भोजपुर : दुर्गम पहाडी जिल्ला भोजपुरको उत्तरी गाउँपालिका साल्पासिलिछोमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार जनाभन्दा बढीले उपचार सेवा लिएका छन् ।
भोजपुरको उत्तरी योे गाउँपालिका स्वास्थ्य उपचारका लागि विकट मानिएको ठाउँ हो । यहाँका बिरामीहरू उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जान्छन् या छिमेकी जिल्ला संखुवासभा पुग्छन् । विराट मेडिकल कलेज विराटनगरले बुधबारबाट दुई दिने शिविर सञ्चालन गरेपछि गाउँबासीले लाभ लिएको गाउँपालिका अध्यक्ष महेश राईले बताए ।
गाउँपालिकामा यसपटक दुई दिन मात्र शिविर सञ्चालन भएकाले आगामी दिनमा पनि शिविर सञ्चालनका लागि गाउँपालिकाले पहल गर्ने अध्यक्ष राईले जनाए । शिविरको पहिलो दिन गाउँपालिकाका करिब छ सयले स्वास्थ्य सेवा लिए भने दोस्रो दिन चार सय जनाभन्दा बढीले उपचार पाएको कलेजका प्रबन्धक अरबिन्द मण्डलले बताए ।
शिविरमा स्त्री रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नसा रोग, नाक, कान तथा घाँटी, मुख तथा दन्त रोगका विशेषज्ञ स्वास्थ्यकर्मीबाट उपचार गरिएको मण्डलले जानकारी दिए । उनले भने, ‘हाम्रो उद्देश्य भनेको दुर्गम क्षेत्रका जनताले स्वास्थ्य सेवा पाउन भन्ने हो, सोही बमोजिम भोजपुरमा पनि गाउँपालिकाको सहयोगमा शिविर आयोजना भएको हो ।’
दुई दिनसम्म चलेको शिविर बुधबार साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५ मा रहेको चन्द्रावती आधारभूत विद्यालय फेदी र बिहीबार गाउँपालिकाको केन्द्र चौकीडाडाँस्थित जाल्पा माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५