स्रोत र साधन हुँदाहुँदै पनि हामीसँग छ भनेर नभनुन्जेल कसैलाई थाहा हुँदैन कि कोसँग कहाँ के छ भनेर । प्राकृतिक र धार्मिक सुन्दरताले भरिपूर्ण स्थान र सम्पदा हुँदाहुँदै पनि हामी विवश छौं, त्यसलाई टुलुटुलु हेरेर बस्न ।
कतिपय स्थानमा धार्मिक क्षेत्र र पर्यटनका लागि भन्दै लाखौं/करोडौं रकम छुट्याइन्छ । र, मानव निर्मित धार्मिक/पर्यटकीय स्थान बनाइन्छ । तर जहाँ प्राकृतिक रूपमै सुन्दर र प्राचीन धार्मिक क्षेत्र छन्, त्यसबारे भने न प्रचारप्रसार गरिन्छ, न त त्यसको संरक्षण र सम्बद्र्धन नै । सम्बन्धित निकायले त्यसबारे प्रचार गर्ने र त्यसको संरक्षण गरिदिएन भने जस्तोसुकै अमूल्य चिजको कुनै महत्त्व देखिँदैन ।
यो जिल्ला पर्यटकीय तथा धार्मिक स्थलले भरिपूर्ण जिल्ला हो । यस जिल्लाभित्र दर्जनौं यस्ता क्षेत्र छन्, जहाँ धार्मिक र प्राकृतिक सुन्दरता छताछुल्ल छ । तर प्रचारप्रसार र सम्बद्र्धन अभावमा ती स्थल ओझेलमा परेका छन् ।
कुरा हो पूर्वी पहाडी जिल्ला भोजपुरको । यो जिल्ला पर्यटकीय तथा धार्मिक स्थलले भरिपूर्ण जिल्ला हो । यस जिल्लाभित्र दर्जनौं यस्ता क्षेत्र छन्, जहाँ धार्मिक र प्राकृतिक सुन्दरता छताछुल्ल छ । तर प्रचारप्रसार र सम्बद्र्धन अभावमा ती स्थल ओझेलमा परेका छन् । यीमध्ये भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना र रामप्रसाद राई गाउँपालिकामा रहेको नागछाँगा पनि पर्यटनका लागि महत्व बोकेका स्थल हुन् ।
सरकारले सूचीकृत गरेका १ सय पर्यटकीय गन्तव्य मध्ये भोजपुरको टेम्केडाँडाको काखमै अर्को एउटा सौन्दर्यता बोकेर बसेको ‘महभीर झरना’ पर्यटक आकर्षण गर्ने मुख्य गन्तव्य पनि हो । टेम्केमैयुङ गाउँपालिको क्षेत्रमा रहेको महभीर झरनाले टेम्केमैयुङको सिंगो सुन्दरतालाई झल्काउने गाउँपालिका अध्यक्ष ध्रुवराज राई बताउँछन् । ‘गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा यो झरना छ’, उनले भने, ‘यसले सिंगो गाउँपालिकाको इज्जत धान्ने काम पनि गरेको छ ।’ राईले कुनै बेला छिटफुट स्थानीय घण्टौंसम्म सुन्दरता हेरेर मोहित हुने यो झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बताए ।
झरनाको सुन्दर दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीलाई पनि प्रफुल्लित तुल्याउने स्थानीयहरू बताउँछन् । एकनासले छल्कँदै बग्ने झरनाले धेरै तनावका बीचमा पुग्नेको मनलाई धेरै शान्त पार्न पनि सहयोग गरिरहेको हुन्छ । झरनाको सुन्दरता देखेपछि जस्तै तनाव पनि एकछिनमै चट हुने भोजपुर बोखिमका आशीष राईको अनुभव छ ।
भोजपुर हुदै गएको पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण कार्य भइरहेको र सडक सञ्जाल पनि सहज हुँदै गएकाले झरनाको अवलोकन गर्नेको संख्या वृद्धि हुनेमा आशावादी छन्, छिनामखुका अर्जुन बस्नेत । छिमेकी जिल्ला खोटाङ र भोजपुरको सिमानामा पर्ने भएकाले पनि पर्यटकको आगमनमा पछिल्लो समय वृद्धि हुन थालेको गाउँपालिकाले जनाएको छ ।
