काठमाडौंको त्यस बेलाको दुर्गम जस्तै अर्थात् काँठ क्षेत्र । भर्खरै पञ्चायती व्यवस्थाको घोषणा भएको बेला राजा महेन्द्रबाट । शिक्षाको ज्योति फैलिइनसकेको तर फैलिने क्रममा रहेको । जनचेतना भन्नु केही आर्थिक हिसाबले सम्पन्न र शैक्षिक रूपले सचेतहरूमा मात्र ।
त्यही समयमा जन्मिएका हुन्, गायक/संगीतकार/गीतकार/कवि आभास ।
आभास विक्रमको २० कै दशकमा जन्मिए । पारिवारिक हिसाबले राम्रै थियो उनको । काँठमा भए पनि प्रशस्त जग्गा जमिन थियो बाबुबाजेको । उनलाई शिक्षादीक्षा लिनमा कुनै समस्या थिएन । विद्यालयमा पढ्दैखेरि उनमा रमरम राजनीतिक चेत पलाउन थालेको थियो । अर्कातर्फ उनको गाउँछिमेकमा त्यसबेलाका क्रान्तिकारी भनिने कम्युनिष्ट पार्टीका नेताहरूको आउजाउ पनि बाक्लै हुने गर्थ्यो । भर्खरै युवावयमा प्रवेश गर्दै गएका उनमा विद्रोहचेत हुर्कंदै जानु स्वाभाविक नै थियो ।
त्यति नै बेला पाकिस्तानमा जननिर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भुट्टोको हत्या गरियो । यसको असर निर्दलीय पञ्चायती व्यवस्थाबाट पीडित नेपालीमा नपर्ने कुरै भएन । अझ युवा जोशका विद्यार्थीहरूमा त्यसले निकै ठूलो प्रभाव पार्यो । यही क्रममा उक्त हत्याको विरोधमा नेपाली विद्यार्थी सडकमा ओर्लिए । नेपाली विद्यार्थीको उक्त विरोधले अन्ततः निर्दलीय राजा वीरेन्द्रलाई घुँडा टेकायो र २०३७ सालमा जनमतसङ्ग्रहको घोषणा गर्न बाध्य पार्यो । हो, यही बेला उही काठमाडौंको काँठको एउटा ठिटो पनि क्रान्तिकारी भयो । सचेत वाम राजनीतिमा केही समय होमियो । तात्कालीन नेकपा मालेको सदस्यता लियो र केही समय सक्रियतापूर्वक पार्टी संगठनमा लाग्यो ।
तर विस्तारै उसमा अर्कै चेतनाले बढी प्रभावित गर्यो । उसले ठान्दै गयो कि राजनीति उसका लागि होइन । सिर्जनशील र गतिशील उमेरको व्यक्तिले राजनीतिभन्दा सिर्जनामै रमाउनु उपयुक्त ठान्यो । त्यसो त विद्यालय जीवनबाटै उसमा कवित्व हुर्किंदै थियो । गुरु गिरिजाप्रसाद जोशी, जो आफैँमा नेवारी साहित्य र संगीतका राम्रा प्रतिभा थिए, उनको सामीप्यले अझ साहित्य र संगीतप्रति आकर्षित गरेकै थियो । त्यसलाई हुर्कने वातावरण तब बन्यो, जब त्यस समयका क्रान्तिकारी गायकहरू रामेश, मञ्जुल, अरिमलगायतसँग उसको भेट भयो । यी अग्रजहरूको संगत र सामीप्यले अर्कै ऊर्जा दिइरह्यो ।
त्यसो त उनको गाउँमा माथितिर जंगलबाट बिहानै दाउरा लिएर बजारमा गएर बेचेर गुजारा चलाउनेहरू थिए । तामाङ समुदायका ती महिलाहरू बिहान झिसमिसेमै जंगल जान्थे– गीत गाउँदै । भाषा फरक भएकाले गीतका शब्द त आभास बुझ्दैनथे तर गीतको भाका र लय भने उनले बुझ्थे अर्थात् ती भाका र लयमा उनी रमाउँथे । त्यही बेलादेखि उनमा सांगीतिक चेत पसेको अनुमान गर्छन् उनी । ‘ती दिदीहरूको मधुर लयात्मक गुञ्जन नै मेरो मस्तिष्कमा छाप बनेर बस्यो’, उनी भन्छन्, ‘विस्तारै मलाई त्यही छापले पनि संगीतमा आकर्षण गरेजस्तो लाग्छ ।’
