काठमाडौं : प्राध्यापक विष्णुराज ओझालाई मोसो र जुत्ताको माला लगाइदिएपछि चितवनस्थित कृषि तथा वन विश्वविद्यालयका सबै काम ठप्प भएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालय अन्तर्गत पठनपाठन, परीक्षा तथा प्रशासनिक कामकाज ठप्प पारेको हो ।
प्राध्यापक ओझाले स्थानीय प्रहरी तथा विश्वविद्यालय प्रशासनसमक्ष किटानी जाहेरीसमेत दिएको प्राध्यापक संघका केन्द्रीय सदस्य रामहरि तिमिल्सिनाले जानकारी दिए । किटानी जाहेरीमा पर्ने छैठौं सेमेस्टरका विद्यार्थीहरू सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौलिव र सुशन पौडेल छन् । उनीहरू अहिले सबै फरार भएको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय, भरतपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठौरका अनुसार पहिले पनि पक्राउ गरेका ति विद्यार्थीहरुको खोजी कार्य भइरहेको छ । विद्यार्थीहरुलाई सम्पर्क गर्न खोज्दा उनीहरु सबैको मोबाइल स्वीच अफ छ ।
‘विरोध स्वरूप विश्वविद्यालयका शैक्षिक, परीक्षा, प्रशासनसहित सम्पूर्ण कार्यक्रम बन्द गर्ने निर्णय गरेका छौं’, संघका केन्द्रीय सदस्य तिमिल्सिनाले भने, ‘यस्तो घटना विश्वविद्यालयमा पहिलोचोटि भएको हो । राजनीतिको नाममा यस्तो अराजकता हुनु राम्रो होइन ।’ विश्वविद्यालयमा सयको हाराहारीमध्ये तीन दर्जन प्रजातन्त्रवादी प्राध्यापक छन् । केही प्राध्यापकबाहेक सम्पूर्ण प्राध्यापक संघ÷संस्थाले यस घटनाको घोर भत्र्सना गरेका छन् । तिमिल्सिनाका अनुसार कमजोर विद्यार्थीले ओझालाई यसरी योजनाबद्ध तरिकाले मोसो र जुत्ताको माला लगाइदिएका प्राध्यापकहरुले आरोप लगाएका छन् ।
विश्वविद्यालयका डिन प्रा. जयप्रकाश दत्तका अनुसार घटना हुँदा उनी आफू बाहिर भएका कारण यथार्थ बुझ्न पाएनन् । शनिबार विश्वविद्यालय पुगेपछि यथार्थ बुझेर कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए । उनी भन्छन्, ‘विश्वविद्यालयको नियम कानुन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’
घटनाको जड
प्रा. ओझा आफैँ युरोपमा पढेर आएका विद्यार्थी हुन् । उनका अनुसार विदेशतिर थ्यौरी पढाउँदा सामान्यतया ठूलै हलमा हुन्छ । रामपुर क्याम्पसमा पनि होलीअगाडि नै विद्यार्थीलाई पढ्न बोलाउँदा एकै ठाउँमा नपढ्ने भनेर ती विद्यार्थीले बहिष्कार गर्दै आएका थिए । अन्ततः कक्षा हुने नै भयो । कक्षा सञ्चालन भइरहँदा ती विद्यार्थी पछाडि थिए । पढाइ बुझिएन भनेर हल्लाखल्ला गर्न थालेपछि कक्षा तितरबितर हुन थाल्यो । अन्तिममा रहेका ती छ जनाले एक्कासी आएर यस्तो हर्कत गरे ।
ओझा नियमित कक्षा लिने, त्यसमाथि राम्रो पढाउने प्राध्यापकको सूचीको अग्रभागमा पर्ने बताइन्छ । ती विद्यार्थीहरूलाई कारबाही नहुँदासम्म विश्वविद्यालय खोल्न नदिने प्रजातन्त्रिक प्राध्यापक संघले अडान लिएको छ ।
के भन्छन् ओझा ?
ती विद्यार्थीले लगाएको आरोप मान्ने हो भने यहाँका ९९ प्रतिशत प्राध्यापक पर्छन् । किनभने यहाँको सिस्टम नै यस्तै छ । कुन हिसाबले मलाई निसाना बनाए, त्यो त थाहा भएन । तर, उनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । यस विश्वविद्यालयमा एक वर्षमा झण्डै आठ महिनाजति त बन्द हड्ताल नै हुन्छ । यस्तो बन्द सधैँका लागि बन्द हुनुपर्छ । लठैत प्रवृत्ति हुनु हँुदैन ।
डन प्रवृत्तिका विद्यार्थीले गर्दा माहोल बिग्रिन्छ । ‘मार्दिम्छम्’ भन्ने भाषा प्रयोग गर्नेहरूलाई रेस्टिकेटसम्मको कारबाही हुनुपर्छ । प्रहरीले के गर्छ थाहा भएन, तर विश्वविद्यालयबाट ती विद्यार्थीलाई हदैसम्मको कारबाही गरिनुपर्छ ।
के भन्छ प्रहरी
चितवन प्रहरीका अनुसार विश्वविद्यालयमा वितण्डा मच्चाउँदै हिँड्ने ती विद्यार्थी पहिलेदेखि नै अराजक गतिविधिमा संलग्न थिए । प्रहरी उपरीक्षक सुशीलसिंह राठौर भन्छन्, ‘यी विद्यार्थीले पहिलेदेखि नै यस्ता गतिविधि गर्दै आएका थिए । र, हामीले यिनीहरुलाई दुई÷तीन पटक ल्याएर थुनिसकेका पनि छौं ।’
जति नै गर्दा पनि उनीहरुको गतिविधिमा परिवर्तन नआएको र फेरि क्याम्पसमा यो वितण्डा मच्चाएको उनको भनाइ छ । जाहेरीमा परेका विद्यार्थीहरू सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौलिव र सुशन पौडेल सबै फरार रहेको राठौरले जानकारी दिए ।
रामपुरका ५० प्रतिशत विद्यार्थी अमेरिकातर्फ
चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा बीएस्सी एजी अध्ययन सिध्याएका विद्यार्थीको पहिलो लक्ष्य अमेरिका जाने हुन्छ । अमेरिका जान नपाए नेपालमै सरकारी जागिर खाने । त्यो पनि भएन भने कृषि विज्ञको रूपमा निजी तथा आईएनजीओमा काम गर्ने हुन्छ ।
बीएस्सी एजी पढाइ सकाएपछि ७० देखि ८० प्रतिशतले राजधानीस्थित ग्राजुएट रेकर्ड एक्जामिनेशन (जीआरई) दिने गर्छन् । यूएसईएस स्कोर प्राप्त गरे विश्वको कुनै पनि विश्वविद्यालयले भर्ना लिने गर्छ । रामपुर कृषि विश्वविद्यालयबाहेक इन्जिनियर, वातावरण, लाइफ साइन्स लगायत अध्ययन गर्नेले मात्रै यो स्कोर ल्याउन सक्ने प्राध्यापकहरू बताउँछन् ।
अमेरिका जान पाइने लोभले विद्यार्थीलाई यस विश्वविद्यालयमा आकर्षण हुन थालेको अहिले २० वर्ष पुग्यो । मासिक एक सय रुपैयाँ पनि खर्च नहुने यस विश्वविद्यालयलाई सरकार आफैँले पूरै खर्च व्यहोर्ने गर्छ । एक सेमेस्टरमा एक सय ६५ जना भर्ना हुन्छन् । तर, इन्ट्रान्समा भने चार हजारले जाँच दिएका हुन्छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५