सानैदेखि फुटबलमा रुचि । चर्चित फुटबल खेलाडी बन्न चाहन्थे उनी । स्कुल पढ्दादेखि नै फुटबल खेल्ने अवसर पनि पाए तर दुर्भाग्य, कलम चलाउने हातमा सिरिन्ज पो थामिन पुग्यो ।
१७ वर्षकै कलिलो उमेरमा लागुपदार्थ दुव्र्यसनीको सिकार बने उनी । उनको जीवनको सपना पनि चकनाचुर भयो ।
उनको जीवनमा यति मात्रै भएन । बाल मस्तिष्कले सोच्नै भ्याएन– के ठीक, के बेठीक, के राम्रो, के नराम्रो । दिन प्रतिदिन दुव्र्यसनीमा फस्दै गए उनी ।
‘म बाह्र वर्षको उमेरदेखि नै जुनियरहरूको प्रतिनिनित्व गर्दै फुटबल खेल्ने गर्र्थें । १५ वर्षकै उमेरमा आर्मीको सिंहनाथ गणबाट फुटबल खेल्न अवसर प्राप्त गरेँ’, पोखराका गोपाल श्रेष्ठले सम्झिए, ‘त्यसपछि लामो समय फ्रेन्च क्लबबाट फुटबल खेलेँ तर दुर्भाग्य, १७ वर्षकै उमेरमा दुव्र्यसनीमा फसेँ ।’
उनी आर्मीबाट फुटबल खेल्दा हनुमान ढोकामा बस्ने गर्थे । ‘त्यतिखेरको समय नै त्यस्तै थियो । जताततैबाट गाँजाको गन्ध निस्कन्थ्यो । मानिसहरू जता पायो त्यतै ड्रग्स सेवन गर्थे’, उनले विगत सम्झिँदै भने, ‘त्यतिबेला मानिसमा सचेतना थिएन । पुलिस प्रशासनले पनि खासै चासो देखाएको थिएन । लागुपदार्थ पाउन सहज थियो ।’
साथीभाइको लहैलहैले लत बन्दै गयो । लागुपदार्थबिना बाँच्नै नसक्ने अवस्थामा आइपुगेँ । उनको त्यो अवस्था परिवारलाई सह्य हुने कुरै भएन । उनलाई सुधार्ने हरप्रयास गरे । सुध्रने छाँट नदेखेपछि साउदी अरेबिया पठाइदिए, जहाँ सजिलै ड्रग्स पाउन सक्ने अवस्था थिएन ।
‘मैले त्यहाँ पनि फुटबल खल्ने अवसर पाएँ । १६ महिनापछि नेपालमै केही गर्ने सोचका साथ नेपाल फर्किएँ तर यहाँ लागुपदार्थ दुव्र्यसनीमा फसेकाहरूलाई हेर्ने नजर नै फरक थियो’, उनी भन्छन्, ‘केही गर्न नखोजेको पनि होइन ।’
नेपाली समाजमा उखान नै छ, ‘नानीदेखि लागेको बानी ।’ सजिलै कहाँ छुट्थ्यो र ? उनी पुनः पुरानै रूपमा फर्किए । भने, ‘नेपालमा पाइनेजति ड्रग्स सबै नै प्रयोग गरेको छु ।’
२०४८ सालमा मीनाकुमारी श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका गोपाललाई २५ वर्षअघि थाहा भयो– एचआईभी संक्रमण भएकोे । एकातर्फ ड्रगिष्टको ट्याग लागेको थियो नै, अर्कोतर्फ सिरिन्जमार्फत् प्राणघातक रोगको संक्रमण पनि भएछ । यसपछि उनको जीवनले फरक मोड लियो ।
३१ वर्षको उमेरमै एचआईभी संक्रमित बन्न पुगे उनी । त्यसअघि सुनिँदै आएको प्राणघातक रोग आफैँलाई लागेको भन्ने थाहा पाउँदा कहाली लाग्ने नै भयो । आफूलाई सम्हाल्न निकै गाह्रो भएको सुनाउँछन् गोपाल ।
उनले यद्यपि, परिवारको साथ पाए । परिवार सधैँ उनलाई सुधार्न नै लागिपर्यो । जीवनको एउटा मोडमा आएपछि उनी झस्किए । जीवन आफ्ना लागि मात्र होइन, अरूका लागि पनि ज्यूनुपर्छ भन्ने उनलाई बोध भयो । त्यसपछि आफूलाई फरक बनाउने दृढ संकल्पका साथ अघि बढे उनी ।
पहिला आफ्नो मनलाई जिते उनले अनि आफूसँग भएको भाइरसको संक्रमणको सामना गरे । आत्मविश्वासलाई दरिलो बनाए अनि समाजलाई जित्दै विश्वमा नै चिनिने अठोटका साथ लम्किए ।