हो, त्यही ठिटो आजको लोकप्रिय गायक/संगीतकार/गीतकार आभास बनेको छ । आमश्रोतालाई आभासको आभास दिलाउने केही गीतहरू छन्, जसलाई धेरैले समय समयमा गुनगुनाउँछन् । आभास अत्यन्तै थोरै गीत गाउने गायक हुन् । कतिपयले उनलाई ‘चुजी’ गायक मान्छन् भने कतिपयले ‘घमण्डी’ पनि भनिदिन्छन् तर उनलाई यस्ता प्रतिक्रियाले छुँदैनन् ।
‘म जे छु, त्यही हुँ, अर्को जस्तो बन्नै सक्दिनँ’, उनी भन्छन्, ‘म धेरै गीत गाएर वा संगीत गरेर चर्चित वा लोकप्रिय हुन ध्यान दिन्नँ ।’ कतिपयले उनलाई गीत छनोटका सवालमा स्वर सम्राट नारायणगोपासँग पनि तुलना गर्छन् । आभास पनि यो कुरा धेरै हदसम्म सही भएको बताउँछन् । ‘जुन सिर्जनामा प्राण हुँदैन, जुन सिर्जनाको शक्ति क्षणिक हुन्छ, त्यस्ता सिर्जना म रुचाउँदिनँ’, उनी भन्छन् ।
त्यसो त उनी आफैँ कवि/गीतकार पनि हुन् । काव्यचेत उनमा स्वाभाविक रूपमै बढी छ । काव्य र वैैचारिक पक्ष दुवै भएका रचनामा मात्र उनले ‘दम’ देख्नु स्वाभाविक पनि हो ।
उनको मान्यता रहेछ– जीवनलाई ऊर्जा दिने, गति दिने र जीवनसँगै जोडिएका सिर्जना मात्र जीवनका लागि हुन् । यसर्थ आफूले समाज र जीवनको रूपान्तरणका पक्षमा लेखिएका वा केही नयाँ आशा र उत्साह बोकेर समाजलाई मार्गदर्शन गर्ने खालका रचना मात्र गाउने र संगीत गर्ने गरेको उनी बताउँछन् ।
आभासको उमेर र राजनीतिक–सामाजिक चेतमा विकाससँगै नेपालको राजनीतिक परिवेश पनि परिवर्तन हुँदै गयो । एउटा सचेत युवामा राजनीतिक परिवर्तनसँगै सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणको आशा हुनु अस्वाभाविक थिएन । हिजो राजनीतिक दलको सदस्यता लिँदा र क्रान्ति अनि रूपान्तरणका चर्का नारा लगाउँदाका दिन उनले सम्झिँदै गए ।
वास्तवमा दुनियाँ होइन, दुनियाँ परिवर्तन गर्नेहरूचाहिँ फेरिए । आखिर दुनियाँ उही हिजोकै जस्तो दुःखमा, पीरमा र अन्धकारमै बाँचिरह्यो ।
प्रजातन्त्र आयो, आमजन खुसी भए । अब देशमा केही हुन्छ, जनताका दुःख हराउँदै जानेछन्, देश विकासको गतिमा अगाडि बढ्नेछ भन्ने आशा जनतामा सञ्चार भयो । उनमा पनि योे नहुने कुरै थिएन ।
तर प्रजातन्त्र आएपछिका दिनहरू विस्तारै निराशाजनक हुँदै गए । सत्ताको स्वादमा ढलिमली गर्नेहरू उनै हिजोका क्रान्तिकारीहरू देखिए, जो दुनियाँलाई परिवर्तन गर्छु भनेर हिजो भातपानी, घामझरी नभनी आन्दोलनको मोर्चामा थिए । वास्तवमा दुनियाँ होइन, दुनियाँ परिवर्तन गर्नेहरूचाहिँ फेरिए । आखिर दुनियाँ उही हिजोकै जस्तो दुःखमा, पीरमा र अन्धकारमै बाँचिरह्यो ।
यस्तैयस्तै सोचिरहेका थिए सायद अवचेतनमा उनी । त्यही बेला विपश्यना गए केही दिनका लागि । खाली र शान्त मस्तिष्कमा एक्कासि गुञ्जियो एक पंक्ति– ‘गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ ।’
हो, यही पंक्तिले उनलाई सम्झिइरहने गीत जन्मायो । उनले ठाने– राजनीतिक नेतृत्व मात्र होइन, हामी आफैँ पनि देश र जनता वा दुनियाँका लागि कति जिम्मेवार छौँ ? के हामी आफैँका बारेमा पनि हामीले सोच्न आवश्यक छैन र ? अनि उनले बढाए यसरी–
मझेरीको अँध्यारोलाई खाल्डो खनी पुर्छु भन्थ्यो
उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो
अँध्यारोको अँगालोमा आफैँ बेरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ !
