आईपीएलको १५ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा चेन्नईलाई हराउँदै दोस्रो जित निकालेको हो ।
१ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । पहिलो ओभरको चौथो बलमै ओपनर आम्बती रायडूलाई जोसन बेहरनडोफले विकेटकीपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिए फर्काए । दोस्रो ओभरको दोस्रो बलमा मलिङ्गाले शेन वाटशनलाई ५ रनमा क्याच आउट गराए । पाँचौ ओभरको अन्तिम बलमा बेहरनडोफको बलमा छक्का प्रहार गर्न खोज्दा बाउन्ड्री नजिकै किराण पोलार्डले सुरेश रैनाको उत्कृष्ट क्याच लिएपछि चेन्नई संकटमा परेको थियो ।
हार्दिक पान्ड्याले १५ ओभरको पहिलो बलमा महेन्द्रसिंह धोनीलाई १२ र चौथो बलमा रविन्द्र जडेजालाई १ रनमा क्याच आउट गराएपछि चेन्नईको जित कठिन बनेको थियो । रैना १६,ड्वेन ब्राभो ८,दिपक चाहार ७ रनमा आउट हुँदा सार्दुल ठाकुर १२ रनमा अविजित रहे ।
त्यस अघि घरेलु मैदान वानखडेमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो । यो चेन्नईको पहिलो हार हो । यस अघि चेन्नईले दिल्ली क्यापिटल्स,रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सलाई हराएको थियो । यस अघि मुम्मईले बेंगलोरलाई हराउदा दिल्ली र पन्जावसँग पराजित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५