विराटनगर : भुइँतल्ले घरको साँघुरो कोठामा मंगलबार साँझ भेटिएका ४० वर्षीय सुदाम कार्की चुरोटको सर्को तान्दै थिए । भित्ताभरि सजिएको पोस्टरको एक कुनामा उनको नाम शीर्ष स्थानमै थियो । बडो फूर्तीका साथ कार्की भन्दै थिए, ‘मैले यो पद त्यतिकै पाएको होइन, निकै मेहनत गरेको छु ।’
नेपाल यातायात मजदुर संगठन, इकाई समिति हाटखोला विराटनगरका अध्यक्ष हुन्, कार्की । कार्की २० वर्षसम्म निरन्तर अध्यक्ष बनेका प्रमोदकुमार चक्रवर्तीलाई हराउँदै गत वर्ष मात्र अध्यक्ष भए । चक्रवर्तीको एकछत्र राजलाई पराजित गरेपछि उनी मजदुरको हकहितमा क्रियाशील रहेको बताउने उनले आफ्नो जीवनको भोगाइलार्ई बेलिविस्तार लाउन कुनै कजुस्याइँ गरेनन् ।
मोरङको पथरी घर भएका कार्कीको बाल्यकाल रमाइलोसँग नै बित्यो । सुनसरीको इटहरीमा ठूलोबुबाको घर थियो । बुबाले छोरा राम्रोसँग पढ्ला भनेर इटहरीमा रहेको पिस जोन बोर्डिङ स्कुलमा भर्ना गरिदिए । कार्की दुई कक्षामा पढ्दै थिए । ‘सोले’ नामक भारतीय सिनेमा इटहरीको कृष्ण टाकिजमा लागेको थियो । साथीको लहैलहैमा उनी सिनेमा हेर्न हल पुगे । बेलुका घर पुग्दा ठूलोबुबाको छोराले थाहा पाए । पढ्ने बेलामा सिनेमा हेर्न गएको भन्दै उनलाई ठूलोबुबाको छोराले बेस्सरी कुटे ।
हक्की स्वभावका कार्कीले पिटाइ खाएपछि आफ्नो उद्देश्य बदले । ठूलोबुबाको घरबाट भागेर हिँडेका उनको जीवनको शैली मात्र बदलिएन । जीवनले गलत मोड लिन थाल्यो । ‘घरबाट भागेर त हिँडेँ, तर कहाँ जाने, के गर्ने कुनै लक्ष्य थिएन’, विगतलाई सम्झिँदै कार्कीले भने, ‘ठूलो योजना त थिएन, सुनसरीको झुम्का, चतरा चल्ने बसको खलाँसी बन्न पुगेँ ।’
‘जा कोसीमा गएर हामफालेर मर’, अभिभावकले भनेको सम्झँदै उनले बताए, ‘आमाले त धेरैपटक रुँदै यस्तो छोरो जन्मिनुभन्दा गर्भमै मरेको भए हुन्थ्यो भन्नुहुन्थ्यो ।’
बसको खलाँसी बनेपछि लाउन खान समस्या भएन उनलाई, तर जीवनको मोडले अर्को रूप लिन थाल्यो । रिसले बदलिएको उद्देश्यले उनलाई भविष्यमा सफल बन्ने ढोका मात्र बन्द गरिदिएन, बसकै जिन्दगीमा सफलता देख्न थाले सुदामले । निडर, हक्की र परिआउँदा जे पनि गर्न सक्ने खुबी भएका कारण बस साहुहरूको रोजाइमा पर्दै गए, उनी । खलाँसी काम गरेको केही वर्षमा नै उनी पूर्वको राम्रो यातायत कम्पनी मातृ भाग्यरेखामा आबद्ध भए । खलाँसी काम गर्दैदेखि रक्सी र गाँजाको कुलतमा फसेका सुदाममा भाग्यरेखामा गएपछि भाग्य बदलिएन बरू भाग्यले उनलाई ठग्दै लग्यो ।
सुनसरीबाट झापा पुगेका सुदाम २०५२ सालदेखि लागुपदार्थको गलत संगतमा फसे । काँकडभिट्टा नाकाको बसाइ, मातृ भाग्यरेखा यातायातको जागिर, हातमा मनग्ये रूपैयाँले उनलाई लागुपदार्थ ब्राउन सुगर युजरको संगतमा फसायो । सीमावर्ती भारतीय बजार पानीटं्याकीमा सहजै पाउने ब्राउन सुगरको लतमा उनी निस्कन नसक्ने गरी फसे । पाँच मिनेटको दूरीमा पुग्न सकिने सो बजारमा सहजै पाउने ब्राउन सुगरको निरन्तर अम्मली भएपछि जागिरबाट पनि उनले हात धुनुपर्यो ।
‘ब्राउन सुगरको नशामा डुबेपछि के गर्ने हो थाहा नै हुँदैनथ्यो । त्यसपछि म फेरि घर पथरी नै फर्किएँ । आफू पनि नशामा हुन्थेँ । पैसाका लागि ब्राउन सुगरको कारोबार पनि गर्थें’, निर्धक्कसाथ सुदामले भने, ‘त्यो बेला म गाँउको ‘भाइरस’ नै भइसकेको थिए । धेरैले मलाई गाँउ बिगा¥यो भनेर कुटपिटको प्रयास गरे । तर मैले नशा छोड्न सकिनँ ।’
