भोजपुर : ८८ वर्षको उमेरमा आफ्नै गाउँघरमा पुगेका जिल्ला प्रशासन कार्यालयका कर्मचारीको हातबाट नागरिकता लिन पाउँदा भोजपुरको दक्षिणी आमचोक गाउँपालिका–२ की कालीमाया कट्वाल खुसी भइन् । किनकि नागरिकता अभावमा उनको बृद्धभत्तासमेत रोकिएको थियो ।
जिल्ला प्रशासन कार्यालय भोजपुरले गाउँमै पुगेर नागरिकता वितरण गर्न आमचोक गाउँपालिकामा सञ्चालन गरेको दुई दिने शिविरमा कालीमाया मात्र होइन, उनी जस्ता अन्य जेष्ठ नागरिकले पनि नागरिकता बनाए । १९८८ सालमा जन्मिएकी कालीमायाले नागरिकताबिना अस्थायी कागजबाट बृद्ध भत्ता लिँदै आएकामा सोसमेत गएको साउनदेखि रोकिएको नागरिकता वितरण टोलीका प्रमुख भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले बताए ।
भट्टराईसहितको टोलीले आमचोक गाउँपालिकाको केन्द्र बालंखामा सञ्चालन गरेको नागरिकता शिविरमा दुई सय ६८ जना महिला र दुई सय १० जना पुरुषलाई नागरिकता वितरण गरेको हो । शिविरमा आमचोक गाउँपालिकाका स्थानीयले मतदान प्रक्रियामा भाग लिनका लागि फोटोसहितको मतदाता नामावलीमा नामसमेत दर्ता गराएको भट्टराईले बताए ।
जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजना तथा आमचोक गाउँपालिकाको सहयोगमा सञ्चालित शिविरमा गाउँपालिकाका १० वडा र हतुवागढी गाउँपालिकाका नागरिकता लिन छुटेकाहरूले नयाँ नागरिकता र प्रतिलिपी बनाएको भट्टराईले बताए । नागरिकता बनाउन दक्षिण क्षेत्रबाट सदरमुकामसम्म आउन समस्या हुने भएकाले गाउँमै गएर नागरिकता वितरण गर्ने निर्णय गरिएको सहायक प्रजिअ भट्टराईको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५