खोटाङ : खोटाङका किसानलाई खुसीको खबर । जथाभावी एग्रोभेटले महँगोमा बिक्री गर्दै आएको तरकारीजन्य बिउबीजनहरू अब ऐँचो–पैँचो पसलले सहुलियत दरमा दिने भएको छ । ६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका र जिल्ला सहकारी संघले संयुक्त रूपमा स्थापना गरेको ऐँचो–पैँचो पसल स्थापना गरेका हुन् ।
यस पसलले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तु उचित मूल्यमा किनिदिने र उनीहरूलाई आवश्यक पर्ने किराना सामानहरू पनि धेरै नाफा नराखी बिक्री पनि गर्ने जिल्ला सहकारी संघका अध्यक्ष अनिल जोशीले जानकारी दिए ।
दिक्तेलस्थित पुरानो बैंक चोकमा २५ लाख रुपैयाँको लागतमा बुधबार स्थापना गरिएको यो पसलले किसानहरूलाई आवश्यक पर्ने बिउबीजन पनि सस्तोमा दिने जोशीले बताए । अन्य एग्रोभेटमा ५०० रुपैयाँ पर्ने बिउबीजन यस पसलमा ३०० रुपैयाँमै पाइनेछ ।
नगरपालिका र सहकारी संघले संयुक्त रूपमा कार्यविधि बनाएर यो पसल संचालन गरेको जोशीले बताए । जोशीका अनुसार सुरुमा ५–६ लाख रुपैयाँ लगानी गरेर यस पसलको सुरुवात गरिएको छ । विस्तारै लगानी बढाइँदै जाने नगरपालिकाकी उपमेयर विनादेवी राईले जानकारी दिइन् । अर्गानिक कृषि उत्पादन बढाउनुका साथै बजारीकरण पनि बढाउँदै लैजाने उपमेयर राईको भनाइ छ ।
‘अहिले दिक्तेलमा सातामा दुई ट्रकजति तरकारीजन्य वस्तुहरू भारतलगायतका ठाउँबाट आउँछ’, संघका अध्यक्ष जोशी भन्छन्, ‘अब आयात होइन, निर्यात गर्दै जानेछौँ ।’
खोटाङलाई चाँडोभन्दा चाडो तरकारीजन्य वस्तुमा आत्मनिर्भर गराइने लक्ष्यसहित स्थापना भएको यस पसलले जथाभावी मूल्यमा बिक्री वितरण गर्ने पसलहरूलाई असर गर्ने जनाइएको छ । अहिले दुई जना कर्मचारी राखेर यो पसल संचालन गरिएको छ । यस पसलमा तीन जनासम्म कर्मचारी राखिने कार्यविधि पारित भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५