काठमाडौं : माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो ।
शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् । अस्थायी शिक्षक सङ्घर्ष समितिका प्रदेश नं ३ का संयोजक बहादुरसिंह लामाले शान्तिपूर्ण आन्दोलनमा रहेका साथीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले छुट अस्थायी शिक्षकलाई प्रतिस्पर्धामा लिने वातावरणका लागि नयाँ बन्ने सङ्घीय शिक्षा ऐनमा प्रबन्ध हुन आफूहरु सरकारसँग संवादमा रहेकाले बेग्लै आन्दोलन गरिरहनु नपर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५