उसो त जिन्दगीको धावनमार्ग नै कहाँ सहज छ र ? खाल्डाखुल्डी, उकाली, ओराली, भिरालो, समथर हुँदै कुदिने ‘अल्ट्रा रेस’ जस्तै छ, जिन्दगीको दौड । उकालो जस्तै कठिन, भिरालो जस्तै जोखिम अनि समथर जस्तै एकनास प्रायः । दुखीलाई दुखैदुःख, सुखीलाई सुखैसुख । जिन्दगीको रेसमा पौँठेजोरी गर्दागर्दै केही मान्छेलाई मात्र मिल्छ अवसर– दु:खको पहाड फोर्ने, अवसरको ढोका खोल्ने । अहँ, सहजै कहाँ हुन्छ र त्यो पनि ! दिनरात परिश्रम, अथक मिहिनेत नगरी त के पो पार लाग्थ्यो र !
यस्तै एउटा पात्र हुन्, भोजपुरकी मीरा राई । अभाव, गरिबी र विकटतासँग पौँठेजोरी खेल्दाखेल्दै कतिबेला व्यावसायिक धाविका हुन पुगिन् मीरा, उनैलाई पत्तो छैन । उनले हिँडेको बाटो अर्कै थियो तर आइपुगिन् कहाँ । तर जहाँ आइपुगिन्, त्यहाँ खुसी छन् । भन्छिन्, ‘जिन्दगीको रेस पनि नसोचेको हुँदोरहेछ । कर्म गर्दै गएँ, सफलता हात लाग्यो । धेरैको माया पाउँदा, देशको झण्डा संसारका देशमा फहराउन पाउँदा असाध्यै खुसी छु ।’
अल्ट्रा म्याराथन धावकमा विश्व वरीयताको दोस्रो तहसम्म पुग्नु चानचुने उपलब्धि होइन, जसलाई मीराले व्यावसायिक खेल यात्रा सुरु गरेको केही वर्षमै चुम्न सफल भइन् । नेसनल जियोग्राफी एड्भेन्चर्स अफ द इयर, एसिया गेम चेञ्चर जस्ता प्रसिद्ध सम्मानबाट समेत सम्मानित भइसकेकी छन् मीरा । दर्जनौँ खेलमा विजेताका रूपमा नाम लेखाइसकेकी छन् उनले ।
बालसेनादेखि अयोग्य लडाकुसम्म
पाँच दिदीबहिनीमध्ये मीरा जेठी हुन् । घरभित्रको भन्दा बाहिरको काममा उनलाई बढी रुचि थियो, बाल्यकालदेखि नै । पानी बोक्ने, भारी बोक्ने, दाउरा काट्ने काम गर्थिन् । चामल बेच्न टाढाटाढासम्म जाने गरेको उनले सुनाइन् । ‘२८ किलोसम्मको चामल बोक्थेँ । दिनभरि काम गर्थें । बिहान ४ बजे घरबाट निस्किएर बेलुका ७ बजेमात्र घर फर्किन्थेँ’, बाल्यकालमा फर्किंदै मीराले भनिन्, ‘धेरैका लागि त्यस्तो जीवन कठिन हुनसक्छ तर अहिले सम्झिँदा त्यो मेरा लागि निकै राम्रो ट्रेनिङ थियो ।’
त्यति धेरै काम गर्दा पनि उनको परिवारलाई जोहो गर्न मुस्किल परिरहेको मीराले सुनाइन् । त्यतिबेला उनको गाउँमा पनि माओवादीहरू आए । दुई छाक खाने र केही गर्ने आशामा उनी पनि जोडिन पुगिन्, माओवादी युद्धमा । ‘मरिन्छ, बाँचिन्छ केही पनि नसोची घरमा कसैलाई नभनीकन पार्टीमा लागेँ’, उनले भनिन् ।
दुई वर्ष माओवादी युद्धमा लाग्दा भिडन्तमा जानु नपरे पनि बन्दुक चलाउन भने सिकेकी छन् मीराले । उनैलाई थाहा थिएन त्यो युद्ध केका लागि थियो ? कहाँ पुगिने हो ? अञ्जानमै उनी माओवादी युद्धमा बालसेनाका रूपमा जोडिन पुगिन् । जब माओवादी युद्धको ‘ल्यान्डिङ’ भयो, भोजपुरकी मीरा सिन्धुको दुधौलीस्थित अस्थायी शिविरमा आइपुगिन् ।
तर उनलाई अनमिनको टोलीले अयोग्य लडाकु घोषित गरिदियो । एकाएक उनका अगाडि अन्योल छायो, अब के गर्ने ? मीराले सुनाइन्, ‘यो कुरा मैले घरमा सुनाइनँ । अयोग्य भनिएर शिविर छोड्दा पनि सिन्धुलीमै बसेँ । त्यहीँको क्याम्पसमा अध्ययन गर्न थालेँ । दौडन पनि सुरु गरेँ ।’
अल्ट्रा धावकका रूपमा चम्किँदा
शिविरबाट बाहिरिँदा अन्योल थियो मीरामा । बाहिर आएपछि ओरेक नामक संस्थाको सहयोगमा उनले जेटीए पास गरिन् । तर जेटीए भएर जीवन नचल्ने निष्कर्षपछि उनी लागिन् वैदेशिक रोजगारीको चक्करमा । मलेसिया जाने सोच मात्र बनाइनन्, भिसासमेत लागिसकेको थियो । तर खेलप्रतिको उनको लगावले देशभित्रै अडिने बाटो खोजिरहेको थियो ।
