क्रिकेटमा सबै परिणाम सम्भव छ भन्ने फेरि एक पटक पुष्टि भएको छ । भारतमा चलिरहेको इन्डियन प्रिमियर लिगमा यसपटक एक पछि अर्को खेलमा वेस्ट इन्डिजका क्रिकेटर चम्किरहेका छन् ।
शुक्रबारराति कोलकाता नाइट राइडर्सबाट खेल्ने आन्द्रे रसेल चम्मिदा रोयल च्यालेन्जर्स बैंग्लोर सम्भावित पहिलो जितबाट बन्चित भयो । रसेलले १३ बलमा ७ छक्का र १ चौकासहित ४८ रन बनाएपछि बैंग्लोर हार भोग्न बाध्य भयो ।
बैंग्लोरले यो सिजनकै सर्वाधिक स्कोर बनाउने क्रममा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा ब्याटिङमा उत्रिएको कोलकत्ताका दिनेश कार्तिक १७ औं ओभरको अन्तिम बलमा आउट भए ।
जतिबेला कोलकत्तलाई जितका लागि १८ बलमा ५३ रन चाहिन्थ्यो । तर कार्तिक आउट भएपछि वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसेलले जादु नै देखाए । उनले त्यसपछि लगातार छक्काको बर्षा गरे । उनको विस्फोटक ब्याटिङमा कोलकत्ताले १८ औं र १९ औं ओभरमा क्रमश २३ र २९ रन बनाउँदै स्कोर बराबरी ग¥यो भने २० औं ओभरको पहिलो बलमा १ रन जोड्दै जित निकाल्यो ।
त्यसको भोलिपल्टै मुम्बई इन्डियन्सबाट खेल्ने अर्का क्यारेबियन किशोर अलजारी जोसेफ चम्किए । उनले ३.४ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ६ विकेट लिएपछि उपाधी दावेदार सनराईजर्स हैदराबाद घुँडा टेक्न बाध्य भयो ।
अलजारीले डेब्यु खेलमा नै कीर्तिमान बनाएको यो खेलमा पहिले ब्याटिङ गरेको मुम्बईका लागि अलराउन्टर काइरन पोलार्डले २६ बलमा ४६ रन रन बनाए । त्यसपछि हैदरबादविरुद्ध बलिङमा आएका अलजारीले आईपीएलको ११ वर्ष पुरानो रेकर्ड समेत तोडेर इतिहास रचेका छन् ।
मुम्बई करिब १ सय देखि ११० को स्कोरमा रोकिने देखिएको थियो । तर पोलार्डले अन्तिम दुई ओभरमा बिस्फोटक ब्याटिङ गरे । जसले हैदरावादविरुद्धको लडाई सहज बन्यो ।
हैदराबाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो । आईपीएलमा आफ्नो डेब्यू खेलमा वेस्ट इन्डिजका अलजारी जोसेफले हैदरवादका ब्याट्सम्यानहरुलाई तासको पत्ताजसरी एकपछि अर्को गर्दै उडाए । यससँगै उनले राजस्थान रोयल्सका पूर्व बलर सोहेल तनवीरको ११ वर्ष पुरानो रेकर्ड तोडे ।
उनले २००८ मा चेन्नईविरुद्ध १४ रन दिएर ६ विकेट लिएका थिए । अलजारीको यो प्रदर्शन आईपीएलको इतिहासको सबैभन्दा राम्रो बलिङ हो ।
आईपीएलको उत्कृष्ट बलिङ
१२ रन दिएर ६ विकेट : अलजारी जोसेफ (मुम्बई) विरुद्ध हैदराबाद २०१९
१४ रन दिएर ६ विकेटः सोहेल तनविर (राजस्थान) विरुद्ध चेन्नई २००८
१९ रन दिएर ६ विकेट एढम जाम्पा (पुणे) विरुद्ध हैदराबाद २०१६
५ रन दिएर ५ विकेटः अनिल कुम्बले (बैंग्लोर) विरुद्ध राजस्थान २००९
मुम्बईले यो खेलमा युवराज सिंहको स्थानमा इशान किशन र लसिथ मलिंगाको स्थानमा वेस्ट इन्डिजका बलर अलजारी जोसेफलाई स्थान दिएको थियो र यो निर्णय मुम्बईको जितमा कोशेढुंगा सावित भयो । २२ वर्षीया अलजारी जोसेफ आईपीएलको इतिहासमा डेब्युमा सर्बश्रेष्ठ बलिङ प्रदर्शन गर्ने बलर समेत बनेका छन् ।
आईपीएल इतिहासमा डेब्युको उत्कृष्ट बलिङ
१२ रन दिएर ६ विकेटः अलजारी जोसेफ (मुम्बई) विरुद्ध हैदराबाद २०१९
१७ रन दिएर ५ विकेट : एन्ड्रयु टाई (गुजरात) विरुद्ध पुणे २०१७
११ रन दिएर ४ विकेटः शोएब अख्तर (कोलकाता) विरुद्ध दिल्ली २००८
२४ रन दिएर ४ विकेट शादाब जकाती (चेन्नई) विरुद्ध दिल्ली २००९
वेस्ट इन्डिजका युवा बलर अलजारी जोसेफले हालसम्म वेस्ट इन्डिज टिमका लागि टेस्ट र १६ वानडे खेल खेलेका छन् । उनले ९ टेस्टमा २५ विकेट र १६ वानडेमा २४ विकेट लिएका छन् ।
रमाइलो कुरा त यो छ कि मुम्बई इन्डियन्सले अलजारीलाई खेलाडी अक्सनमा किनेको होइन । उसले अलजारीलाई न्युजिल्यान्डका घाइते तिव्र बलर एडम मिल्नेको स्थानमा रिप्लेसमेन्टका रुपमा टोलीमा जोडेको हो, जुन उसका लागि बरदान साबित भएको छ ।
जोसेफले वेस्ट इन्डिजबाट अहिलेसम्म टी–२० मा डेब्यु गरेका छैनन् । उनले यसअघि ७ वटा घरेलु टी–२० खेल खेलेका थिए । जसमा उनले ९ विकेट लिएका थिए । यसमा उनको सबैभन्दा राम्रो प्रदर्शनको ४ विकेट लिदा ४१ रन खर्चिएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५