काठमाडाैं : त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ । उक्त रकम शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो । याे समाचार नेपाल समाचारपत्रले छापेकाे हाे ।
उनले आफ्ना श्रीमान् प्राडा रमेशप्रसाद भट्टराईलाई विज्ञ बनाएर परियोजनाका हरेक भ्रमणमा सँंगै लैजाने गरेपछि त्रिविभित्रै आक्रोश बढेको छ । परियोजना प्रमुख रेक्टर त्रिपाठीले परियोजनाले अहिलेसम्म क-कसलाई विदेश पठाएकाे छ भनेर गोप्य राखेकी छिन् । सो परियोजनाअन्तर्गत विदेश भ्रमण जाँदा त्रिविलाई आर्थिक भार नपर्ने उल्लेख गरी बिदा स्वीकृत भए पनि उनले दोहोरो सुविधा लिने गरेकाे समाचार स्रोतको दाबी छ ।
उक्त स्रोतका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई ग्रिस, चेन्नाई, इटाली, स्पेन, चीन, अमेरिकालगायतका प्रायः देशको भ्रमणमा लैजाँदा परियोजनाको रकम खर्च गरेकी हुन् । चेन्नाई, इटालीलगायत मुलुक जाँदा पिन उनका पति सँगै थिए । भट्टराईले विभिन्न मुलुक भ्रमण गर्दा १० लाखभन्दा बढी एड्भान्स रकम लिएकाे बुझिएकाे छ । अधिकांशले थोरैमा १ लाखदेखि २ लाख रुपैयाँसमेत एडभान्स लिएका छन् । परियोजनामा करिब ३२ हजार युरो अर्थात् करिब ३५ लाख रुपैयाँ रकम आएको थियो । तीमध्ये करिब २९ लाख रुपैयाँ भ्रमणमै सकिएको छ । विदेश गएपछि बिल पेस गरी रकम लिनुपर्ने प्रावधानलाई लत्याउँदै एड्भान्सको रुपमा रकम लिइएकाे हाे ।
स्रोत थप्छ, ‘भट्टराई सो परियोजनको सदस्यक रुपमा छन् ।रेक्टर त्रिपाठीले पनि एड्भान्सकै रुपमा रकम लगेकी हुन् ।’ सो भ्रमणमा आफू निकटका व्यक्ति र विज्ञका नाममा अनुभव नभएकालाई लगेको भन्दै त्रिविमा आलोचना खेप्दै आएकी रेक्टर त्रिपाठीले सो परियोजना आफूले ल्याएकाले परियोजना विज्ञको रुपमा पति प्राडा भट्टराईलगायतलाई लैजाने गरेको बताउँछिन् । उनको भनाइ छ, ‘मेरै पहलमा त्रिविको गुणस्तर सुधार्न ल्याएको बजेट विभिन्न सेमिनारमा खर्च गरिएको हो ।’
रेक्टर त्रिपाठीले नेपाली विभागका प्राध्यापक रहेका श्रीमान् भट्टराईलाई विदेश भ्रमण गर्न दर्जनौंपटक बिदा स्वीकृति दिएकी छिन् । अमेरिकाको महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्ट स्टेट युनिभर्सिटीमा समेत दुवै जना सहभागी थिए । ‘नेपालीका प्राध्यापक प्राडा भट्टराई व्यवस्थापन विषयको सेमिनारमा गएकोमा अचम्म लागेको छ’, स्रोत भन्छ ।
