काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपालाई ‘लुरुलुरु हतियार बोकेर बुझाउन’ प्रधानमन्त्री केपी ओलीले संसदको रोस्ट्रममा उभिएर आह्वान गरेको नौ दिन पुगेको छ । तर विप्लव नेकपाले हतियार बुझाएर प्रधानमन्त्रीकै भाषामा ‘लुरुलुरु’ नआउने सन्देश प्रष्ट दिएको छ । बरु प्रहरीले गिरफ्तार गरेर ल्याओस् तर आत्मसमर्पण नगर्ने नीति नेकपाले लिएको देखिन्छ ।
सरकारले पक्राउ अभियान तीव्र पारेर धेरै नेता, कार्यकर्ता पक्राउ गरे पनि कसैले आत्मसमर्पण नगर्नु त्यसैको संकेत हुनसक्ने जानकारहरू बताउँछन् ।
सरकार कडा, विप्लव नझुक्ने !
‘सम्झाउँदा हुँदैन भने राज्यले कानुनबमोजिम नियन्त्रण गर्छ । राज्यले नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन । राज्यले नियन्त्रण गर्छ गर्छ’, संसद बैठकमा गत चैत १० गते आइतबार प्रधानमन्त्री ओलीको चेतावनीपूर्ण अभिव्यक्ति थियो । प्रधानमन्त्री त्यतिमा मात्र रोकिएनन्, अगाडि भने, ‘हतियार बुझाउन समय दिइएको छ । त्यो समयभित्र लुरुलुरु बोकेर बुझाउन आए हुन्छ । बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ, सरकारलाई थाहा छ । सरकारले लिन्छ ।’
सहजतापूर्वक नआए दमन गरेरै भए पनि विप्लव नेकपाको गतिविधि नियन्त्रण गर्ने सन्देश विप्लवले पाइसकेका छन् । त्यसो त उनले जारी गरेको विज्ञप्तिले पनि प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारको नियन्त्रण गर्ने योजनाबारे विप्लव बेखबर देखिँदैनन् । उनले गत आइतबार प्रधानमन्त्री ओलीले दिएको चेतावनीपूर्ण अभिव्यक्ति र आफ्ना नेता, कार्यकर्ता पक्राउको विरोधमा भोलिपल्टै विप्लवले जवाफ दिए, विज्ञप्तिमार्फत् । उनले आन्दोलनको कार्यक्रम घोषणा गर्दै उस्तै कडा जवाफ फर्काए, ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध गरिनेछ ।’
नेकपाको सातौँ पूर्ण बैठकको दस्ताबेज पृष्ठ ७ मा उल्लेख छ, ‘उनीहरूलाई थाहा छ, यो क्रान्ति सरकारसँग वार्ता गर्नका लागि सञ्चालन गरिँदै छैन । वार्ताको सैद्धान्तिक अवधारणाबाहेक यतिबेला कुनै वार्ताको सन्दर्भ नै छैन ।’
सरकारको प्रतिबन्धलाई ‘काउन्टर प्रतिबन्ध’को चेतावनी दिएर विप्लवले हतियार बुझाएर वार्तामा नआउने सन्देश दिएको विप्लव नेकपाका एक पोलिटब्युरो सदस्य बताउँछन् । वार्तै गर्नुपरे पनि वर्तमान सरकारसँग नगर्ने उनको अडान छ । नेकपा नेता अनिल शर्मा विरहीले वार्ताका लागि प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामाको शर्त अघि सारेका छन्, जुन माग तत्काल पुरा हुने कुनै सम्भावना भने देखिँदैन । दुई तिहाईको समर्थनप्राप्त बलियो सरकार विप्लव नेकपाले राजीनामा माग्दैमा राजीनामा दिने होइन कि वार्तामा नआए दमन गर्ने दिशामै उन्मुख छ । पूरा नहुने माग अघि सार्नुलाई राजनीतिक विश्लेषकहरू वार्ताका लागि विप्लव नेकपाले घुमाउरो भाषामा गरेको इन्कारका रूपमा बुझ्न सकिने बताउँछन् ।
वार्ताको हल्ला : भ्रम छर्ने र दमन चर्काउने !
प्रतिबन्धित नेकपाले सरकारले वार्ताको हल्ला चलाएर भ्रम छर्ने र दमन चर्काउने नीति लिएको नेकपाको विश्लेषण छ । नेकपाका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ पर्दा भित्रभित्रै सरकारसँग वार्ता भइरहेको खबर सार्वजनिक भएपछि नेकपाले त्यसको खण्डन गरेको थियो । ‘प्रचार के गरियो र गरिँदै छ भने हाम्रो पार्टी छिट्टै सरकारसँग वार्तामा जाँदै छ र सरकारमा सहभागी हुनेबारे छलफल हुँदै छ । यो प्रचार पार्टी पङ्क्ति र जनतालाई भ्रम दिने तथा क्रान्तिलाई कमजोर बनाउने रणनीतिअन्तर्गत भइरहेको छ’, नेकपाको सातौँ पूर्ण बैठकको दस्ताबेज पृष्ठ ७ मा उल्लेख छ, ‘उनीहरूलाई थाहा छ, यो क्रान्ति सरकारसँग वार्ता गर्नका लागि सञ्चालन गरिँदै छैन । वार्ताको सैद्धान्तिक अवधारणाबाहेक यतिबेला कुनै वार्ताको सन्दर्भ नै छैन ।’
केही महिनाअघि आफ्नो पूर्ण बैठकबाट वार्ताबारे नेकपाले अघि सारेको धारणामा ऊ कायमै देखिन्छ । सरकारले आफूहरूलाई ‘लुटेरा समूह’ भन्दै हतियार बुझाउन ३५ दिने सूचना जारी गर्नुलाई सरकार वार्ता होइन, दमनकै बाटोमा रहेको विप्लव नेकपाका नेताहरू बताउँछन् । तर स्रोतका अनुसार विप्लव नेकपाकै केही नेताहरू सत्तारुढ नेकपाका केही नेतासँग संवादमै छन् । यसरी पार्टी नीतिविपरीत पूर्वमाओवादी नेतासँग भइरहेको संवादमा विप्लव भने असन्तुष्ट छन् । विप्लव नेकपाका एक नेता भन्छन्, ‘विप्लव वार्ता होइन, सरकार फासीवादी भएको निष्कर्षसहित विद्रोहकै मुडमा देखिनुहुन्छ ।’
यसअघि सरकारले गत भदौ ८ गते गठन गरेको राजनीतिक वार्ता टोलीले गरेको वार्ता प्रयासलाई पनि विप्लव नेकपाले बेवास्ता गरेको थियो ।
पूर्वमाओवादी नेता भरत दाहाल विप्लव नेकपाले सत्ता साझेदारीको कुरा उठाएको भन्दै हतियार बुझाउन भनेर मात्र वार्ताको वातावरण नबन्ने दाबी गर्छन् । ‘१२ बुँदे समझदारी गर्ने आधिकारिक माओवादी हामी हो । प्रचण्ड–बाबुरामले आत्मसमर्पण गरेका हुन् । त्यस कारणले १२ बुँदे समझदारीपछि सत्ता साझेदारीमा हाम्रो हक छ भन्ने विप्लव नेकपाको कुरा हो’, दाहालले भने, ‘सत्ताको प्रश्नमा वार्ता हुनसक्छ । हतियार छोड भनेर वार्ताको सम्भावना देखिन्न ।’
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५