काठमाडाैं : बारा र पर्सामा आएको विनासकारी हावाहुरी प्रभावितलाई राहत दिने क्रम जारी छ । व्यक्ति, संस्था, राजनीतिक दलदेखि लिएर राज्यले नै राहत स्वरूप गाँस, बास र कपासको व्यवस्थामा जुटिरहेको छ । तर, हाम्रो जस्तो देशका राजनीतिक दलहरूले पनि भटाभट राहत रकम तथा सामग्री हस्तारन्तरण गरिरहेको समाचार आइरहेका छन् । उनीहरूलाई राहत दिनसक्ने रूपैँया कहाँबाट प्राप्त हुन्छ ?
नेपाली कांग्रेसले राहत स्वरूप पाँच लाख रुपैयाँ दिइसकेको छ । सभापति शेरबहादुर देउवाले आफ्ना कार्यकर्तालाई घाइते तथा पीडित परिवारलाई सक्दो सहयोग गर्न निर्देशन समेत दिइसकेका छन् । नेपाली कांग्रेसले कार्यकर्ताकै पहलमा बानेश्वरमा रक्तदान कार्यक्रम पनि गरिसकेको छ । त्यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत पनि घटनास्थल पुगेर मृतकका परिवारलाई १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेर फर्केका छन् । साथै घाइतेलाई उपचार गर्न सरकारसमक्ष पहल गर्ने वचनसमेत उनले दिएका छन् । त्यस्तै नेपाल विद्यार्थी संघले पनि राहत बाँडिरहेकै छ ।
नेपाल कम्युनिस्ट पार्टीले भने बहालवाला सांसद्को एक दिनको तलब दिने भनेर पार्टीगत निर्णय नै गरिसकेको छ । पार्टीका नेता प्रदीप ज्ञवालीका अनुसार नगदबारे कुरा उठिरहेको छ । दिने हुँदा हामी प्रधानमन्त्री राहत कोषमै पठाउँछौ उनले भने । राहत कोषमा एकद्वार प्रणाली हुनुपर्ने उनको भनाइ छ । होइन भने भद्रगोल हुने, टाठाबाठाले दोहोर्याएर लिने सम्वभाना बढी हुने र साेझासीधाले नपाउने अवस्था आउने उनकाे बुझाइ छ । वितरण प्रणालीमा सरकारी संयन्त्र नै प्रयोग गरिनुपर्ने उनी बताउँछन् ।
बिहीबार नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे । र, त्यसको केही समयपछि आफूले पनि ट्वीट गरेर प्रचारमा ल्याए । यता, रवीन्द्र मिश्रको विवेकशील साझा पार्टीले पनि बिहीबार पनि राहत सामग्री वितरण गरेर फर्केकाे छ । पार्टी अध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘विवेकशील साझा पार्टीले झण्डै एक सय परिवारलाई राहत बाँडेर बाँकी रहेका सामानहरू वडाध्यक्षलाई जिम्मा लगाएर फर्किएकाे छ ।’
रवीन्द्र मिश्रको पार्टीले भने स्पष्ट रूपमा भन्दै आएको छ, विवेकशील साझाका स्वयंसेवीहरू तपाईंको सहयोगलाई पीडितसम्म पुर्याउन तयार छ । हामी गर्छौं तर तपाईंको साथ, तपाईंको हात चाहिन्छ ।’ यसबारे नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले संस्थागत रूपमा सहयोग गर्न खोजेकाे बताइन् । उनी भन्छिन्, ‘विधिको शासन हुनुपर्छ भन्दै आएका छौं, त्यही भएर प्रदेश २ मार्फत नै बुझाएका हौं ।’
पार्टी आफैँ पनि चन्दा संकलनबाटै सञ्चालन हुन्छ । यस्तो अवस्थामा तपाईंहरूले चर्चामा आउन मात्रै यसो गर्नुभएको हो कि ? भन्ने प्रश्नमा यमीले भनिन्, ‘हामी आफैँले उठाएका पनि हौं । साथै शुभचिन्तकहरूबाट उठाएका छौं । र, केही विदेशबाट पनि पठाएका छन् ।’
त्यसैगरी विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले भने, ‘हामीले यसका लागि छुट्टै टोली खटाएका छौं । र, स्पष्टै भनेका पनि छौं । हामीले बिनासोर्सको सहयोग दिएका होइनौं ।’ त्यसैगरी विभिन्न व्यक्ति तथा संघसंस्था पनि बारा–पर्साका लागि राहत रकम संकलनमा जुटिरहेका छन् ।
त्यसैगरी यस्तो कार्यमा विगत भुइँचालोदेखि नै लागिपरेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ पनि लागिरहेकै छन् । यी दुईले पनि ‘थर्ड पार्टी’बाटै आएको चन्दा रकम बाँडेका छन् ।
के गर्दैछ सरकार ?
