काठमाडौं : पटक–पटक खाद्य वस्तुमा मिसावट भेटिएको खबर सुनिँदै आएको छ । कतिपय ठाउँमा आफैँले पनि फेला पारिएको हुन्छ । यस्तो घटना भेटिँदा अनुसन्धान भइरहेको सुनिन्छ । तर, कारबाही गरिएको भन्ने चाहिँ कमै सुनिन्छ । वनस्पति घ्यू, तेल, दूध, पानी, गाईवस्तुका दाना लगायत वस्तुमा हुने मिसावटविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ ।
खाद्य पदार्थमा हुने मिसावटविरुद्ध चौमासिक विवरण प्रस्तुत गर्न आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘सर्वसाधारणको स्वस्थ्यमा खेलबाड गर्ने विभिन्न उद्योग तथा फार्महरूलाई कारबाही सिफारिस गरिएको छ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गत साउनदेखि फागुन मसान्तसम्ममा एक सय ३६ उद्याेगमाथि मुद्दा दर्ता गरिएका छन् । दूषित, न्यून गुणस्तर, न्यूनस्तर लगायतका विभिन्न शीर्षकमा मुद्दा दायर गरिएको विभागका प्रवक्ता वस्तीले बताए । सर्वसाधारणको जीवनसँग प्रत्यक्ष वनस्पति घ्यू, तेल, दूध, पानी, गाईवस्तुका दाना लगायतका विभिन्न वस्तुमा भएका अनिमिययता र मिसावट गरेको भेटिएपछि सबन्धित जिल्लाहरूमा मुद्दा दर्ता गरिएकाे छ ।
सबैभन्दा धेरै न्यून गुणस्तर सम्बन्धी ३३ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै दूषिततर्फ १९, न्यूनस्तरतर्फ चार, लेबलिङतर्फ तीन तथा न्यूनस्तर र दूषितमा दुई मुद्दा दायर भएका छन् । विभागले यस अवधिमा खाद्य उद्योग र बजार अनुगमन तथा गुणस्तर नियमन बजार अनुगमन गरी अनुसन्धानात्मक तथा ऐन नियमानुसारका एक हजार दुई सय ३० नमूना सङ्कलन गरेका थिए ।
प्रयोगशाला परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको र अष्टमासिक अवधिमा १३ सय नमूना संकलन गरी आवश्यक कारबाही अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस्तै खाद्य र दाना उद्योग, रेष्टुरेन्ट, राजमार्गका होटल गरी ११ सय १२ पटक अनुगमन निरीक्षण गरिएको थियो । खाद्य ऐन, २०२३ अनुसार न्यूनस्तर, मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा २१ मुद्दा दायर गरिएको थियो । दायर गरिएका मुद्दामध्ये सबैभन्दा बढी १५ मुद्दा प्रशाेधित पिउने पानीका रहेका थिए ।
यस अवधिमा एक सय ८४ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, छ सय ३६ उद्योग अनुज्ञापत्र नवीकरण तथा छ सय ६८ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ ।
खाद्य आयात नियमनतर्फ भने आयात निर्यात निर्देशिकाले व्यवस्था गरेअनुरूप आयात गर्नुपूर्व अनिवार्यरूपमा अनुमति लिनुपर्ने भनी व्यवस्था गरिएका विभिन्न खाद्यवस्तुको आयात अनुमति लिने क्रममा आ व २०७५/७६ को द्वितीय चौमासिकमा कुल छ हजार ८० आयात अनुमति दिइएको छ । त्यस्तै कागजात नमिलेका, मापदण्ड नपुगेका, आयात प्रतिबन्ध लागेका, लेबल नभएका विभिन्न ४४ खाद्य वस्तुको आयात अनुमति अस्वीकृत गरेको छ । साथै यस अवधिमा तीन सय १७ आहारपूरक खाद्य वस्तुको उत्पादन दर्ता गरिएको विभागले जनाएको छ ।
यस अवधिमा विभिन्न खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट आयातित खाद्य वस्तुको नियमनको क्रममा १० हजार चार सय ५६ नमूना परीक्षण गरी आयात अनुमति प्रदान गरेको थियो । खाद्यान्न, तेल, बिस्कुट, गुलियो, क्यान्ड मिट, नुडल्स, क्यान्ड फिस, सस, फुड प्रिजर्भ, ललिपप गरी जम्मा १५ नमूना प्रतिकूल पाइएकाले आयात रोक्का गरेको थियो । अष्टमासिक अवधिमा ३० हजार तीन सय ७४ नमूना जाँच परीक्षण गरेको थियो ।
विभागले यस अवधिमा विराटनगर, हेटौंडा, धनगढी, उदयपुर, काभ्रे, सुर्खेत, राजविराज, सर्लाही, दमौली, काठमाडौं, पोखरा, चितवन र बाग्लुङ्गमा जम्मा दुई सय १२ होटल रेष्टुरेन्ट स्तरीकरण गरिएकामा तीन वटाले अतिउत्तम, २५ वटाले उत्तम, ८० वटाले सन्तोषजनक र एक सय चार वटाले सामान्य स्तर प्राप्त गरेको विभागले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५