काठमाडौं : माइती घर भोजपुर । कर्म घर सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र भोजपुरका थोरै मानिसले चिन्छन् उनलाई, जति काठमाडौंको बानेश्वरले चिनेको छ । उनलाई बानेश्वरले चिन्ने प्रमुख कारण हो– मीठो बोली र भुल्नै नसकिने मसालेदार चिया ।
बानेश्वरको स्वरूप निकै परिवर्तन भइसक्यो, उनीसँगै व्यापार सुरु गरेका मानिसहरू पनि कताकता पुगे तर विमला पराजुलीले एउटै कामलाई निरन्तरता दिएको भने १७ वर्ष पुगिसकेछ । आफैँले केही गर्नुपर्छ भन्ने सोचका साथ उनले नयाँ बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको तेस्रो गेट नजिकै ५०० रुपैयाँ लगानीबाट चिया पसलको सुरुवात गरिन् । सुरुवाती एक महिना भने चिया खासै बिक्री भएन तर दिनहुँको मिहिनेत, मीठो बोली र मसालेदार चियाले उनको व्यापार निरन्तर रूपमा बढ्दै गयो ।
चिया पसलहरूको भीडमा दैनिक तीन–चार सय कप चिया बिक्री हुन थाल्यो । सामान्य मानिसदेखि नेता, अभिनेता पनि उनको चिया पसलमा निरन्तर आउजाउ गर्न थाले । लामो समय सडकमा अप्ठ्यारो अवस्थामा चिया पसल सञ्चालन गरेपछि हाल उनको चिया पसल बानेश्वर चोक नजिकै एउटा जस्ताले छाएको घरमा छ, जहाँ उनले मासिक आठ हजार रुपैयाँ भाडा तिरिरहेकी छन् ।
बोर्डमा लेखिएको छ ‘विमला दिदीको चिया पसल ।’ एउटा ठूलो डेक्चीमा दूध तताइएको छ । अर्को डेक्चीमा ल्वाङ, सुकुमेल, मरिच, दालचिनीलगायतका पाँचथरी मसला मिश्रित चिया तयार हुँदै छ । बेलुकी ४ बजेतिर उनको चिया पसल पुग्दा निकै घुइँचो थियो । रसास्वादनका लागि पुगेका चियाका पारखीहरूलाई बस्ने ठाउँको अभाव जस्तै दखिन्थ्यो । ग्राहकलाई बस्ने चाँजोपाँजो मिलाउँदै थिए उनका श्रीमान् ध्रुव दाहाल । विमलालाई भने चिया बनाउन निकै चटारो देखिन्थ्यो ।
त्यही ठूलो डेक्चीमा दैनिक ७० लिटर दूध तात्ने गर्छ । त्यही दूधलाई निकै मिहिनेतका साथ चियाको रूप दिँदा दैनिक नौ हजार रुपैयाँ आम्दानी हुन्छ । उनी खुसी हुँदै भन्छिन्, ‘खर्च कटाएर दैनिक तीनदेखि चार हजार बस्छ ।’ यो हिसाबले हेर्दा मासिक एक लाखको हाराहारी कमाइ हुने देखिन्छ ।
यो सफलतामा उनको मात्र हात छैन । मेलम्ची खानेपानी कार्यालयमा जागिरे उनका श्रीमानको हात अनि साथ पनि उत्तिकै छ । उनका श्रीमान् ध्रुव कार्यालय समयबाहेक बाँकी समय उनको पौरखमा सहयोग गर्छन् । विमलालाई चिया पसलमा नै भयाईनभ्याई हुन्छ । विभिन्न स्थानबाट चियाका लागि फोन आइरहन्छ । कार्यालय समयबाहेकको समयमा ध्रुव उनले बनाएको चिया विभिन्न स्थानमा पुर्याउने गर्छन् ।
विमलालाई चियामा नै रमाउने लत लागिसकेको छ । भन्छिन्, ‘पहिले आर्थिक अवस्थाका कारण चिया बिक्री गर्थें, अब छाड्न सक्दिनँ, लत लागिसक्यो ।’ उनी अब आफूले सकुन्जेल चियाका पारखीहरूलाई सन्तुष्ट बनाउने योजना छन् ।
उनले चिया पसल सुरु गर्दा एक कप चियाको मूल्य पाँच रुपैयाँ थियो । अहिले एक कप चियाको मूल्य २० रुपैयाँ पर्छ । विमलालाई बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म भ्याईनभ्याई नै हुन्छ । उनको चिया पसलमा विभिन्न सथानबाट चिया खान आउने गरेका छन् ।
उनको चिया पसलमा एक पटक आइपुगेको मानिस नफर्कने कमै मात्र होला । थुप्रै चिया पसल खुलेका छन् तर उनलाई प्रतिस्पर्धा बढेको जस्तो लाग्दैन । भन्छिन्, ‘आफूले गर्ने व्यवहारमा फरक पर्छ । नेपालमा कामको सम्मान हुँदैन तर यता सानो भनिने कामको विदेशमा सम्मान हुन्छ भन्ने सुनेकी छु । मलाई आफूले गरेको काम कहिल्यै सानो लाग्दैन ।’
उनीहरूले काठमाडौंमा घर बनाएका छैनन् तर चिया पसलको आम्दानी र श्रीमानको कमाइले जग्गाचाहिँ जोडेका छन् ।
नेपालमा काम पाइएन भन्दै विदेश जाने युवायुवतीहरूलाई लक्षित गर्दै उनले भनिन्, ‘सबैले एउटै काम गर्नुपर्छ भन्ने छैन । सबैलाई चिया पसल फाप्छ भन्ने छ र ? तर इच्छा भए यहीँ गर्न सकिने थुप्रै काम छन् ।’
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५