इलाम : नियम अनुसारको ज्याला नपाएको भन्दै चिया श्रमिकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङलाई भेटेर श्रम ऐनअनुसारको ज्याला उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् ।
श्रमिकले आफूहरूलाई सरकारले तोकेबमोजिमको ज्याला दिलाइदिन माग गर्दै पूर्वसभामुख नेम्वाङलाई शनिबार ज्ञापन पत्र बुझाए । पत्र बुझ्दै नेता नेम्वाङले श्रम ऐनअनुसार सेवा उपलब्ध गराउन पहल गर्ने विश्वास दिलाएका थिए ।
चिया मजदुर सङ्घ एकाइ कमिटी इलामका अध्यक्ष सरस्वती चौलगार्इंका अनुसार नेता नेम्वाङले अन्य क्षेत्रमा कार्यरत मजदुरको भन्दा चिया श्रमिकको पारिश्रमिक कम तोकको तर त्यो पारिश्रमिक पनि दिन नसक्नु ‘लज्जास्पद’ भएको बताएका थिए ।
उनीहरू ठूला चिया कारखानाले तोकिएको जति पारिश्रमिक नदिएको भन्दै आन्दोलनमा निस्किएका छन् । चिया श्रमिकसँग वार्ताका लागि विभिन्न तहबाट पहल भइरहे पनि समस्याको समाधान हुन सकेको छैन । सरकारले चिया मजदुरको ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ ।
तर, इलामको चिया बगानमा कार्यरत मजदूरले भने दुई सय ६५ रुपैयाँ मात्रै पाउने गरेको चिया मजदुर सरस्वती चौलगार्इंले जानकारी दिइन् ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५