चाेरीका माेटरसाइकलसहित अभियुक्तहरू सार्वजनिक गर्दै माेरङ प्रहरी ।
विराटनगर : विराटनगरको नोबेल मेडिकल कलेज यस क्षेत्रमा व्यस्त स्थान मानिन्छ । रातदिन मानिसहरूको आवतजावत हुने सो कलेजमा मानिसहरूको भीड नै लाग्छ । कलेजकै अघिल्लतिर कम्पाउन्डमा सवारी साधन पार्किङ गर्ने स्थान छ । सो स्थानमा कलेज प्रशासनले ठेकेदारमार्फत सशुल्क पार्किङ गर्ने व्यवस्था मिलाएको छ । दैनिक हजारौँ सवारीसाधन त्यहाँ पार्किङ हुने गरेका छन् ।
गत फागुन १८ गते राति १० बजे आफ्नो मोटरसाइकल हराएको भन्दै विराटनगर–४ इकराहीका सुशान्त यादवले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिए । फागुन १९ गते सुशान्तले नोबेल मेडिकल कलेजको पार्किङ स्थलबाट मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएपछि प्रहरीले चासो दियो । विराटनगरका विभिन्न स्थानबाट लगातार मोटरसाइकल हराउने क्रम बढेपछि आलोचित भएको प्रहरीलाई ठोस उपलब्धि हासिल गर्नु चुनौती समेत भएको थियो । मोरङ प्रहरीका डिएसपी तथा प्रवक्ता घनश्याम श्रेष्ठले भने, ‘हामीले मोटरसाइकल चोरीको विषयलाई निकै चुनौतीका साथ हेरेर अनुसन्धान गरिरहेका थियौँ ।’
पक्राउ पर्नेमा सिरहा जिल्ला लहान नगरपालिका ६ घर भई हाल विराटनगरमा डेरा गरी बस्ने २७ वर्षीय विजयकुमार यादव थिए । विजयकुमार अरू कोही नभएर नोबेल मेडिकल कलेजमै अध्ययरत एमबीबीएसका विद्यार्थी थिए ।
...
चैत्र १४ गते साँझ मोरङ प्रहरीले विराटनगर–४ सप्तकोसी मार्गबाट एक व्यक्तिलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा सिरहा जिल्ला लहान नगरपालिका ६ घर भई हाल विराटनगरमा डेरा गरी बस्ने २७ वर्षीय विजयकुमार यादव थिए । विजयकुमार अरू कोही नभएर नोबेल मेडिकल कलेजमै अध्ययरत एमबीबीएसका विद्यार्थी थिए । सन् २०११ मा कलेजमा भर्ना भएका विजयकुमार ‘ब्याक’ लागेको विषयमा परीक्षा दिन नियमित रूपमै विराटनगर बस्दै आएका थिए ।
प्रहरीले उनलाई पक्राउ गर्नु अरू केही कारण थिएन । उनी मोटरसाइकल चोरीका अभियुक्त थिए । एक घरको फ्लाट नै भाडामा लिएर बसेका उनी दुइटा चोरीका मोटरसाइकलसहित डेरामा बस्दै आएको घरबाट पक्राउ परे । प्रहरीले विजयकुमारको डेरा लिएकै घरको कम्पाउन्डभित्र लुकाइरहेको अवस्थामा स ५ प ३३३९ नम्बरको मोटरसाइकल र सोही कम्पाउन्डभित्र नम्बर प्लेट नभएको अवस्थामा लुकाएर राखेको अर्को मोटरसाइकल बरामद गर्यो । विजयकुमारसँगै बरामद भएको स ५ प ३३३९ नम्बरको मोटरसाइकलको वास्तविक नम्बर को २५ प ५२५१ रहेको प्रहरीको भनाइ छ ।
विजयकुमार पक्राउ परेपछि प्रहरीले मोटरसाइकल चोरको आन्तरिक ‘कनेक्सन’ माथि थप अनुसन्धान बढाउँदै लग्यो । उनकै बयानका आधारमा प्रहरीले मनोजकुमार चौधरीलाई पक्राउ गर्यो । सुनसरी बर्जु–५, अमाहीबेल्हा घर भएका मनोजकुमार, विजयकुमार पक्राउ परेको भोलिपल्ट दिउँसो विराटनगरको कोसी प्रोजेक्टबाट पक्राउ परे । मनोजकुमारले प्रयोग गर्दै गरेको स १० प ३५०१ नम्बरको मोटरसाइकलसमेत चोरीकै थियो ।
