साेलुुखुम्बू : प्रायजसो घरको नजिकै चिहान छ । कसैको घर नजिक थोरै त कसैको घर नजिक धेरै । अंशबण्डा र घरपरिवार छुटफुटसँगै कुलवंशको चिहानस्थल पनि थपिन्छ । जहाँ घर बन्छ, त्यहाँ पनि चिहान थपिने निश्चित छ किनभने मानिस मरणशील प्राणी हो ।
कतिलाई अचम्म लाग्न सक्छ, किराँत कुलुङ समुदायमा मृत्युपश्चात् आफ्नै कोठेबारी (करेसा) मा समाधिस्थ गर्ने चलन छ, जसका कारण प्रत्येक घर नजिक चिहान सामान्य जस्तै मानिन्छ । यो एउटा टोलको कथा होइन, पूरै कुलुङ समुदायका गाउँबस्तीको हो । यस्तैमध्ये एक सोलुखुम्बू जिल्लाको महाकुलुङ गाउँपालिका पनि पर्छ ।
महाकुलुङमा ९० प्रतिशतभन्दा बढी कुलुङ जातिको बसोबास छ । कुलुङ परम्पराअनुसार गाउँमा कसैको मृत्यु भए घरनजिकै आफ्नै बारीमा चिहान बनाएर समाधिस्थ गर्ने गरिन्छ । परापूर्वकालदेखि नै मृतकलाई घर छेउमा गाड्ने चलन हो । आफ्नै निजी जमिनमा दाहसंस्कार गर्ने परम्पराका कारण कुलुङ सामुदायको बसोबास रहेका गाउँमा सामूहिक समाधिस्थलको व्यवस्था हुँदैन भने एकान्तमा लैजाने चलन पनि छैन ।
नक्षत्र हेर्दा जोगिनीले जहाँ भेट्टाउँछ, त्यहीँ चिहान खन्नुपर्ने मान्यताले यहाँ उर्बर जमिनको संकट भएको कुलुङको भनाइ छ । पात्रोअनुसार जोगिनीले नभेटेको ठाउँमा चिहान खन्न हुँदैन भन्ने मान्यता छ भने सोहीअनुसार समाधिस्थल बनाइँदै छ ।
शहर बजार र अन्य केही जिल्लामा सामूहिक समाधिस्थलको व्यवस्था भए पनि महाकुलुङमा त्यो अभ्यास सुरु भएको छैन । आदिमकालदेखि चल्दै आएको निजी जमिनको समाधिस्थल परम्पराले पछिल्लो समय भने समस्या हुन थालेको छ । अन्यत्रको हिमाली र पहाडी गाउँहरूमा जनसंख्या घटे पनि महाकुलुङमा भने बढ्दो छ । जनसंख्या वृद्धि र जमिनको खण्डीकरणले बारीमै चिहान राख्ने परम्परामा चुनौती सिर्जना हुँदै गएको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सोलुखुम्बूका जिल्ला अध्यक्ष परमध्वज कुलुङ बताउँछन् ।
अध्यक्ष कुलुङ यो संस्कारले बारीहरू विस्तारै चिहानघारीमा बदल्दै लगेकामा चिन्तित छन् । उनी भन्छन्, ‘परम्परालाई सिधै हटाउन नमिल्ला । तर कसरी हो यसमा सुधार आवश्यक भएको छ । नत्र विस्तारै टोल, बस्ती र गाउँ चिहानमय हुने छन् । पछिल्लो समय पक्की चिहान बनाउनाले झन् समस्या ल्याएको छ ।’
घरबारीमा चिहान बनाउने चलनले खेतीयोग्य जमिन कम हुँदै गएको महाकुलुङका स्थानीय डिल्लीराम कुलुङले बताए । नक्षत्र हेर्दा जोगिनीले जहाँ भेट्टाउँछ, त्यहीँ चिहान खन्नुपर्ने मान्यताले यहाँ उर्बर जमिनको संकट भएको कुलुङको भनाइ छ । पात्रोअनुसार जोगिनीले नभेटेको ठाउँमा चिहान खन्न हुँदैन भन्ने मान्यता छ भने सोहीअनुसार समाधिस्थल बनाइँदै छ ।
पुराना पुराना घरको नजिक १०–१२ वटासम्म चिहान हुँदा करेसाबारीकै समस्या भएकाले यो परम्पराबारेमा सोच्ने बेला भएको उनी बताउँछन् । डिल्ली कुलुङको जस्तै धेरैको कुलुङ समुदायले सामूहिक समाधिस्थलबारे सोच्नुपर्ने समय आएको ठम्याइ छ ।
नेपालमा अन्य सामुदायले पनि लास माटोमा गाड्ने गरेका छन् । सोलुखुम्बूमा मात्रै कुलुङले जस्तै खालिङ, थुलुङ, वाहिङलगायत अन्य किरात समुदायले पनि घरबारीमा मृतकलाई गाड्ने गरेका छन् । तर अरू धेरै समुदायले भने निश्चित स्थानमा सामूहिक समाधिस्थल बनाएका छन् ।
कुलुङ जातिको उद्गमस्थल महाकुलुङमा घरकै बारीमा लास दबाउने चलनले विस्तारै समस्या खडा गर्दै गएको छ । कुलुङ समुदायले समाधि संस्कार समयसँगै परिवर्तन गर्ने बेला आएको कुलुङ संघका अध्यक्ष कुलुङको बुझाइ छ । अहिल्यै सोचेर अगाडि नबढे भविष्यमा थप चुनौती बढ्दै जाने हुँदा बेलैमा सोच्नुपर्ने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५