कहिले पाँचथरको फिदिम त, कहिले सुनसरीको इटहरी । लक्ष्यविहीन यात्राले उनलाई धेरै ठाउँसम्म दौडायो । २०५६ सालमा सुदाम विराटनगर आइपुगे । यो यात्राको क्रममा उनले जानेको पेसा थियो, ड्राइभरी । कहिले बस, कहिले ट्रक, कहिले सानो सवारी साधन चलाउने सुदमले काम त गर्थे । उनको कामको उद्देश्य दुई÷चार पैसा जोगाउने भन्दा पनि कमाएको पैसा लागुपदार्थ प्रयोगका लागि मात्र हुन्थ्यो । घरपरिवारको तिरस्कार, समाजको अपहेलना र राज्यले दिएको ‘ड्रग युजर’ को दर्जाले उनमा परिवर्तन हुने कुनै सम्भावना नै थिएन । ‘जा कोसीमा गएर हामफालेर मर’, अभिभावकले भनेको सम्झँदै उनले बताए, ‘आमाले त धेरैपटक रुँदै यस्तो छोरो जन्मिनुभन्दा गर्भमै मरेको भए हुन्थ्यो भन्नुहुन्थ्यो ।’
विराटनगर आएपछि पनि उनीमा केही परिवर्तन आएन । नजिकैको भारतीय बजार जोगबनीमा हरेक दिन लागुऔषध प्रयोग गर्न धाउने उनका लागि धेरै साथीहरू फेला परे । धेरै साथीहरूमध्ये उनको सबैभन्दा मिल्ने साथी थिए, मोरङ रंगेलीका भीम कोइराला । भीमकै संगतमा उनले टिडिजेसिक नामक लागुऔषधको नियमित प्रयोग गर्न थाले । हरेक दिन जोगबनी धाएर टिडिजेसिक नामक लागुऔषध सिरिन्जको माध्यमबाट शरीरका विभिन्न स्थानमा हान्दाहान्दा उनको शरीरका भागहरू छिद्रछिद्र भइसकेका थिए ।
२०५७ सालमा उनी मित्र विगोयमा परे । उनका मिल्ने साथी भीमलाई भारतीय बजारमा कसैले हत्या गरिदियो । त्यसपछि उनीमा केही परिवर्तनका संकेतहरू देखा पर्न थालेका थिए ।
फेरिएको जीवन
पहिलो संविधानसभाको निर्वाचन आउन केही महिना बाँकी थियो । देशमा राजनीतिक परिवर्तन भइसकेको थियो । यस्ता हरेक परिस्थिति बुझेका सुदामले अब भने आफैँमा सुधार गर्नुपर्छ भनेर प्रण गरे । कसैको कुरामा विश्वास नगर्ने र कसैको कुरा नमान्ने उनले आफ्नै शरीर नियाले । समाजले आफूलाई दिएको उपमा सम्झे र परिवारले पाएको दुःखलाई बुझे । निक्कै भावुक हुँदै उनले भने, ‘यी सबै कुरालाई बुझेपछि मैले एकै पटकमा नसके पनि विस्तारै लागुपदार्थबाट टाढा हुन्छु भन्ने सोच बनाएँ ।’
उनले भने, ‘यी सबै कुरालाई बुझेपछि मैले एकै पटकमा नसके पनि विस्तारै लागुपदार्थबाट टाढा हुन्छु भन्ने सोच बनाएँ ।’
उनको फुपूको छोरा रोशन बस्नेत लगायतको समूहले विराटनगरमा लागुऔषध प्रयोगकर्तालाई सुधार गर्ने गृह रिचमन्ड फेलोसिपको स्थापना गरेका थिए । स्थापित सवारी चालकको रूपमा समेत परिचय बनाएका सुदाम सरासर रिचमन्ड फेलोसिप पुगेर आफू सुधारको बाटोमा लाग्ने बताए । उनी आफैँ सुधारको बाटोमा लाग्ने कुराले उनका आफन्त बस्नेत पनि चकित परे । ‘मलाई त्यो बेला आत्माग्लानि भएको थियो । आफैँदेखि घिन लागेर आएको थियो’, आफ्नो कथा सुनाउँदै सुदामले भने, ‘मैले आफूलाई परिवर्तन गर्छु भनेर प्रण नगरेको भए, सायद अहिलेसम्म म यो संसारमा रहने थिइनँ होला ।’
सुधार केन्द्रको बसाइपछि उनी त्यही रिचमन्ड फेलोसिपमा काम गर्न थाले । सुदामले दैनिक आउने लागुऔषधको प्रयोगकर्तालाई रेखदेखदेखि लिएर त्यहाँ हुने अन्य काममा समेत सहयोग गर्न थाले । रिचमन्डमा लामो समयको बसाइपछि हातमा सीप भएका उनी अहिले फेरि पुरानै पेसामा फर्किएका छन् ।
विराटनगरमा आफ्नै सवारीसाधन चलाउने मात्र होइन, यातायात मजदुरको नेता समेत भएका छन् । करिब दुई सय ५० जना मजदुर आबद्ध यातायात मजदुर संगठन इकाई समितिमा उनी दैनिक समय पनि दिन्छन् । उनको अहिलेको एउटै बाचा छ, ‘धरैलाई राम्रो गर्न सकिनँ होला, तर कसैको कुभलो र नराम्रो पनि गर्दिनँ ।’
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५