मौसम साह्रै उजाडियो पालुवाझैँ झुल्छु भन्थ्यो
मेरो जन्म मेरो होइन अरू निम्ति फुल्छु भन्थ्यो
पुरानो त्यो हिसाब किताब सबै केरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैँ फेरिएछ !
यो सन्दर्भ साढे दुई दशकअघिको हो तर आज पनि उत्तिकै अर्थपूर्ण र सान्दर्भिक नै छ । हाम्रा नेतृत्वमा आत्मकेन्द्री व्यवहार, स्वार्थ र अनियमितताले आर्जित विलासी जीवनशैली बढ्दै गएकै छ । जनजीविका र आमदुःखप्रति पटक्कै नेतृत्वको चासो छैन । उनी निराश बन्दै भन्छन्, ‘आखिर विगतका नारा, आश्वासन र परिवर्तनका ठूला कुरा कहाँ गए आज ?’
समाजमा भन्ने एउटा र गर्ने एउटा समाजका अगुवाको गलत व्यवहारका कारण मुलुक विकासको गतिमा अघि बढ्न नसकेको आभास बताउँछन् । राजनीतिक नेतृत्व त अगुवा हुनुपर्ने भन्ने आमधारणा हो तर हामीकहाँ त्यसो हुन नसकेका कारण राजनीतिक बेथिति र विकृति अनि विसंगति बढिरहेको आभासको बुझाइ छ ।
अम्बर गुरुङले पत्याएका शिष्य
आभास कुनै बेला संगीत क्षेत्रबाट भाग्नै लागेका थिए । संगीतबाट जीवन निर्वाह हुन नसक्ने थाहा पाएपछि उनी विस्तारै संगीतबाट टाढिने मुडमा थिए । अग्रज संगीतकार, राष्ट्रगानका संगीत सर्जक अम्बर गुरुङकहाँ संगीत सिक्दै थिए उनी । त्यही बेला उनमा एक प्रकारको वितृष्णा जन्मियो– के हुन्छ संगीतमा लागेर ?
अचानक उनी अम्बर गुरुङकहाँ जान छाडे । केही दिन नआएपछि गुरुङले उनलाई खोजे । आभास त्यसबेला एउटा स्कुलमा पढाउँथे– दैनिक गुजारा चलाउन । गुरुङ उनलाई खोज्दै त्यही स्कुलमा पुगे । आभासलाई सम्झाए कि संगीत आफैँमा साधना हो, विपश्यना हो । संगीत छाड्नुहुँदैन ।
यसपछि उनलाई पनि बोध भयो कि आफूमा केही अवश्य छ । र, त्यही कुरा बाहिर ल्याउन उनी साधनारत रहे, जुन आजसम्म निरन्तर छ ।
उनको संगीतचेतना र धैर्य अनि लगनलाई देखेरै होला, अम्बर गुरुङले भन्ने गर्थे रे– ‘मेरो खास चेलो आभास’ भनेर ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५