काठमाडौं : जीवनको उत्तरार्द्धमा आफ्ना सन्तानसँग छुट्टिएर टाढा बस्ने रहर कसलाई पो हुन्छ र ? तर बुढेसकालका सहारा बन्लान् भनेर माया ममता गरी हुर्काएका सन्तान नै निर्दयी बनिदिएपछि यो बाध्यता बन्छ वृद्धवृद्धालाई ।
काभ्रेपलाञ्चोक दाप्चाका कृष्णचन्द्र श्रेष्ठलाई पनि लागेको थियो, छोराहरू बुढेसकालका सहारा बन्नेछन् । तर उनको सोचाइ गलत सावित बनिदियो, जब छोराहरूले हामी पाल्न सक्दैनौँ, जहाँ जाने हो जानू भनिदिए ।
९३ वर्षीय कृष्णचन्द्रले कहिल्यै सोचेका थिएनन्, जीवनको उतरार्द्धमा आफ्नो जीवन आश्रममा बित्नेछ । तर उनी नयाँ बानेश्वरको शान्तिनगरस्थित निःसहाय सेवा केन्द्रमा आएको पनि आठ वर्ष पुगिसकेछ ।
वि.सं. १९९० को विनाशकारी भूकम्पमा उनी सात वर्षका थिए । त्यति कलिलो उमेरको घटना त बिर्सन नसकेका कृष्णचन्द्रले जीवनका विभिन्न कालखण्डका घटना कसरी बिर्सन सक्छन् र ? ती घटना उनको मस्तिष्कमा राम्रैसँग गडेको छ । हामीसँगको भेटमा उनी विगतमा फर्किए ।
उनका तीन भाइ छोरा र तीन छोरी छन् तर उनीहरूको सहारा नपाएर बेसहारा भएपछि सहारा खोज्दै निःसहाय सेवा केन्द्र आइपुगे ।
उनका पुर्खा निकै धनी थिए । उनी सम्झन्छन्, ‘दाप्चा बजार नै मेरो पुर्खाको भन्दा फरक पर्दैन ।’ उनी कपडा र किरानाको व्यापार व्यवसाय गर्थे । पसल मजाले चलेको थियो । त्यतिबेलासम्म जिन्दगी पनि त ठीकठाक चल्दै थियो । तर उनको जीवनमा एकपछि अर्को घटना हुन थाल्यो । उनी २० वर्षका हुँदा १५ वर्षकी धनमायालाई श्रीमतीका रूपमा भित्र्याए । दुर्भाग्य, धनमायालाई एक्कासि प्यारालाइसिस भयो । प्यारालाइसिस भएर थला परेकी श्रीमतीको निकै हेरचाह गरे । तर केही समयमै सदाका लागि एक्लो बनाएर गइन् उनी ।
आमाको मृत्यु भएको खबरपछि राजधानी बस्दै आएका छोराहरू घर फर्किए । आमाको अन्तिम संस्कारपछि छोराहरू पुनः काठमाडौं नै फर्किए । अब घरमा एक्लै भए कृष्णचन्द्र । आफूलाई माया गर्ने श्रीमतीको याद त साथमा थियो नै ।
दिन बित्दै गयो तर श्रीमती गुमाएको पीडा उनको मनमा ताजै थियो । फेरि जीवनमा अर्को आपत आइलाग्यो । घरमा बसिरहेका थिए, खै कताबाट हो कुन्नि आगो लागेछ । भित्रबाट निस्कनै हम्मेहम्मे भयो । धन्न उनी झ्यालबाट भागेर जीवन जोगाए । हेर्दाहेर्दै घर खरानी बन्यो । घर सँगसँगै उनको सपना पनि जल्यो ।
जीवनको उत्तरार्द्धमा छोराहरूले हेरेनन् भने पनि कमाएको पैसाले काठमाडौंमा घर लिएर बस्ने सोच थियो उनको । तर उनले जग्गा बेचेर जम्मा गरेको पैसा पनि त्यही घरसँगै खरानी भयो ।
घर जलेको खबरपछि उनका छोराहरू घर आए । घर पनि छैन, बुवा एक्लै कसरी बस्ने ? भन्दै काठमाडौं जाने प्रस्ताव राखे । श्रीमतीको मृत्यु र सम्पति खरानी भएको पीडामा परेका कृष्णचन्द्रलाई पनि त्यहाँ बस्ने रहर हरायो । उनी छोराहरूको साथमा विश्वस्त हुँदै काठमाडौं आए ।
तर काठमाडौं बसाइ उनका लागि सुखद रहेन । छोराहरूसँग बसेको केही समयमै घरमा किचलो हुन थाल्यो । आफूहरूले पाल्न नसक्ने भन्दै छोराहरूले जहाँ जान मन लाग्छ, जानुस् भन्न थाले ।
छोराहरूको त्यो व्यवहार असह्य भएपछि उनको जीवनले अर्को मोड लियो । बेसहारा भएपछि सहारा खोज्ने क्रममा भौँतारिएका कृष्णचन्द्र निःसहाय केन्द्रमा आइपुगे । यी घटना सुनाउँदा उनको मुहारबाट चमक हराइसकेको थियो ।
छोरीहरू भने कहिलेकाहीँ उनलाई भेट्न आइपुग्छन् । कोटेश्वर र जोरपाटीमा घर बनाएर जागिर अनि व्यापार गर्दै आएका छोराहरू भने कहिल्यै फर्किएनन् । छोराहरूको सम्झना आउँदैन ? भन्दा उनी भन्छन्, ‘उनीहरूले सम्झिए पो सम्झनु !’
‘जीवन भनेको दुई दिनको नाटक रहेछ । केके न गर्छु भन्ने सोच आउँछ तर कसले के नै गर्न सकेको छ र ?’, उनी पोखिए, ‘भविष्यका लागि भनेर व्यापार गर्ने क्रममा कहाँकहाँ पुगियो । त्यो के काम लाग्यो र ?’
भगवान् सम्झेर दिन बिताउने गरेको बताउँदै उनी भन्छन्, ‘अरूले नहेरे पनि भगवान्ले त हेरेको छ ।’ यो उमेरमा पनि उनी तगडै छन् । नजिकैको वस्तु ठम्याउन र नजिकबाट बोलाएको सुन्न सक्छन् । उनी कामना गर्छन्– अरूको जीवन मेरो जस्तो नबनोस् ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५