बर्दिवास : उच्च शिक्षाको भोकले महोत्तरीको बर्दिवास– १२ बिजलपुराकी छोरी रीताकुमारी महतोलाई काखको दूधेबालक र स्वास्थ्यक्षेत्रको सरकारी सेवाले पनि छेकवार गरेन । रीता दूधेबालक छोरा दुई वर्षीय लवराज कुशवाहलाई काखमा च्यापेर नै स्नातकोत्तर तहको अध्ययनका लागि बर्दिवास जनता बहुमुखी क्याम्पस पुग्छिन् । स्नातकोत्तर तहको अध्ययन गर्ने त पहिलेदेखि नै रहर थियो तर काखको छोरा, कार्यालयको काम, बाहिर गएर पढ्ने आर्थिक अवस्था र परिवारजनको स्वीकृति नहुँदा मन मारेर बसेकी थिएँ , रीताले भनिन्, यसपालि स्नातकोत्तर तहको पठनपाठन सुरु भएपछि अबचाहिँ दुःखसुख पढाइ पार लगाउँला भन्ने आश जागेको छ ।
रीताका माइती बर्दिवासमै भए पनि घर भने छिमेकको धनुषाको बटेश्वर गाउँपालिका– १ लक्ष्मीनिवासमा छ । सर्लाहीको ईश्वरपुर नगरपालिकाको गौरीशङ्कर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी रीतालाई सरकारी सेवा, क्याम्पसको पढाइ, घरको काममा सरसहयोग र छोराको हेरचाहको समय व्यवस्थापन गर्न भने हम्मेहम्मे परेको छ । घरमा बिहान काम सकेर हतारमै खाएर कार्यालय पुग्नुपर्छ, कार्यालय समयपछि सरासर साँझ क्याम्पस पुगेर कक्षा सकिएपछि बल्ल घर जाने हो, छोराले नछाड्दा उसलाई पनि बोकेर नै कार्यालय र क्याम्पस पुग्ने गरेकी छु , उनले भनिन् ।
नजिकको क्याम्पसले स्नातकोत्तर तहको सन्ध्याकालीन कक्षा सञ्चालन गरिदिएकाले केही असजिलो मिच्दै पढाइमा जुटेको रीताको भनाइ छ । उनी क्याम्पसको शिक्षा सङ्कायमा स्वास्थ्य विषयको छात्रा भएकी छन् । उनी जस्तै बर्दिवास– १४ की सजिना भट्टराई (अधिकारी)ले पनि स्नातक तह उत्तीर्ण गरेको चार वर्षपछि स्नातकोत्तर तहको अध्ययन सुरु गरेकी छन् । स्नातक सकेलगत्तै पढाइ निरन्तर जारी राख्ने धोको त थियो तर घर र माइतका अभिभावकले असुरक्षाको कारण देखाएर बाहिर जान अनुमति नदिएपछि मन मारेर बसेकी थिएँ , सजिनाले भनिन्, अलिक ढिलै भए पनि अब स्नातकोत्तर पूरा गर्ने रहर पूरा भएको छ ।
भर्खरै शिक्षा आयोग उत्तीर्ण गरेर जनता मावि बर्दिवासमै शिक्षक नियुक्त भएकी सजिनालाई पनि बिहान नौ वर्षीय छोरालाई तयार पारेर विद्यालय पठाउन, आफू तयार भएर पढाउन विद्यालय जान र साँझ क्याम्पसमा पढ्न पुग्न दौडादौडी नै हुने गरेको छ । बर्दिवास– १४ मै चार वर्षपहिले विवाह भएर आएकी लीला कार्की (थापा)को स्नातक सकेको पाँच वर्षपछि र बर्दिवास– २ की सुशीला पौडेल (ढुङ्गाना)को स्नातक सकेको छ वर्षपछि स्नातकोत्तर पढ्ने रहर अहिले पूरा भएको छ । नौ कक्षा पढ्दापढ्दै विवाह भएकी सुशीलालाई घर र माइती पक्षको सहयोग हुँदा यसै क्याम्पसमा स्नातक पढ्न समस्या भएन तर घरपरिवारले आर्थिक अवस्था र असुरक्षाको कारण देखाउँदै स्नातकोत्तर पढ्न बाहिर जान नसक्ने बताएपछि मन कुँड्याएर बस्नुपरेको पछिल्ला छ वर्ष सम्झँदै सुशीलाले अहिले पढ्न पाएकामा खुसी व्यक्त गरिन् ।
