स्पेनिस ला लिगा अन्तर्गत मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना भिल्लारियलसँग अप्रत्याशित हारबाट जोगिएको छ । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा झरेको भिल्लारियलविरुद्ध दुई गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्न सफल भयो ।
निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा फिलिप कोउन्टिन्होको गोलमार्फत बार्सिलोनाले अग्रता बनाएको थियो । त्यसपछि १६ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे ।
तर त्यसपछि भिल्लारियलले उत्कृष्ट कमब्याक गर्दै चार गोल गर्न सफल भयो । २३ औं मिनेटमा चुकविजीले गोल गरे भने ५० औं मिनेटमा टोको इकाम्बीले गोल गर्दै खेल दुई दुईको बराबरीमा पुर्याए । ६२ औं मिनेटमा लीबोरा र ८० औं मिनेटमा बाक्काले गोल गरेपछि बार्सिलोना चार दुईले पछि पर्यो ।
बार्सिलोना पछि परेको अवस्थामा खेलको ८६ औं मिनेटमा भिल्लारियलका गोञ्जालेज दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि त्यसको फाईदा उठाउदै बार्सिलोना खेलमा पर्के । खेलको अन्तिम मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लिओनेल मेसीले फ्रिकिकमा गोल गर्दै खेलमा बार्सिलोनाको सम्भावना कायम राखे । इन्जुरी समयकाे तीन मिनेटमा लुइस सुआरेजले झन्डै २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल बराबरीमा पुगेको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५