मीरा भन्छिन्, ‘जीवनमा त्यतिबेला नयाँ मोड आयो, जब गुरु ध्रुवबहादुर प्रधानसँग मेरो भेट भयो । उहाँले काठमाडौं बसेर खेल खेल्नका लागि अवसर मिलाइदिनुभयो । त्यो मेरो जीवनको उत्कृष्ट क्षण हो ।’ मीरा दौड र कराँते दुवै खेल खेल्थिन् तर उनले रोजिन् ट्रेल रेस ।
संसारका करिब दुई दर्जन देशमा गएर उनले दौडिसकेकी छन् । सय किलोमिटरभन्दा लामालामा दौड पूरा गरिसकेकी मीरालाई त्यसरी दौडने ताकतचाहिँ कहाँबाट आउँछ होला ? ‘छिट्टै कुदेर सकिहाल्नु पनि हुँदैन । धैर्य, सहनशीलता, अनुशासन चाहिन्छ । निकै गाह्रो छ तर कोसिस गर्दा सफल भएँ । १५ घण्टासम्म लगातार कुदेको छु’, प्रश्न नसकिँदै मीराले सुनाइन् ।
अहिले आफू सफल हुनुमा बाल्यकालमै आमालाई धनकुटासम्म पछ्याएर हिँडेको, चामल बेच्न गएको, उकाली, ओराली गरेको अनुभवले काम गरेको उनले बताइन् । उनीसँग धेरै देशमा कुद्दाका रोचक स्मरणहरू छन् । फ्रान्समा अलिक उचाइमा कुद्दा अरू खेलाडीलाई सास फेर्न कठिन भए पनि आफू सहजै कुदेको क्षण निकै रमाइलो लागेको मीराले सुनाइन् । नर्वेमा कुद्दाको क्षण भने उनका लागि साहसपूर्ण रहेको सुनाइन् । ‘त्यहाँ ठाडै आरालोमा झरेको र उकालोमा चढ्दाको क्षण अहिले पनि स्मृतिमा आइरहन्छ’, उनले भनिन् ।
सन् २०१७ मा बेलायतमा १२० किलोमिटरको अल्ट्रारेसमा सहभागी हुँदा पनि मीराले निकै संघर्ष गर्नुपर्यो । खुट्टाको चोट बल्ल ठीक भएर खेल्न बेलायत पुगेकी उनी जब दौड सुरु गरिन्, झमझम पानी परेपछि दौड थप कठिन हुन पुग्यो । आँखा ठूलो बनाउँदै उनले त्यतिबेलाका सम्झना सुनाइन्, ‘झमझम पानी परेको छ । कुदेको छ । भोक पनि लागेको छ । भुइँमा जमेको पानी खाएर पनि कुदेँ ।’
यस्ता अनगिन्ती रोचक र संघर्षपूर्ण सम्झनाका खातहरू छन् मीरासँग । त्यही संघर्षकै परिणाम उनले आफूलाई अब्बल सावित गर्न सफल भइन् । अल्ट्रा म्याराथनको विश्व वरीयतामा उनी दोस्रो तहसम्म पुगिन् । फ्रान्समा खेल जितेको क्षण भने आफ्ना लागि बढी अविस्मरणीय भएको उनले सुनाइन् । अहिलेसम्म कति किलोमिटर कुदिन् होला मीरा ? भन्छिन्, ‘अहँ हिसाबै गरेको छैन । अझै कुद्नु छ धेरै ।’
अरू मीरा जन्माउने अभियानमा
मीरा राई नेपालमा धेरै मीराहरू भएको बताउँछिन् तर अवसरको अभावमा ती प्रतिभा बाहिर आउन नसकेको उनको बुझाइ छ । त्यसैले लुकेको प्रतिभालाई बाहिर ल्याउने सोचले उनले मीरा राई इनिसियटिभ स्थापना गरेकी छन्, जसको उद्देश्य सम्भावना बोकेको प्रतिभालाई बाहिर ल्याउनु रहेको उनले बताइन् ।
आफूलाई पनि अरूले सहयोग नगरेको भए यो सफलता नमिल्ने उनको बुझाइ छ । ‘मैले पाएजस्तो अवसर आफूमा सीमित राख्न चाहन्नँ । अरूलाई पनि बाँड्न चाहन्छु । मीरा जस्तै कुद्छु भन्नेहरूलाई अघि बढाउन चाहन्छु’, उनले भनिन् ।
उनको सहयोगमा अघि बढेका केही खेलाडीले राम्रो गरिसकेका छन् । काठमाडौंमै उनले तालिम दिएका पाँच जना महिलाको समूहले हङकङमा कुदेर दोस्रो भएको उनले सुनाइन् । यो वर्ष पनि उनले पाँच बहिनीहरूलाई छनोट गरेर आफूसँग भएको सीप बाँड्ने सोचमा आफू लागेको सुनाइन् ।
नेपाली खेलाडीमा धेरै सम्भावना रहेको बताउने मीरा खेलकुदको विकासमा सरकारले सहयोग गरिदिए अझ धेरै गर्न सक्ने बताउँछिन् । मीरा अहिले आफ्नै कम्पनीको काममा समेत व्यस्त छन् । आउने अक्टोबरमा युरोपभर भएका प्रतिस्पर्धाबाट छानिएका खेलाडीहरूको अन्तिम खेल गराउँदै छन् । अन्नपूर्ण ट्रेकमा सो खेल गराउन पाउनु नेपालकै लागि अवसर भएको मीरा बताउँछिन् ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५