इन्डियन प्रिमियर लिगमा आइतबार बेलुका सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गरेको छ ।
१ सय ५० रनको विजयी लक्ष्य दिल्लीले ओभरमा १८.५ विकेटको ६ क्षतिमा पुरा गर्यो। दिल्लीको सहज जितमा कप्तान श्रेयस ऐरले ५० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा आउट भए । ऐरलाई १८ ओभरको तेस्रो बलमा नवदीप सैनीले युजवेन्द्र चाहालबाट क्याच आउट गराएका थिए । ओपनर पृथ्वी शाले २२ बलमा २८, शिखर धवन शुन्य र कोलिन इनग्राम २२ रनमा आउट भए । विकेटकीपर ऋषभ पन्त १८ रनमा आउट हुँदा अक्षर पटेल ४ रनमा अविजित रहे ।
पृथ्वी शा ले तेस्रो ओभरमा टिम साउदीलाई लगातार पाँच चौका प्रहार गरेका थिए । बेंगलोरका नवदीप सैनीले २ तथा पवन निगी,टिम साउदी,मोइन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। बेंगलोरका लागि कप्तान विराट कोहलीले ३३ बलमा ४१ रनको योगदान दिए। मोइन अलीले १८ बलमा ३२, एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५, पार्थिव पटेल ९, र अक्ष्यदीप नाथ १९ रनमा आउट भए ।
दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । क्रिस मोरिसले २,अक्षर पटेल र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीपले १ विकेट लिन ४ ओभरमा ४६ रन खर्चिए ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५