भोजपुर : संखुवासभाको चैनपुरमा चैत्र २३ गतेबाट संचालन हुने दोस्रो मेयर गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘खेलकुद मार्फत् पर्यटन पहिचान, प्रगति र गरिमा समृद्धि र एकताका लागि फुटबल चैनपुर नगरीमा’ मूल नाराका साथ पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुर नगरपालिकामा चैत्र २३ गतेबाट संचालन हुने प्रदेश नं. १ स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
संखुवासभा क्याम्पसको रंगशालामा हुने प्रतियोगितामा प्रदेश नम्वर १ का ९ वटा जिल्लाका १३ वटा टिमले सहभागिता जनाउने आयोजक समितिका संयोजक भरत कुमार खत्रीले बताए । संयोजक खत्रीका अनुसार सुनसरीको दुहवी नगरपालिका, उदयपुरको कटहरी नगरपालिका, झापाको शिवसतासी नगरपालिका, मोरङ्गको उर्लावारी नगरपालिका, तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिका, इलामको सूर्योदय नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका, र संखुवासभाका ५ नगरपालीकाहरु खेलमा सहभागी हुने छन ।
प्रतियोगिता संचालनका लागि विभिन्न १४ वटा उपसमिति समेत बनाई सकिएको छ । मूल आयोजक समितिका सदस्य एवं चैनपुर नगरपालिकाका प्रवक्ता अमृत राईका अनुसार ती उपसमितिहरुले तीव्ररुपमा काम गरी रहेका छन । खेल मैदानलाई थप व्यवस्थित गर्ने, घेराबारा, खेल मैदान सरसफाई, एवं चैनपुर पोखरी खराङ लगायतका व्यापारीक वजारहरुमा फ्ल्याक्स व्यानरका साथ खेल प्रतियोगिताको प्रचार प्रसारलाई समेत व्यापक बनाईएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ र तृतीय हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १० हजार म्यान अफ द म्याच घोषित खेलाडीलाई प्रत्येक खेलमा ५ हजारका दरले पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ । खेल नकआउटका आधारमा खेलाइने छ ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५