समाजमा धेरै परिवर्तन आए पनि एचआईभी संक्रमितहरूलाई विचराको भावमा माया र सद्भावको नजरले मात्रै हेरेको जस्तो लाग्न थाल्यो उनलाई । समाजलाई एचआईभी संक्रमितहरूले पनि केही गर्न सक्छन् भन्ने गरेर नै देखाउनुपर्छ जस्तो लाग्यो गोपाललाई । आत्मविश्वाससाथ उनले भने, ‘एचआईभी संक्रमितहरू समाजका दयाका पात्र मात्रै होइनन् भन्ने देखाउने हिम्मत आयो र एचआईभी संक्रमितको प्रतिनिधित्व गर्दै विश्वकै अग्लो छानो चढ्ने अठोट गरेँ ।’
श्रेष्ठले यसअघि सन् २०१३ मा पाँच हजार ४१७ मिटर अग्लो थोरङलापास, २०१४ मा छ हजार १८९ मिटरको आइसल्याण्ड पिक तथा २०१६ माा भर्जिन पिकको सफल आरोहण गरिसकेका छन् ।
त्यसपछि उनले सन् २०१५ मा पहिलो पटक विश्वको छानोमा देशको झण्डा फहराउने इच्छालाई मूर्त रूप दिन सगरमाथाको आरोहण अभियान सुरु गरे । तर विडम्बना, विनाशकारी भूकम्पका कारण आधार शिविरमा उनीसँगै गएका पाँच जनाले ज्यान गुमाउन पुगे । उनी पनि सो क्रममा गम्भीर घाइते बन्न पुगे । उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइयो । त्यस्तो कठिनाइपूर्ण अवस्थासँग पौठेँजोरी खेल्दै नयाँ जीवन प्राप्त गरेकामा उनी खुसी देखिए ।
विभिन्न आरोह अवरोहका क्रममा पटक पटक नयाँ जीवन पाएका श्रेष्ठलाई सगरमाथा चढ्ने भोक मेटिएन । दोस्रो चरणमा सगरमाथामा पाइला राख्ने तीव्र अभिलाषाका साथ यही अप्रिल १२ तारेखमा पुनः सगरमाथा शिखरयात्रा आरम्भ गर्दै छन् गोपाल ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘समाजमा रहेका एचआईभी संक्रमितले सामान्य रूपमा अरूसरह जीवनयापन गर्न र समाजमा सकारात्मक योगदान पुर्याउन सक्छन् भन्ने सन्देश प्रवाह गर्न यो अभियान सुरु गरिएको हो ।’
समाजमा एक कदम अघि बढेको भन्ने सन्देश दिनका लागि ‘स्टेप अप क्याम्पेन’ नाम दिइएको उक्त अभियानको दोस्रो चरणका लागि ४३ लाख ५० हजार रुपैयाँ लाग्ने आयोजकले जानकारी दिएको छ । हालसम्म ३० लाख रुपैयाँ संकलन भइसकेको र बाँकी रकम क्याम्पेन पूरा भइसक्दासम्म संकलन हुने विश्वास लिइएको कार्यक्रममा जानकारी दिइयो ।
श्रेष्ठले यसअघि सन् २०१३ मा पाँच हजार ४१७ मिटर अग्लो थोरङलापास, २०१४ मा छ हजार १८९ मिटरको आइसल्याण्ड पिक तथा २०१६ माा भर्जिन पिकको सफल आरोहण गरिसकेका छन् ।
‘ती आरोहणहरूको अनुभवले पनि विश्वको छानोमा पुग्न सकिने संकल्प लिएको छु’, उनले भने ।
रेकर्ड होल्डर फुर्वा तेन्जिङ शेर्पाको नेतृत्वमा हुने आरोहणमा उनका निजी सहयोगीका रूपमा आरोहणकर्ता दाकिपा शेर्पा रहेका छन् ।
२५ वर्षदेखि एचआईभीसँग लड्दै ५६ वर्षको उमेरमा उत्साहका साथ विश्वकै अग्लो छानो चढ्ने सोच राख्नु चानचुने कुरा नभएको र विश्वभरका एचआईभी संक्रमितको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरो चुम्ने उनको साहसिक कदमले मूर्त रूप पाओस् भन्ने कामना कार्यक्रमका वक्ताहरूको थियो ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५