शनिबारको दिन विश्वकप फुटबलका हस्ती पेलेप्रति गरिएको श्रद्धाञ्जलिले नेपाली फेसबुक प्रयोगकर्ताहरूको स्टाटस भरियो । उनको नाम राखिएको श्रद्धाञ्जलि पोष्ट गर्न खेलकुद क्षेत्रका कर्मचारी र पदाधीकारीहरू नै आगाडि सरे भने अरूले पनि त्यसैलाई कपी गर्न भ्याए । यतिसम्म कि गुगलमा खोजेर उनको इतिहास, उनले गरेको गोल संख्या, उनलाई दिइएका उपमालगायतका सामग्रीहरु पनि पोष्ट गरियो ।
बिहीबार पिसाबमा सामान्य समस्या देखिएपछि पेलेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको उपचार जारी छ । अस्पताल वा उनको पारिवारिक स्रोतले उनका बारेमा कुनै नयाँ कुरा बताएको छैन तर नेपालीहरू भने उनको मृत्युको खबर दिन र समवेदना व्यक्त गर्न हतारिए ।
भयो कस्तो भने, नेपाली समाजमा एउटा भनाइ छ– बिहानै कसैले पोलेको मकै खाइरहेको एउटाले देख्यो । उसले अर्को नजिकको साथीलाई भन्यो, ‘फलानोले पोलेको मकै खाएको, पेट दुखेर अस्पताल भर्ना भएको छ रे !’ अनि यो सुन्ने व्यक्तिले अर्कोलाई भन्यो, ‘फलानो त अस्पतालमा सिकिस्त छ रे !’ अन्तमा सुन्नेले भन्यो, ‘पोलेको मकै खाएर फलानो बित्यो रे !’
नेपालीहरूमा बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसले विकसित गरेको असंवेदनशीलता बुझ्न यो उदाहरण काफी छ । पेलेको सन्दर्भमा मात्र होइन, केही समयअघि नेता चक्रप्रसाद बाँस्तोलाको विषयमा होस् वा राष्ट्रकवि माधवप्रसाद घिमिरेकै विषयमा पनि यस्तै ‘फेसबुक आतंक’ मच्चियो ।
समवेदना दिन नेपालीहरू यति विधि हतारिए कि केही समयमै देश विदेशमा भएका धेरै नेपालीले बाँस्तोलाको मृत्युपूर्व नै समवेदना दिए भने राष्ट्रकवि घिमिरे अझैसम्म ‘ऋतम्भरा’ महाकाव्य लेखिरहेका छन् ।
यस्ता अन्य उदाहरणहरू पनि छन् । नेपाली समाजिक सञ्जालका पीडितहरूमा पूर्वयुवराज पारस शाह, कांग्रेस नेता डा. शशांक कोइरालालगायत धरैको लाम छ ।
हामी नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामा संवेदना धेरै भएर हो वा कति पनि नभएर हो, यस्ता कुरामा निकै हतार गर्छौं ।
पेले विश्व चर्चित भएकाले सबैको चासो हुनु अस्वाभाविक होइन तर उनको मृत्युका बारे सम्बन्धित अस्पताल वा परिवारजनले कुनै जानकारी नदिई हामीले हतारमा उनको मृत्युको घोषणा गर्नु के सही हो ? के हाम्रो संवेदनशीलता हो ? यसले के सन्देश दिन सक्छ ?
सामाजिक सञ्जालमा देखेका कुरामा विश्वास गर्नेहरू पनि छन्, जसले गर्दा समाजमा नकारात्मक सन्देश गई सामाजिक विचलन, विद्रोह र हिंसा पनि बढिरहेको छ ।
नचिनिएका तर नजिकका छिमेकी, आफन्त, नाता, श्रीमान्, श्रीमती, छोराछोरीको श्रद्धाञ्जलि पोष्ट भइरहन्छ, हटाइइरहन्छ । यसो त नेपाली समाजमा सामाजिक सञ्जालको प्रयोग कतातिर छ ? सोचनीय विषय हो । नेपाल सरकारले समाजिक सञ्जालहरू फेसबुक, ट्विटर, युटुव, इन्स्टाग्राम आदिलाई नियमन गर्ने विधेयक बनाई संसदमा पेस गर्दा चौतर्फी विरोध भइरहेको छ ।
सरकारले प्रयोगकर्तालाई तिम्रो आईडी दर्ता गर्न आऊ भनेर विधेयक दर्ता गरेको भने होइन । कम्पनीले नेपालमा आएर दर्ता गर्ने अनि वार्षिक रूपमा राजश्व तिर्ने व्यवस्थासहितको विधेयक हो । यदि दर्ता गर्न नआएमा मात्र बन्द गर्नुपर्ने हो । यसले यस्ता सामाजिक सञ्जाल र त्यसका प्रयोगकर्तालाई सचेत हुन सहयोग नै पुग्ला । यद्यपि, विधेयक आइसकेपछि र लागू भएपछि त्यसको प्रभाव देखिने हो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैप्रतिको श्रद्धाञ्जलि पोष्ट गर्दै गर्दा जति हातको औँला हतारमा लम्किन्छ, त्यति नै सोच्नु आवश्यक देखिन्छ । त्यही पोष्टमा आफ्नो नाम र तस्वीर भए आफू र आफ्नो परिवारले कसरी लेलान् ? कस्तो पीडा होला आफन्तलाई ?
नेपालमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी तालिमको व्यवस्था आवश्यक देखिएको छ । होइन भने मौनधारणको समय घटाउनुप¥यो । एक मिनेट लामो मौनधारणको समयमा चलमलाउन छाड्दा श्रद्धाञ्जलि आइसकेको हुन सक्छ । मौनधारण सक्नेवित्तिकै सामाजिक सञ्जाल चेक गर्ने बेला भएको छ ।
श्रद्धाञ्जलिसँगै अरूलाई मरेतुल्य हुने खालका म्यासेज, ब्ल्याकमेलिङ जस्ता कार्यले धेरैलाई आत्महत्या गर्न बाध्य बनाउने घटना पनि भइरहेका छन् । नेपाली प्रयोगकर्ताबीच सामाजिक सञ्जालमा यस्ता गतिविधिमा हतारो हुँदा विभिन्न समस्या भइरहेका छन् ।
सामाजिक सञ्जालमा जथाभावी लेख्न नपाइने नियम छ तर सामाजिक सञ्जालको दुरूपयोग पनि उत्तिकै भइरहेको छ । जसलाई जे लेख्न पनि छुट छ जस्तो देखिन्छ सामाजिक सञ्जालमा । सामाजिक सञ्जालमा देखेका कुरामा विश्वास गर्नेहरू पनि छन्, जसले गर्दा समाजमा नकारात्मक सन्देश गई सामाजिक विचलन, विद्रोह र हिंसा पनि बढिरहेको छ ।
यस्ता घटना र गतिविधिका कारण सामाजिक सञ्जाल नियमन गर्न जरुरी भइसकेको महसुस हुन्छ ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५