काठमाडौं : तपाईं मकैको परिकार भन्दा के सम्झनुहुन्छ ? पोलेको, भुटेको मकै अनि त्यसको पिठोबाट बन्ने ढिँडो ? तर राजधानीको चाबहिलमा तपाईँले कल्पना गरेभन्दा फरक किसिमका मकैका परिकारहरू बनिरहेका छन् ।
एउटा परिकारबाट दिक्क भएकाहरूलाई नयाँ स्वाद दिने उद्देश्यले धनुकुटाका दुर्गाबहादुर सुवेदी र मोरङका राजकुमार अधिकारीले चाबहिलमा ‘मिस्टर कोर्न’ नामबाट मकैका थुप्रै परिकार पाइने रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
अधिकारी पेसाले सिभिल इन्जिनियर हुन् भने सुवेदी पाँच वर्ष विदेशमा काम गरी फर्किएका हुन् । उनीहरू दुवै हाल महालक्ष्मी– ६ ललितपुरमा बस्दै आएका छन् ।
‘नेपालमै पहिलो पटक नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले हामीले यो रेष्टुरेन्टको सुरुवात गरेका हौँ । हामी एउटै किसिमका परिकारबाट वाक्क पनि भइरहेका छौँ’, उनीहरू भन्छन्, ‘हाम्रा पूर्वजहरूले निकै रुचाउनुभएको ढिँडो आजको पुस्ता पनि रुचाउँछ ।’ मकैलाई ढिँडोमा सीमित नगरेर फैलाउनु आवश्यक रहेको र मधुमेहका बिरामी पनि दिन प्रतिदिन बढिरहेका कारण त्यस्ता मानिसहरूका लागि यी परिकार अर्गानिक हुने उनीहरूको भनाइ छ ।
चाबहिलस्थित कामना विकास बैंक रहेको घरको अन्डर ग्राउण्डमा अवस्थित मिस्टर कोर्न रेष्टुरेन्टमा विशेषगरी मम, चाउमिन, फ्राइड राइस, मकैको भात, मकैको ढिँडो, अमेरिकन कनलगायतका थुप्रै परिकार पाइन्छ ।
‘यहाँ मकैको सुप, तरकारी, अचार पनि बनाइन्छ । बिहान उठेदेखि बेलुका सुत्दासम्म सामान्य रूपमा खाइने परिकार सबै पाइन्छ भन्दा फरक पर्दैन, जुन स्वस्थकर छ’, उनीहरू भन्छन्, ‘अहिले मड्का चिया राखेका छौँ । अब छिट्टै मकैको चिया ल्याउने तयारी गरिरहेका छौँ ।’ मकैको चियाचाहिँ हर्वल टी जस्तो हुने र यसले रोगसँग लड्ने शक्ति दिने उनीहरू बताउँछन् । मकैको घोगामा हुने जुँगाबाट चिया बन्नेछ ।
आइतबारबाट रेष्टुरेन्ट सुरुवात गरेका सुवेदी र अधिकारीको योजना भने सानो छैन । उनीहरू काठमाडौंमा एक वर्षभित्रमा दशवटा शाखा खोल्ने योजनामा छन् । काठमाडौंमा स्थापित भइसकेपछि भरतपुर, बुटवल, धरानलगायत प्रमुख शहरहरूमा शाखा विस्तार गर्ने लक्ष्य रहेको उनीहरूले सुनाए ।
‘शाखाहरू विस्तार गरेर आफूले सुरुवात गरेको नयाँ परिकारलाई छिट्टै स्थापित गर्न लागेका हौँ । धेरैतिर शाखा भएपछि व्यवसायलाई फैलाउन सहज हुन्छ’, उनीहरूले सुनाए, ‘एउटा शाखाका लागि न्यूनतम दश लाख बजेट छुट्याएका छौँ ।’ हालसम्म यी दुईले संयुक्त लगानी गरेका छन् । अब सहकार्यका लागि दुई जना साथीहरू पनि इच्छुक रहेका र काठमाडौंका शाखाहरूमा दुई करोड रुपैयाँ लगानी गर्ने योजना रहेको उनीहरूले जानकारी दिए ।
‘मेरो कार्यक्षेत्र अन्यत्र भए पनि रोजगारी नपाएका केही मानिसहरूलाई रोजगारी दिने उद्देश्य हो’, अधिकारी भन्छन्, ‘सुरुवातमा तीन जनाले रोजगारी पाएका छन् । लाखौँ खर्च गरेर विदेश जाने अनि नेपालमा चाहिँ केही नसोच्ने युवा जमातहरूलाई सन्देश पनि दिन खोजेका हौँ ।’
नेपाल पनि फेसनेबल भएको र अलिकति युनिक, छोटो अनि जनजिब्रोमा छिट्टै झुण्डिने नाम खोज्दा मिस्टर कोर्न चयन गरेको उनीहरू बताउँछन् । नामचाहिँ विदेशी जस्तो भएन र ? भन्ने प्रश्नमा सुवेदी भन्छन्, ‘विदेशी स्वादका पनि केही परिकार भएकाले पनि यो नाम उपयुक्त हुन्छ । सामान्यतया मानिसहरूले मकैको नेपाली खानेकुरा पाइन्छ भन्दा पुरानै परिकार मात्रै पाइन्छ कि भन्ने बुझ्छन् कि जस्तो पनि लाग्यो ।’
मकैबाट सजिलै बनाउन सकिने अन्य परिकारहरूको पनि खोज अनुसन्धान गरिरहेकोे उनीहरूको भनाइ छ । ‘अमेरिका र इजरायलमा धेरै नै मकैको प्रयोग गरिन्छ’, सुवेदी भन्छन्, ‘मकैबाट सयौँ परिकार बन्न सक्ने भएकाले खोजी गरिरहेका छौँ ।’
नयाँ कन्सेप्ट भएकाले थोरै जोखिम पनि भएको र बजार लिन भने केही समय लाग्न सक्ने उनीहरूको आँकलन छ । उनीहरू भन्छन्, ‘तर हामी केही समय पर्खिएर भए पनि स्थापित हुनेमा ढुक्क छौँ ।’
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५