काठमाडौं : गह्नाउने नदीकाे किनार, शहरका सभ्य भनिनेहरूबाट दैनिक फालिने फोहोरबाट आफ्नो रूप गमाइसकेको र छेउछाउबाट हिँड्दासमेत नाक थुन्नुपर्ने अवस्था थियो केही समयअघि यहाँको । काठमाडौं र ललितपुरको सिमानामा रहेको शंखमूलमा पार्क बनेपछि पछिल्लो समय निकै मानिसहरू आउने गरेका छन् ।
यस पार्कमा आन्तरिक पर्यटकहरू बाक्लै आउने गरेका छन् भने विदेशीहरूकाे पनि आकर्षण बनिरहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार नदीको किनार तथा काठमाडौंको ढलका कारण दुर्गन्धित रहेको शंखमूल क्षेत्रको परिचय फेरिएसँगै पर्यटकको आगमन सुरु भएको हो ।
गैरआवासीय नेपाली संघले शंखपार्क निर्माण गरेसँगै घुम्न आउनेदेखि विभिन्न म्युजिक भिडियो खिच्नेसम्मको रोजाइमा पर्न थालेको छ यो पार्क ।
गैरआवासीय नेपाली संघले निर्माण गरेको शंखपार्क ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ शंखपार्क, विभिन्न उद्यान, धारा, पोखरी, बस्ने कुर्सी, जातजातका फूलहरूले सजिएको छ ।
शंखमूल तीन नदी बागमती, मणिमती, रुद्रमतीको संगमस्थल भएकाले पवित्र धाम मानिन्छ । निर्माण भएको शंखपार्कमा परापूर्वकालमा रावणले पानीमुनि १० वर्ष तपस्या गरेका थिए भन्ने किंवदन्ती छ । प्राचीन कथाअनुसार त्यो तपस्यापछि शिवजी प्रशन्न भएर शिवजीले रावणको नाम शंखासुर राखिदिएको भन्ने विश्वास छ ।
एनआरएनले निर्माण गरेको पार्क ललितपुर महानगरपालिकालाई जिम्मा दिइएको छ । अहिले महानगरको वडा नं.– ९ ले यसको व्यवस्थापन गर्दै आइरहेको छ ।
हेरौँ यी फोटोमा शंखपार्क :
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५