भोजपुर : पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा आइतबारबाट प्रदेश नम्बर १ स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन भएको भएको छ ।
उद्घाटन खेलमा खाँदबारी नगरपालिकाले धनकुटा नगरपालिकालाई १ गोल गर्दै विजयी बनेको छ । खेल सकिन २ मिनेट बाँकी हुँदा खाँदबारी नगरपालिकाका खेलाडी सुवास तामाङले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।
यसैगरी दोस्रो खेलमा भोजपुर नगरपालिकालाई हराउँदै पाँचखपन नगरपालिका बिजयी भएको छ । प्रतियोगितामा पाँचखपनले ६ गोल ग¥यो भने भोजपुरले १ गोलमा नै चित्त बुझाएको छ ।
प्रतियोगिताको तेस्रो खेलमा शिवसताक्षी नगरपालिकालाई पेनाल्टीमा १ गोल गर्दै मादी नगरपालिका विजयी भएको छ । पहिलो दिनका ३ वटै खेलमा संखुवासभाका नगरपालिकाहरू नै विजयी भएका हुन् ।
‘खेलकुद मार्फत् पर्यटन पहिचान, प्रगति र गरिमा : समृद्धि र एकताका लागि फुटबल चैनपुर नगरीमा’ मूल नाराका साथ संखुवासभाको चैनपुर नगरपालिकामा प्रदेश नम्बर १ स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता शनिबार सुरु हुने कार्यतालिका भए पनि शनिबार भएको वर्षाका कारण खेल स्थगित भएको थियो । सुनसरीको दुहबी नगरपालिका, उदयपुरको कटहरी नगरपालिका, झापाको शिवसताक्षी नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, तेह्रथुमको म्याङ्लुङ नगरपालिका, इलामको सूर्योदय नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका, र संखुवासभाका चैनपुर, खाँदबारी, मादी, धर्मदेवी र पाँचखपन गरी पाँच नगरपालिका खेलमा सहभागी हुने छन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई पाँच लाख ५५ हजार पाँच सय ५५, द्वितीयलाई तीन लाख ३३ हजार तीन सय ३३ र तृतीय हुने टिमलाई एक लाख ११ हजार एक सय ११ रूपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । खेल नकआउटका आधारमा खेलाइने छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५