जाजरकोट : नेपाल खाद्य संस्थानले सदरमुकामबाट दुई वर्षअघि बारेकोट गाउँपालिकास्थित घाट डिपोका लागि पठाएका नापतौलका सामग्री अझै पुग्न सकेको छैन । जिल्लाबाट पठाएका सामग्री नपुगेपछि काठ र ढुङ्गाकै नापतौलका सामग्री प्रयोग हुँदै आएको छ । घाट डिपोमा नापतौल गुणस्तर विभाग कार्यालयले प्रमाणित नगरेका नापतौलका सामग्री प्रयोग भइरहेका छन् ।
ढुङ्गाबाट निर्माण गरिएका ढक र काठकै तराजु प्रयोग भइरहेको छ । जसले गर्दा नापतौलमा ठगिने गरेको उपभोक्ताको गुनासो छ । संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले दुई वर्षअघि नै नापतौलका सामग्री पठाएको बताए । उनले भने, ‘जिल्लाबाट पठाएका सामग्री घाट कार्यालयमा होलान् नि ? त्यहाँ नभए बाटोमा होलान्, लगिँदै होला ।’
यो डिपो विसं २०५१ मा स्थापना भएको थियो । विसं २०५२ देखि ६७ सम्म खाद्य व्यवस्थापन समितिले सञ्चालन गरेको थियो । त्यही बेला खरिद गरिएका सामग्री प्रयोगसमेत नहुँदा अहिले काठबाट निर्माण भएका तापतौलका सामग्रीबाट काम हुँदै आएको छ । ‘२०६७ यता भने नेपाल खाद्य संस्थाले व्यवस्थापन गर्दै आएको छ । डिपो कार्यालय पनि जीर्ण छ । चामल भण्डारण गर्नसमेत समस्या भएको डिपो प्रमुख रुद्र देवकोटाले बताए ।
घाट डिपोमा तापतौलका सामग्री पुगेको अभिलेखमा उल्लेख छ तर सामग्री भने पुगेको देखिँदैन । चामल लिन दैनिक उपभोक्ता आए पनि प्रमाणित नभएका नापतौलका सामग्रीबाट तौल लिएर बिक्री वितरण हुँदै आएको छ । स्थानीयवासीले पटकपटक कुरा उठाए पनि सुनुवाइ नभएको स्थानीयवासी प्रेम सिंहले बताए ।
जीर्ण भवनको निर्माणका लागि पहल नहुँदा अर्को वर्षायाममा कसरी काम गर्ने भन्ने चिन्ता बढेको देवकोटाको भनाइ छ । बारेकोट गाउँपालिकामा प्रायः खाद्य संकट भइरहन्छ । यो डिपोबाट अघिल्लो वर्ष एक हजार क्वीन्टल चामल कोटा निर्धारण गरिएको थियो । यस वर्ष दुई हजार एक सय क्वीन्टल चामल माग गरिएको छ । जाजरकोटमा योसँगै रग्दा चौखा, दशेरा र पजारुको घोगीमा डिपो छन् । त्यस्तै, नलगाड नगरपालिकाको दल्लीमा वितरण केन्द्र स्थापना भएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५