भक्तपुर माइती भएकी कृष्णमाया बिखुञ्छे (मण्डल) पनि बर्दिवास– ८ हाथीलेटमा विवाह भएर आएपछि घरबाटै अहिले स्नातकोत्तर पढ्न पाएकामा दङ्ग छन् । भर्खर एसएलसी गर्दै विवाह गरियो, त्यो पनि मधेसका मण्डलसँग बिहे गरेपछि अगाडि पढ्न पाइन्न कि भन्ने लागेको थियो , कृष्णमायाले भनिन्, तर पति, सासू, ससुरा सबैले वातावरण मिलाइदिँदा घरबाटै आएर यसै क्याम्पसमा स्नातक सकेँ । अहिले केही वर्षपछि स्नातकोत्तरत हको अध्ययन पनि गर्न पाइयो ।
यसपालि त्रिभुवन विश्वविद्यालयको स्वीकृतिबाट स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गरिएपछि स्नातक सकेर बसेका बुहारीका लागि घरपायक नै यस तहको अध्ययनको अवसर जुटेको हो । क्याम्पसमा अहिले स्नातकोत्तर तहमा अध्ययनरत १७ छात्रामध्ये १२ विवाहित नै रहेका क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले बताए । भर्खरै चैत महिनाको प्रारम्भसँगै शिक्षा सङ्कायमा नेपाली र स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरु भएपछि उच्च शिक्षा आर्जन गर्ने रहर मारेर बसेका बर्दिवास र वरपरका छोरी/बुहारीले पढ्ने अवसर पाएका हुन् ।
तराईमा शिक्षा, स्वास्थ्य र अन्य अवसरमा निकै पछि देखिने गरेका बरही (लोहार, डकर्मी पेसाका तराईको जातिविशेष) जाति परिवारकी महोत्तरीकै औरही– ८ टिम्कीयाकी सुनिता ठाकुर स्नातकोत्तर पढ्न पाउँदा खुसी भएकी छन् । सुनिताले भनिन्, अब मेरो चिन्ता हट्यो, ढुक्क भएर पढ्न लागेकी छु । घरको अत्यन्त कमजोर आर्थिक अवस्था भएकाले कक्षा– ११ देखि नै आफैँले ट्युसन पढाएर रकम जोहो गर्दै अध्ययन गर्नुपरेको सुनिताको भनाइ छ । धनुषाको मिथिला नगरपालिका– १ की सङ्गीता महतोले पनि घर नजिकको क्याम्पसमा स्नातकोत्तर तह सुरु भएपछि पढ्न पाइएको बताइन् । घरबाटै आउन जान पाइएपछि पढाइ सुरु गर्न पाएँ , सङ्गीताले भनिन्, घरको अवस्थाले म बाहिर बसेर पढ्ने अवस्था त थियो तर छोरीलाई बाहिर राख्ने कुरामा अभिभावक हाम्रो समाजमा त्यति सजिलै तयार हुँदैनन्, मेरा पनि भएनन् ।
वि.सं. २०६४ मा स्थापित बर्दिवास जनता बहुमुखी क्याम्पसमा यसअघि पनि घरबाटै पढ्न सक्ने वातावरण पाएर छोरी/बुहारीले स्नातकतहसम्मको अध्ययन गर्न पाएका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज खड्काले बताए । अहिले स्नातक तहमा ५९८ र स्नातकोत्तर तहमा ३४ गरी ६३२ छात्रछात्रा रहेका छन् । कूल विद्यार्थी सङ्ख्यामा ५५ प्रतिशत छात्रा रहेका क्याम्पस प्रशासनले जनाएको छ ।
- रासस
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५