काठमाडौं : कामीरीता शेर्पा सगरमाथा आरोहण गर्ने एक कीर्तिमानी नाम हो । शेर्पाले सन् २०१७ मे २७ मा २१औँ पटक सगरमाथा आरोहण गरेर गिनिज बुकमा नाम लेखाए । आफ्नै रेकर्ड कामीरीताले वर्ष नबित्दै तोडे । उनले सन् २०१८ मे १६ को दिन २२औँ पटक सगरमाथाको शिखर चुमेर आफ्नै नाममा रहेको रेकर्ड तोडेका हुन् ।
कीर्तिमान बनाउन नभई पेसाको हिसाबले सगरमाथाको शिखर यस वर्ष पनि चुम्ने तयारी छ उनको । कीर्तिमानी आरोही कामीरीता शेर्पा २३औँ आरोहणको तयारीमा लागिसकेका छन् । ७५ दिनको नेपाल सरकारले पर्मिट दिने र मे २९ भित्र सगरमाथाको आधार शिविर खाली गर्नुपर्ने बाध्यात्मक नियम भएकाले अहिल्यैबाट सगरमाथा आरोहणका लागि पूर्ण तयारीमा लागेको उनले बताए ।
आरोहणपूर्व शेर्पाले विभिन्न मन्दिर तथा गुम्बाको दर्शन गरेका छन् । उनले भारतको हिमाञ्चल प्रदेशमा रहेको गुरु रिम्पोचेको तीर्थस्थललगायत दर्जनौँ गुम्बाहरूको दर्शन गरेको बताए ।
हरेक वर्ष हिमाल चढ्नुअघि धार्मिकस्थल दर्शन गर्ने गरेको बताउने शेर्पाले यस वर्ष पनि विभिन्न धार्मिकस्थल दर्शन गरेका हुन् । पेसालाई पूजा गर्ने शेर्पा भन्छन्, ‘मेरो पेसा नै हिमाल चढ्नु हो । अझै तीन पटक सगरमाथा चढेर २५औँ पटक पुर्याउने मेरो लक्ष्य छ ।’ २५ पटक शिखर चुम्दा उनी ५३ वर्षका हुनेछन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु– ५ थामे गाउँमा जन्मिएका हुन् कामीरीता । २३औँ पटक सगरमाथा चढ्न पूरा तयारी भएको बताए, ‘मेरो शरीरले भ्याएसम्म सगरमाथा चढ्नेछु, अझै ३ पटक सगरमाथा चढ्ने मेरो आँट, जाँगर र योजना छ ।’
धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान आफ्नै नाममा रहेको भए पनि पेसा नै आरोहण भएकाले शरीरले भ्याएसम्म आरोहण गरिरहने प्रतिबद्धता व्यक्त गर्छन् उनी । २५औँ पटक पूरा गरेपछि आराम गर्ने सोचमा छन् । आफूले आरोहण गर्न नसकेपछि पनि अरू साथीभाइलाई हौसला दिनकै लागि सगरमाथा आधार शिविरसम्म जाने योजना रहेको कामीरीता शेर्पाले बताए ।
सेभेन समिट ट्रेक्समा काम गर्दै आएका शेर्पाले वर्षको एक पटक गरेर अझै तीन पटक शिखर चुमेर मात्र आराम गर्न लागेको बताए । अहिले ४९ वर्ष पुगेका शेर्पाले १२–१३ वर्षको उमेरदेखि नै पर्यटकको भारी बोकेर हिमाल चढ्न थाले । पहिलो पटक २४ वर्षको उमेरमा सन् १९९४ मे १३ मा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् उनी ।
२२औँ पटक सगरमाथा आरोहण गरेर २३औँै पटकको तयारीमा लागेका शेर्पाले छोराछोरीलाई भने पथप्रदर्शक नबनाउने योजना सुनाए । त्यही योजनाअनुसार कुनै पनि छोराछोरीलाई आरोहणको तालिम लिन दिएका छैनन् भने हिमाल आरोहण गर्न पनि दिएका छैनन् ।
आफू जन्मिएको गाउँबाट पढाइका लागि दैनिक छ घण्टा हिँडेर खुम्जुङ र नाम्चे जानुपरेकाले शेर्पाले कक्षा ४ बाट पढ्न छाडेका हुन् । छोराछोरीलाई राम्रो पढाएर आफूले पाएको दुःख नपाऊन् भनेर सन्तानलाई अरोही बन्न नदिएको उनले बताए । शेर्पाका एक छोरा र एक छोरी छन् । छोरा स्नातक तह र छोरी प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५