लमही : दाङका एक युवाले बाख्रापालन गरेर विदेशभन्दा राम्रो कमाइ गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिका– १९ का २३ वर्षीय देवराज ओलीले बाख्रापालन गरेरै मासिक एक लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । विदेशमा ४०-५० हजार मात्रै आम्दानी हुन्थ्यो , उनले भने, तर अहिले नेपालमै बाख्रापालन गरेर एक लाख बढी आम्दानी गर्ने गरेको छु ।
विदेशभन्दा नेपालमा पसिना बगायो भने सम्मानित र राम्रो आम्दानी आफ्नै ठाउँमा गर्न सकिने भन्दै उनले गाउँमै कृषि पेसा अँगाल्नसमेत युवालाई आग्रह गरे । एक वर्ष मलेसिया बसेका उनले विदेशमै हुँदा इन्टरनेटमा व्यावसायिक बाख्रापालनको विषयमा लेखिएको समाचार पढेपछि बाख्रापालन गर्ने प्रेरणा मिलेको बताए ।
वि.सं. २०७३ मा सिर्जनशील बाख्रा तथा कृषि फार्म सञ्चालनमा ल्याएर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन् उनले । पछिल्लो समय दुईवटा बोयर जातका बाख्रा पालन गरिरहेको उनले जानकारी दिए । मासु धेरै हुने र छिटोछिटो बढ्ने, मासु पनि महँगो हुने भएकाले बोयर ल्याएको हुँ , उनले भने, एक लाख २५ हजारमा दुईवटा बोयर ल्याएको हुँ, यी दुईवटाबाट राम्रो आम्दानी भएपछि थप बोयर ल्याउने योजना बनाएको छु ।
चार-पाँचवटा बाख्राबाट व्यवसाय सुरु गरेका उनले सुरुमा करिब सात लाख रुपैयाँ लगानी गरेका थिए । खसी, बोका किन्न ग्राहक घरमै आउने गरेका उनले बताए । वडालाई बोयर बाख्राको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको समेत उनले जानकारी दिए । त्यसका लागि वडामा केही समूह पनि गठन गरेर व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्दा अपनाउनुपर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिने गरेका छन् उनले ।
उनले केही समयपछि उपमहानगरपालिकासँग सहकार्य गरेर बोयर पाल्ने योजना रहेको बताए । उनले भने, विदेशमा फलाममा काम गर्थें । त्यति जटिल काम गर्दा पनि सोचेजस्तो आम्दानी हुन सकेन तर नेपालमा त्यतिकै दुःख गरे राम्रो आम्दानी हुनेरहेछ । उनले व्यावसायिक रूपमा पशुपालन गर्दा रमाइलो लाग्ने गरको अनुभव पनि सुनाए । उनले बाख्राका लागि आवश्यक पर्ने घाँसका लागि करिब १८ कट्ठामा विभिन्न प्रजातिका घाँस पनि रोपेका छन् । उपमहमानगरले पनि प्रोत्साहन गरेको उनले बताए । कान्छो किसान भन्दै उपमहानगरपालिकाले थप हौसला प्रदान गर्ने गरेको र तारजाली लगाउन ५० हजार रुपैयाँ दिएको उनको भनाइ छ ।
समाजमा उत्प्रेरणा जगाउँदै
उनले बाख्रापालन मात्रै गरेका छैनन्, समाजमा व्यवसायप्रति लाग्न प्रेरणा पनि जगाउँदै आएका छन् । पछिल्लो समय रोजगारीको खोजी गर्दै विदेश पलायन जाने क्रमलाई कम गरी आफ्नै ठाउँको स्रोत, साधन प्रयोग गरेर पसिना बगाउने हो भने नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिँदै आएका छन् उनी ।
मुलुकको आर्थिक समृद्धिको मुख्य आधार कृषि नै भएकाले गाउँमा समूह बनाएर सचेतना प्रदान गर्दै आएको उनको भनाइ छ । उनले बाख्रा मात्रै होइन, टर्कीपालन पनि सुरु गरेका छन् । अहिले दुईवटा टर्की ल्याएर पालन गरेको र राम्रो आम्दानी हुने भएपछि व्यावसायिक रूपमा पालन गर्ने उनले बताए ।
- रासस
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५