ती मनोजकुमार पनि अरू कोही नभएर माउन्टेन टेलिभिजनका क्यामेरापर्सन थिए । उनको साथबाट बरामद भएको मोटरसाइकलको वास्तविक नम्बर को ३५ प ९७६३ भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । माउन्टेन टेलिभिजन प्रदेश १ का ब्युरो प्रमुख अविजाल बिष्टले मनोजकुमार टेलिभिजनमा काम गर्ने कर्मचारी रहेको बताए । ‘समयमा नै कार्यालय आउँथे, एकजना डाक्टर साथी छन् पनि भन्ने गर्थे । तर प्रहरीले चोरीको आरोपमा पक्राउ परेपछि मात्र उनको वास्तविकता थाहा भयो’, विष्टले आजको न्यूजसँग भने ।
विजय र मनोजकुमार मात्र होइन, प्रहरीले उनीहरूले मोटरसाइकल चोरीपश्चात् त्यसको रंग र स्वरूप परिवर्तन गर्न प्रयोग गर्ने विभिन्न सामग्री समेत बरामद गरेको छ । मोरङ प्रहरीका डिएसपी श्रेष्ठले विजय पक्राउ परेको स्थानबाट मोटरसाइकलको रङ परिवर्तन गर्न प्रयोग गरिने स्प्रे, विभिन्न साइजका औजार, मोटरसाइकलका पार्टपुर्जा र विभिन्न नम्बर प्लेट लगायत सामग्रीसमेत बरामद गरेको जानकारी दिए ।
मनोजकुमार पनि अरू कोही नभएर माउन्टेन टेलिभिजनका क्यामेरापर्सन थिए । उनको साथबाट बरामद भएको मोटरसाइकलको वास्तविक नम्बर को ३५ प ९७६३ भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
...
हराएको मोटरसाइकल र चोरीमा संलग्नको खोजी कार्य प्रहरीले जारी नै राख्यो । विराटनगर–४ इकराहीबाटै चैत १५ गते राति वीरेन्द्र यादवको घरबाट मोटरसाइकल चोरी भयो । वीरेन्द्रले प्रहरीमा निवदेन दिएका थिए । को २८ प ७९७४ नम्बरको मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीको टोलीले हराएकै भोलिपल्ट विराटनगर–१४ जतुवावाट २७ वर्षीय अनुज यादव र सोही स्थान बस्ने २२ वर्षीय सोनेलाल महतोलाई पक्राउ गर्यो । यो मोटरसाइकल चोरी गर्ने समूह भने अलग रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै चैत ९ गते विराटनगर ५ चाँदनी चोकबाट को ३७ प ३१२० नम्बरको मोटरसाइकलसहित सिरहाका २० वर्षीय सुनिल यादव पक्राउ परे । सो मोटरसाइकल सिरहा नगरपालिका १ महावीर चोकबाट फागुन १९ गते हराएको थियो ।
प्रहरीले चोरीमा संलग्न पाँच जनालाई पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ । तर विराटनगरमा दिनँहुजसो मोटरसाइकल तथा स्कुटर हराउने गरेका छन् । प्रहरीले चोरीको घटनामा संलग्न अन्यको पनि खोजी कार्य जारी रहेको जनाएको छ । पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को चोरी कसुर अन्तर्गत मुद्दा दायर गरिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५