करिब २० मिटरको उचाइको भीर हुँदै एकनासले झर्ने झरना भीरमौरीको गोलाजस्तै देखिने गरेको छ । झरना झर्ने भीरको आसपासमा भीरमौरी र त्यसको मह पनि काढ्न पाइने भएकै कारण झरनाको नाम ‘महभीर’ रहेको स्थानीयको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णदेखि करिब तीन किलोमिटर मात्रै दूरीमा रहे पनि मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्याप्त पूर्वाधार र प्रचारप्रसार अभावमा झरना ओझेलमा परेको स्थानीय सरोज बस्नेतले बताए ।
‘झरनालाई पर्यटकको भ्रमण थलो बनाउन अझै व्यवस्थित भौतिक पूर्वाधारको निर्माण गर्नुपर्ने छ’, गाउँपालिका अध्यक्ष राईले भने, ‘पानीको बहावलाई कुलोमार्फत ल्याउँदा झरना ६५ मिटर अग्लो र झनै आकर्षक बन्छ ।’ गाउँपालिकाले यसका लागि आवश्यक स्रोत र श्रम जुटाउने प्रयास गरिरहेको उनले बताए ।
गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट पर्यटकलाई झरना स्थलसम्म आइपुग्ने बाटो, घेराबारा, पाटीपौवा लगायतका पूर्वाधार निर्माणका लागि छ लाख रूपैयाँ छुट्याएको छ ।
यता रामप्रसाद राई गाउँपालिका वडा नम्बर ६ बैकुण्ठे र वडा नम्बर २ धोद्लेखानी कटुञ्जेको सिमानामा अवस्थित पर्यटकीय धार्मिक देवस्थल नागछाङ्गा झरना पनि राज्यको संरक्षणको पर्खाइमा छ । त्यस क्षेत्रको विकासका लागि बेहेरे विकास समाज उपसमितिले स्थानीय स्तरमा छलफल समेत चलाएको संरक्षण अभियानमा जुटेका स्थानीय बाजेन्द्र राई बताउँछन् । उनले भने, ‘पर्यटनका लागि सम्भाव्यता भएको जिल्ला हो भोजपुर, हामीले नागछाँगाको संरक्षण र सम्बद्र्धनका लागि गाउँपालिका र स्थानीयसँग छलफल समेत चलाइरहेका छौँ ।’ नागको जस्तै आवरणमा छाँगा भएकाले त्यसको नाम पनि नागछाँगा राखिएको स्थानीय बताउँछन् ।
भोजपुरका पर्यटकीय क्षेत्रहरूमा सिलिचुङ, ट्याम्के, सेल्मे, सुन्तले, दिङला, मैयुम, हतुवा, साल्पा पोखरी, हांँसपोखरी, घोडेटार लगायत पर्छन् । जिल्लाका यस्ता क्षेत्रलाई पर्यटन विकास केन्द्रका रूपमा विकास गर्न सके राष्ट्रिय आयमा वृद्धि हुनुका साथै पर्यटन व्यवसायमा समेत वृद्धि हुने भोजपुरका प्रदीप राई बताउँछन् ।
साल्पा पोखरी पनि भोजपुर जिल्लाको धार्मिक पर्यटकीय स्थलमध्ये एक हो । भोजपुर सदरमुकामको सुदूर उत्तर साल्पासिलिछो गाउँपालिकाको दोभानेमा पर्ने साल्पा पोखरी धार्मिक एवं पर्यटकीय रूपले प्रसिद्ध छ । जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ पहाडको फेदीमा रहेको यो पोखरी समुद्री सतहबाट तीन हजार चार सय ४३ मिटरको उचाइमा छ ।
बौद्ध, हिन्दू, किराँत लगायत धर्मावलम्बीका लागि उत्तिकै महत्वको तीर्थस्थल र पर्यटकीय स्थानका रूपमा प्रख्यात यो पोखरीमा चण्डी पूर्णिमा, ऋषि तर्पणी पूिर्णमा, कात्तिके पूर्णिमा, मंसिर पूर्णिमा र नाग पञ्चमी लगायतका पर्वहरूमा मेलासमेत लाग्ने गरेको छ ।
साल्पा सिलिछो गाउँपालिकाको दोभानेमा रहेको यस धार्मिक स्थलको विकास र संरक्षणका लागि गाउँपालिकाले योजना बनाएर अघि बढ्ने गाउँपालिकाका अध्यक्ष महेश राईको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५