अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले यमन युद्धमा साउदी गठबन्धनलाई साथ नदिने र अमेरिकी संलग्नता अन्त्य गर्ने प्रस्ताव पारित गरेको छ ।
साउदी अरबप्रति नरम नीति लिदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यसले ठूलो झट्का दिएको छ ।
ट्रम्पले यमनमा साउदी नेतृत्वको सेनालाई सहयोग जारी राख्न चाहेमा भिटो प्रयोग गर्न सक्नेछन् । यो प्रस्ताव गत महिना माथिल्लो सदन सिनेटबाट पारित भइसकेको छ ।
एक महिनाभन्दा लामो समयका लागि अमेरिकी सैन्य सहयोगलाई निरन्तरता दिन चाहेमा भिटो प्रयोग गर्न सक्छन् । मेक्सिको पर्खाल निर्माणका लागि यसअघि ट्रम्पले भिटो प्रयोग गरेका थिए ।
गत वर्ष टर्कीको इस्तानबुलस्थित साउदी कूटनीतिक नियोगभित्र पत्रकार जमाल खशोग्जीको हत्या भएपछि यमनमा मामलामा अमेरिकी कंग्रेसमा ट्रम्प विरोधी मत बढेको हो । साउदीलाई दिँदै आएको सहयोगको ट्रम्पकै रिपब्लिकन पार्टीका सांसदले समेत आलोचना गर्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५