भोजपुर : दुर्गम पहाडी जिल्ला भोजपुरमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । जिल्ला जोड्ने सडक क्रमिकरूपमा कालोपत्रे हुँदै गएको र सवारीसाधनको संख्यामा समेत वृद्धि हुँदै जान थालेपछि ट्राफिकको सक्रियता पनि बढेको हो ।
अस्थायी ट्राफिक प्रहरी कार्यालय भोजपुरले ट्राफिक सचेतनाका लागि जिल्लामा १५ दिने महाअभियान समेत सञ्चालन गरिसकेको छ । सो क्रममा जिल्लाबाट सञ्चालित यातायातका साधनका चालक र सहचालकका लागि दुई सय ५० थान पोसाक वितरण गरी अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको थियो ।
ट्राफिक प्रहरी सहायक निरीक्षक प्रेम साहले भोजपुरका विभिन्न ठाउँमा तीन सय ४० चालक तथा सर्वसाधारणलाई घुम्ती प्रशिक्षण समेत दिइएको बताए । अस्थायी ट्राफिक प्रहरी कार्यालयले सवारी साधन छड्के चेकजाँचका क्रममा यस आर्थिक वर्षमा मात्र छ लाख ६८ हजार पाँच सय राजस्व संकलन गरेको छ ।
ट्रक तथा ट्याक्टरमा टल्किने स्टिकर टाँस्ने, ट्याक्टरमा यात्रु बोक्न रोक्ने, चालकलाई अनिवार्य जुत्ताको प्रयोग, सडकको दुवैतर्फ गति सीमित लगायतका ट्राफिक संकेत बोर्ड र सडक छेउमा रहेका उच्छृंखल विज्ञापनका बोर्डहरू हटाउने लगायत कार्यक्रम पनि जिल्लामा सञ्चालन गरेको प्रहरी सहायक निरीक्षक साहले बताए ।
जिल्लामा सञ्चालनमा रहेका ४३ सवारीका साधनका चालकहरूको ट्रफिक प्रहरीले जिल्ला अस्पतालका डाक्टरको सहयोगमा स्वास्थ्य परीक्षण अभियान समेत गराएको छ । चालक, सहचालकहरूलाई सडकमै पाँच मिनेट सडक प्रशिक्षण, ओभरटेक गर्दा साइड लाइटको सही प्रयोग गर्ने चेतनामूलक कार्यक्रम पनि जिल्ला तहमा सञ्चालन गरिएको ट्रफिक प्रहरीले जनाएको छ ।
गत तीन वर्षको अवधिमा भोजपुरमा सवारी दुर्घटनामा नौ जनाको मृत्यु, ३९ जना गम्भीर घाइते, ५९ जना साधारण घाइते भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
जिल्लामा हुने ट्रफिक सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरले पनि आवश्यक सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५