वसन्तपुर (सुनसरी) : सुनसरीको दक्षिणवर्ती गाउँपालिका हरिनगराबाट सीमावर्ती दसगजा क्षेत्र हुँदै भारततर्फ तस्करी हुने गरेको सूचना प्रहरीसँग पहिल्यैदेखि थियो । खुल्ला सिमाना भएका कारण प्रहरीको आँखा छल्न सफल स्थानीय तस्करहरूले अनुकूल मिलाएर विभिन्न सामाग्रीहरू तस्करी गर्दै आएका थिए । तरपनि ठोस उपलब्धि हात नपारेको प्रहरीले तस्कर र तस्करीका सामान पक्राउ गर्न विभिन्न उपाय लगाइरहेकै थियो ।
सुनसरी जिल्लाको करिब ६२ किलोमिटर क्षेत्र नेपाल–भारत सीमा नाका पर्छ । खुल्ला सीमा भएका कारण नेपाल भारत आउजाउ गर्न त्यहाँ कुनै समस्या छैन । ठाउँठाउँमा स्थानीयबासीले आउतजावत गर्न गोरेटो बाटो बनाएका कारण आवागमनमा कुनै समस्या नै छैन । यही सुविधाको फाइदा उठाउँदै तस्करहरूले ढुंगागिटीदेखि मरिच र गाईबस्तुसमेतको तस्करी गर्दै आएको प्रहरीको भनाइ छ ।
.jpg)
सरकारले सीमा स्तम्भको सुरक्षादेखि लिएर दसगजा क्षेत्रमा हुने विभिन्न प्रकारका आपराधिक क्रियाकलापको नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । सुनसरीको हरिनगरा गाउँपालिकास्थित वसन्तपुरमा दसगजा क्षेत्रदेखि करिब पाँच सय मिटरमा सशस्त्र प्रहरीको सुरक्षा बेस छ ।
घटना करिब दुई महिनाअघिको हो । २०७५ माघ १७ गते एकाबिहानै सशस्त्र प्रहरी निरीक्षक मनोज निरौला आफ्नो दलबलसहित ड्युटीमा निस्किए । पाँच जनाजतिको टोली हरिनगरा गाउँपालिकामा नै पर्ने घुस्की जाने बाटोतर्फ लम्किए । ‘बिहानको ४ बजेको थियो । मेरो कमान्डमा पाँच जना घुस्की जाने बाटोतर्फ लाग्यौँ’, सशस्त्र प्रहरी निरीक्षक निरौलाले भने, ‘बिहान भएकाले सुनसान थियो । बाटोको बीच क्षेत्रमा पर्ने मकैबारीमा हामी पुग्यौँ । तस्करी हुने स्थानको पहिचान भइसकेकाले कसैले देख्छ कि भनेर मकैबारीमा हामी बिहानदेखि लुकेर बस्यौँ ।’
.jpg)
बिहान ४ बजेदेखि सशस्त्र प्रहरीको टोलीले तस्कर र तस्करीको सामान पक्राउ गर्ने लक्ष्यका साथ मकैबारीको सहारा लिएको थियो । झिसमिसे हुँदै बिहान उज्यालो भयो । तर मध्याह्नसम्म सर्वसाधारण आवतजवात गरे पनि कुनै तस्करीको सामान फेला परेन ।
जब दिउँसो १२ बज्यो, तब को २ ह ५२६७ नम्बरको अटो सोही बाटो हुँदै भारतीय क्षेत्रतर्फ प्रवेश गर्न लाग्यो । कहिल्यै त्यसरी अटो नगुड्ने सो बाटोमा सशस्त्र प्रहरीको टोलीले घेरा हाल्यो । प्रहरीको टोली देखेर अटो चालक भाग्न सफल भए । तर उनको अटोमा भएको १५ बोरा मरिचसहित अटो सशस्त्र प्रहरीले आफ्नो नियन्त्रमा लियो । वसन्तपुरस्थित सिसुवा धरमपुरमा सशस्त्र प्रहरीले पक्राउ गरेको करिब पाँच लाख ७५ हजार रूपैयाँ मूल्य बराबरको मरिच कोसी ब्यारेजस्थित सेतबन्धु भन्सारमा दाखिला गर्यो ।
