भोजपुर : भोजपुर जिल्ला घर भएर युएईमा बस्दै आएका भोजपुरेहरू संगठित बनेका छन् । भोजपुरेहरूले खोलेको भोजपुर सेवा समाज युएई र भोजपुर हातेमालो समाजबीच एकता भएसँगै भोजपुर हातेमालो सेवा समाज युएईको महाधिवेशन हुन लागेको अध्यक्ष भीम थापाले बताए ।
‘भोजपुरेको एकता, सामाजिक सेवा र सहकार्य हाम्रो आवश्यकता’ भन्ने मूल नाराका साथ भोजपुर हातेमालो सेवा समाज युएईको प्रथम महाधिवेशन समेत युएईको राजधानी अबुधाबीमा हुने भएको छ । लामो समयदेखि दुई सामाजिक संस्था अलगअलग स्थानमा रहेर काम गर्न समस्या हुने भएकाले एकता गरी एउटै बनाइएको अध्यक्ष थापाको भनाइ छ ।
दुवैको एकतापछिको पहिलो महाधिवेशन आगामी अप्रिल २६ (वैशाख १३) गते हुने छ । आगामी दिनमा पनि भोजपुर हातेमालो सेवा समाज युएईले गरिब, अशक्त तथा दैवी प्रकोप जस्ता घटनामा परेकाहरूका लागि प्रथामिकतामा राखेर काम गर्ने समाजका सदस्य टीकाराम बस्नेतले बताए ।
भोजपुर हातेमालो समाज युएई विशुद्ध समाज सेवा गर्ने सामाजिक संस्था भएकाले यसमा सबै भोजपुरेहरू अटाएको सदस्य बस्नेतले बताए ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५