प्रदेश तथा केन्द्रीय सरकारले पनि बारा–पर्साका घाइतेलाई निःशुल्क उपाचारदेखि घर निर्माणमा सहयोग गर्ने घोषणा गरिसकेको छ । घटनालगत्तै बालुवाटारमा बसेको संघीय सरकारकाे आकस्मिक बैठकले मृतकको परिवारलाई यथोचित सहयोग र घाइतेको उपाचार गर्ने निर्णय गरेको थियो ।
त्यस्तै प्रदेश सरकारले मृतकका परिवारलाई जनही तीन–तीन लाख रूपैयाँ दिने घोषणा गरिसकेको छ । यता, प्रधानमन्त्री राहत कोषमार्फत् तथा प्रदेश सरकारमार्फत् पनि राहत रकम धमाधम जम्मा भइरहेको छ ।
३० जनाको ज्यान जानेगरी आएको विनासकारी हावाहुरीले नेपाल विद्युत प्राधिकरणको मात्रै १५ करोडको क्षति पुगेको जनाइएको छ ।
कृषि क्षति संकलन गर्न टोली प्रस्थान
जनधसँगै जोडिएको मुख्य क्षेत्र कृषिमा पनि थुप्रै क्षति भएको छ । यसका लागि क्षतिको संकलन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पाँच जनाको टोली आज शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । मन्त्रालयका उपसचिव गंगा आचार्यका अनुसार कृषि विज्ञ अर्जुनप्रसाद बराल, मन्त्रालयका अर्थविद् देवविनोद बराल, चन्द्रविक्रम कुँवर, सुदीप देवकोटा, कमलराज शर्मा लगायतको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
टोलीले एक साताभित्र रिपोर्ट दिने आचार्यले जानकारी दिए । अहिले त्यस क्षेत्रमा गहुँ लगाइएको थियो । घटनास्थलमा गाडिएक पम्पहरू समेत उखेल्ने गरी हुरी आएकले जनधनसँगै बालीमा पनि ठूलो क्षति पुगेको जनाइएको छ । क्षति विवरण आइसकेपछि सहयोगबारे छलफल गरिने जनाइएको छ ।
यकिन तथ्याङ्क अभाव
राजधानीमा मङ्गलबार आयोजना गरिएको एउटा कार्यक्रममा फ्याक्टस नेपालका प्रमुख कार्यकारी अधिकृत मनीष झाले आँधीबाट कम्तीमा २५ सय घरधुरी प्रभावित भएको बताए । तथ्याङ्क संकलन गर्ने संस्था फ्याक्टसकी झाका अनुसार दुई जिल्लाका जनप्रतिनिधि र प्रदेश सरकारबाट प्राप्त जानकारीका आधारमा घरधुरीको तथ्याङ्कको अनुमान गरेको बताएकी थिइन् ।
तर, सरकारी तथ्यांकले त्यसको आधा मात्रै संख्या भएको जनाएको छ । बारामा एक हजार तथा पर्सामा दुई सय पचास घरधुरी प्रभावित भएको सम्बन्धित जिल्लाका जिल्ला प्रशासनले मिडियामा बताउँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५