गिटीबालुवा र गाईबस्तुको पनि तस्करी
प्रायजसो भारतीय क्षेत्रमा बढी मूल्य पाइने सामग्री नेपालबाट अबैध रूपमा तस्करी हुने गरेको छ । सीमा क्षेत्रबाट मरिचलगायत निर्माण कार्यमा प्रयोग हुने गिटीबालुवा र गाईबस्तुको तस्करी ज्यादा हुने गरेको छ । भारतमा पाउन मुस्किल हुने गिटीबालुवा तस्करीमा तस्कर ज्यादा केन्द्रित हुने गरेका छन् ।
वसन्तपुर सुरक्षा बेसका सशस्त्र प्रहरी निरीक्षक मनोज निरौला तस्करीले प्रहरीको आँखा छलेर तस्करी गर्ने गरेको आफ्नो अनुभव सुनाउँछन् । उनी सरुवा भएर आएको छ महिनाको अवधिमा भारततर्फ लाँदै गरिएका दुइटा ट्याक्टर पक्राउ गरेर भन्सार कार्यालयमा बुझाइसकेका छन् । करिब १४ लाख रूपैयाँ बराबरको बालुवा बोकेर भारततर्फ लाँदै गरेको को २ त २९२६ र को २ त २७६६ नम्बरका ट्याक्टर पक्राउ गरिएको थियो ।
.jpg)
यसैगरी वसन्तपुर र घुस्की जोड्ने कबिस्तान सडकखण्डबाट २६ थान गाईगोरु सोही सुरक्षा बेसले पक्राउ गरेर भन्सारमा बुझाएको जनाएको छ । सो बेसले हालसम्म २२ लाख रूपैयाँ मूल्यबराबरको सामग्री पक्राउ गरी भन्सारलाई बुझाएको छ ।
सहज छैन सुरक्षा दिन
वसन्तपुर दसगजा क्षेत्र नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प छ । नेपालका सुरक्षाकर्मीभन्दा एसएसबीले धेरै कुरामा सुविधायुक्त ठाउँठाउँमा आफ्नो क्याम्प खडा गरेको छ । तर नेपालका सुरक्षाकर्मी भने स्थानीयले उपलब्ध गराएको भवनमा बस्दै आएका छन् । भवन पनि त्यत्तिकै जीर्ण छ ।
.jpg)
सशस्त्र प्रहरीले सुनसरीको सीमा क्षेत्र अन्तर्गत मुख्य पिलर र सहायक पिलर गरि दुई सय ९० वटा सीमा स्तम्भको सुरक्षा गर्दै आएको छ । सशस्त्र प्रहरीको अमडुवा, साहेबगन्ज, कप्तानगन्ज, घुस्की, वसन्तपुर, लौकही, श्रीपुर, हरिपुर र लाहीमा सुरक्षा बेस छन् । ‘सीमा क्षेत्रको सुरक्षा गर्नु हाम्रो पहिलो दायित्व नै हो । त्यस अलावा आपराधिक क्रियाकलाप, अबैध चोरीपैठारी, तस्करी नियन्त्रणमा हामी सक्रिय छौँ ।’ सशस्त्र प्रहरी निरीक्षक निरौलाले आजको न्यूजसँग भने, ‘सुरक्षाको विषय सहज होइन, हामी स्थानीयबासीसँग मिलेर सुरक्षाको प्रत्याभूति दिलाइरहेका छौँ ।’
केही वर्षअघिसम्म भारतीय डाँकाहरूको निसानामा पर्ने सीमावर्ती नेपालीहरूले अहिले भने त्यसबाट छुटकारा पाएका छन् । चोरी डकैतीबाट आक्रान्त सीमाबासीलाई दुवै देशको नाकामा सुरक्षाकर्मी बसेपछि राहत मिलेको छ । सीमामा बस्ने सशस्त्र प्रहरीका लागि बल्लतल्ल प्रदेश सरकारले भवन निर्माणका लागि बजेटसमेत छुट्याएको छ । वसन्तपुर बेसमा स्थानीयले उपलब्ध गराएको सात कठ्ठा जग्गामा अबको केही दिनपछि आफ्नै भवन बन्दैछ ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०७५