त्रिविका अधिकारीले भ्रमणको खर्च विवरण माग गर्दा परियोजनाका अधिकारीले दिन इन्कार गरेका थिए । स्रोतका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई व्यक्तिगत प्रयोजनमा समेत स्वदेश तथा विदेशका लागि पटकपटक तलबी काज स्वीकृत गर्ने तर अरूको काज समेत स्वीकृत नगर्ने गरेकमो पाइएको छ । यसबारे राष्ट्रिय सूचना आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा रेक्टर कार्यालयले कुन व्यक्ति के प्रयोजनका लागि विदेश भ्रमणमा गएको भन्ने विषयमा सूचना उपलब्ध गराएको थियो । स्मरणीय छ, पति प्राडा भट्टराई राष्ट्रिय प्राध्यापक संगठनको सहसंयोजक हुन् ।
पति प्राडा भट्टराईलाई सँगै भ्रमण लगेको विषयमा त्रिपाठीस् भन्छिन्, ‘उहाँ विज्ञ भएकाले लगेकी हुँ ।’ उता समाचार स्रोतको दाबी छ, ‘विदेशमा कार्यपत्र प्रस्तुत गर्दा अंग्रेजी भाषामा दख्खल भएको व्यक्तिलाई विज्ञको रुपमा सहभागी गराउने प्रचलन छ, तर श्रीमानलाई मात्रै लैजानुपर्छ भन्ने छैन ।’
परियोजनाका कार्यकारी निर्देशक जगतकुमार पोखरेल पनि हरेक भ्रमणमा सहभागी हुने गरेका छन् । कार्यकारी निर्देशकका रुपमा आफूलाई अनिवार्य रुपमा सहभागी हुने व्यवस्था गरिएको पोखरेलकै दाबी छ । उनी भन्छन्, ‘परियोजना प्रमुखको हैसियतले जसलाई पठायो, त्यही व्यक्ति सहभागी हुन्छ, मैले यो वा त्यो व्यक्ति लैजाऔँ भन्न मिल्दैन ।’
रेक्कर त्रिपाठीका पति भट्टराईको भ्रमणबारे कार्यकारी निर्देशक पोखरेलको प्रतिक्रिया छ, ‘खै यसबारे मैलाई थाहा छैन, त्यो संयोग होला ।’ कुनै कुनै भ्रमणमा भने त्रिविका योजना महाशाखा प्रमुख प्राडा ऋदिष पोखरेल, विष्णुप्रसाद खरेल, वियजयलाल प्रधानलगायत सहभागी हुने गरेका छन् ।
परियोजनाकै विषयमा विवाद आएपछि आफू भ्रमण जानै छाडेको दाबी गर्दै त्रिवि योजना महाशाखा प्रमुख डा. ऋदिष पोखरेल भन्छन्, ‘दुई पटक मात्रै गएको हो ।’
ईयूको सो परियोजनाका लागि आएको रकम विवरण विश्वविद्यालयको केन्द्रीय खातामा दाखिला हुनुपर्छ । तर कुन आधारमा कसरी रकम लगियो भन्ने विषयमा त्रिविका रजिस्ट्रार प्रा. दिल्ली उप्रेतीलाई नै जानकारी नै छैन । उनी भन्छन्, ‘के भएको हो बुझ्नुपर्छ, चेकमा मेरो हस्ताक्षर छ कि छैन हेर्नुपर्छ ।’
त्रिवि उपकुलपति प्राडा तीर्थराज खनियाँसमेत यसबारे बेखबर छन् । उनी यसबारे आफूलाई जानकारी नै नभएको बताउँदै भन्छन्, ‘परियोजना कसरी सञ्चालित छ भन्नेबारे जानकारी लिनुपर्ला अब ।’ परियोजनाका कार्यकारी निर्देशक पोखरेलका अनुसार अहिलेसम्म आएको करिब २२ लाख रुपैयाँ सबै त्रिविको गुणस्तर सुधारमा खर्च भएको छ । भ्रमणका उपलब्धिबारे भन्छन्, ‘विभिन्न कार्यपत्र प्रस्तुत गरेका छौ, त्रिविको सुधारमा ठूलो उपलब्धि भएको छ ।’ यद्यपि त्रिविको उच्च स्रोत दाबी गर्छ, ‘यसैको नाममा विदेश शयर गर्नेबाहेक परियोजनाले हालसम्म कुनै उपलब्धि हासिल गरेको छैन ।’
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५