ब्रनाई । ब्रुनाईमा समलिंगीलाई ढुंगाले हानेर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन लागू भएको छ ।
दक्षिण पूर्वी एसियाली राष्ट्र ब्रुनाईमा लागू भएको नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन् । अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेपनि सो कानुन बुधबारदेखि लागू भएको हो ।
ब्रुनाईका समलिङ्गी समुदायले आफूहरूले मध्ययुगको जस्तो सजाय पाउनसक्ने डर चिन्ता व्यक्त गरेका छन् ।
नयाँ कानुन अनुसार कुनैपनि व्यक्तिलाई समलिंगी व्यवहार गरेको चारजनाले देखेका वा आफैंले स्वीकार गरे सजाय दिन सकिन्छ । ब्रुनाईमा समलिंगी सम्बन्ध गैरकानुनी थियो र १० वर्ष जेल सजायको व्यवस्था थियो ।
तेल र ग्याँस निर्यातका कारण धनी ब्रुनाईमा ७२ वर्षीय सुल्तान हसनल बोल्कियाको शासन छ । संसारका ठूला होटलहरू सञ्चालन गर्ने ब्रुनाई इन्भेष्टमेन्ट एजेन्सीको नेतृत्व सुल्तानले गर्छन् ।
नयाँ कानुन लागु गर्न लागेका कारण हलिउडका चर्चित अभिनेता जर्ज क्लुने र अन्यले सुल्तानका होटलहरू बहिष्कार गर्न अह्वान गरेका छन् । ब्रनाईका शासक परिवारसँग अथाह सम्पत्ति छ । त्यहाँका नागरिकले कर समेत तिर्नुपर्दैन ।
ब्रनाईको कानुनमा मृत्युदण्डको व्यवस्था भएपनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन । ब्रुनाईले सन् २०१४ मा इस्लामिक सरिया कानुन लागु गरेको थियो ।
त्यसबेला नै सुल्तानले केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएका थिए । गत शनिवार सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि सरिया मुलुकी संहिता लागु हुने घोषणा गरेको थियो ।
जुन कानुनअनुसार बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेलाई मृत्युदण्ड दिइने छ । गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने र चोरी गरेमा हातखुट्टा काट्ने व्यवस्था छ ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५