बढी शुल्क लाग्ने शैलेश थापा बताउँछन् । कम्पनी रजिष्टर, अद्यावधिक तथा शेयर बाँडफाँड जस्ता काममा उनीहरूले कार्यालयभित्रका कर्मचारीका मिलेमतोमा यस्ता कामहरू गर्दै आएका छन् ।
कम्पनी रजिस्ट्रार कार्यालयका सहायक गोविन्दप्रसाद निरौलासँग केही सोध्न गयो भने उनले पनि बाहिरका दलालहरूमार्फत् नै काम गराउन सल्लाह दिने गरेका पीडित बताउँछन् ।
केही व्यक्तिहरू यस्ता पनि हुन्छन् कि कसैलाई अतिरिक्त रुपैयाँ नदिई आफ्नो काम गर्न खोज्छन् । तर त्यहाँका कर्मचारीहरूलाई सोध्दा उनीहरूले उल्टै झर्केर दलालसम्म पुग्न बाध्य बनाउने गरेको कम्पनी अद्यावधिक गर्न पुगेका पत्रकार हिमाल शेर्पाले बताए । उनले आफ्नो कम्पनी दर्ता गर्न त्यहाँ पुगेका थिए । उनको जस्तो समस्या भोग्नेहरू त्यहाँ थुप्रै छन् ।
कार्यालयका सहायक सूचना अधिकृत टंक भट्टराईका अनुसार यहाँका कर्मचारीले त्यसो गर्न मिल्दैन । आफूकहाँ आउने सेवाग्राहीलाई चित्त बुझाएरै पठाउने गरेको उनी बताउँछन् । ‘कर्मचारी पनि थरिथरिका हुन्छन्’, उनी भन्छन्, ‘सेवाग्राहीले पनि सामान्यतया नागरिक वडापत्रसम्म त हेर्ने गर्नुपर्छ ।’

जिल्ला प्रशासन कार्यालय र मालपोतमा हुने दलालहरू र यहाँ काम गर्न आउनेहरूमा केही फरक भएको भट्टराई बताउँछन् । देशभर एउटा मात्रै कम्पनी कार्यालय भएको हुँदा सबै कम्पनीधारीहरू यहाँ आउन संभव नहुने भएकाले नै ऐनमा व्यवस्था गरी अख्तियारीनामा दिएर अरूलाई खटाउन सकिने बनाइएको छ ।
यहाँ आउनेहरूमा कम्पनीधारीहरूको संख्या दश प्रतिशतको हाराहारीमा मात्रै हुने र बाँकी सबैले मान्छेहरू खटाउने त्यहाँ जाने सेवाग्राही बताउँछन् । ठूलाठूला कम्पनीले आफैँ कर्मचारी नियुक्त गरेरै यस्ता काममा खटाउने गरेको पाइन्छ भने सानातिना कम्पनीले आफैँ, होइन भने दलालको भरमा यस्ता काम गराउने गर्छन् । कम्पनीको नियम विस्तारै कडा बन्दै गएपछि र जरिवाना तिर्न बाध्य पारिँदै गएपछि कम्पनीप्रति विस्तारै सेवाग्राही पनि सचेत हुन थालेका छन् ।
कम्पनी खोल्न सजिलो तथा बन्द गर्न निकै गाह्रो हुने अनुभव सेवाग्राहीको छ । पुस्तौँसम्म गाह्रो पर्ने भएको हुँदा कम्पनी खोलेर अद्यावधिक समयमै गराउन सुझाव दिन्छन् सहायक सूचना अधिकृत भट्टराई । समयमै कम्पनीको अद्यावधिक तथा कम्पनीले गरेको कारोबारको भ्याट अनलाइनमार्फत् समयमै दाखिला गर्न सक्यो भने फेरि खासै समस्या नहुने कर्मचारीहरू बताउँछन् ।
कम्पनीअनुसार भ्याट दाखिला गर्ने मिति फरक फरक पनि हुन्छ । कुनै कम्पनीले मासिक बुझाउँछन् भने कुनैले चौमासिक दाखिला गर्न सक्छन् । भ्याट तिर्ने समय अर्को महिनाको २५ गतेसम्म समय तोकिएको हुन्छ । यदि सययसीमाभित्र भ्याट दाखिला गर्न नसकेमा मात्रै जरिवाना लाग्ने गरेको कर्मचारीहरू बताउँछन् ।
सामान्यतया प्राइभेट कम्पनी, पब्लिक कम्पनी, विदेशी लगानीका कम्पनी तथा मुनाफा वितरण नगर्ने गरी चार प्रकारका हुन्छन् । यसमा अहिलेसम्म दुई लाख नौ हजार कम्पनी दर्ता भइसकेका छन् । कम्पनी दर्ता हुने क्रम बढ्दो रूपमा भइरहेको भट्टराई बताउँछन् ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५