भोजपुर : गाउँपालिका कार्यालय वा अध्यक्षले आफ्नो पालिकाका बासिन्दाका लागि केके सम्म गर्ला ? गाउँमा शिक्षाका लागि विद्यालय, स्वास्थ्य चौकी, सुरक्षाका लागि प्रहरी चौकी, यातायातका लागि बाटो निर्माण, व्यवस्थापन । यस्तै यस्तै कुरा आउँछन्, सबैको मानसपटलमा ।
तर यहाँको एक गाउँपालिकाका अध्यक्ष भने पालिकाका कोही पनि महिला सुत्केरी भए भने कुखुराको भाले बोकेर भेट्न पुग्छन् । कुरा हो पूर्वी पहाडी जिल्ला भोजपुरको पूर्वी गाउँपालिका अरूणको । अरुण गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सुत्केरी महिलाको स्वास्थ्य र पोषणको अवस्था बुझ्न घरदैलो अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत बच्चा र आमाको स्वास्थ्य अवस्था चेक गर्ने, बच्चाको जन्मदर्ता गराउने र पोषणका लागि सामग्री उपलब्ध गराउने लगायतका कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, स्थानीय स्वास्थ्यकर्मी, वडा सचिव लगायतको टोलीले घरमै पुगेर अवस्था बुझ्ने गरिएको गाउँपालिका उपाध्यक्ष विनीता ढकाल बताउँछिन् । टिमले प्रसूति भएका महिलालाई घरमै भेटेर कुखुराको भाले, चामल, पाँच सय रूपैयाँ नगद र बच्चालाई एक जोर कपडा लगायतका सामग्री समेत प्रदान गर्ने गरेको छ ।
‘गाउँपालिकाभित्र बसोबास गर्ने जुनसुकै महिला प्रसूति भएमा जनप्रतिनिधि सहितको टोली घरमै गएर प्रसूति स्याहारका लागि आवश्यक पर्ने सामग्री प्रदान गर्न थालेका छौँ’, अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जनाए । गत माघ महिनाबाट गाउँपालिकाले सुरु गरेको यो अभियान निरन्तर चालू छ ।
सुत्केरीको आर्थिक अवस्था पहिचान गर्ने, कमजोर भएमा आवश्यक खाद्यान्न, लत्ताकपडा दिने, स्वास्थ्य अवस्था कमजोर भएमा स्वास्थ्य उपचारको व्यवस्था गर्न गाउँपालिकाले अभिभावकत्व ग्रहण कार्यक्रम सञ्चालन गरेको अध्यक्ष कार्कीको भनाइ छ ।
‘भनेको समयमा आफ्नो माइतबाट समेत भेट्न आउन सम्भव हुँदैन । तर गाउँपालिकाबाट सबै आएर आफ्नो स्वास्थ्य अवस्था बुझ्ने र सामग्री दिने कार्य साह्रै राम्रो हो’, अरूण गाउँपालिका ६ की सुत्केरी महिला शोभा राई कटुवाल खुसी हुँदै भन्छिन् । उनले भनिन्, ‘गाउँपालिकाको यस्तो कार्यले जनप्रतिनिधि र स्थानीयको सम्बन्ध पनि राम्रो हुन्छ, सबैलाई जनप्रतिनिधिलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको पनि विकास हुन्छ ।’
अरूण गाउँपालिकाका सात वडामा यो कार्यक्रम सुरु भएको हो । सुरक्षित प्रसूतिका लागि प्रोत्साहन गर्न पनि गाउँपालिकाको निर्णय अनुसार यो कार्यक्रम सुरु गरिएको उपाध्यक्ष ढकाल बताउँछिन् ।
गाउँपालिकाभित्र यो अभियान सुरु भएपछि गाउँले पनि उत्साही देखिएको वडा सचिव विदुर भट्टराईले बताएका छन् । सुत्केरी अवस्थामा आर्थिक अवस्था पनि कमजोर हुने परिवारलाई गाउँपालिकाको सहयोगले थप मद्दत पुगेको वडा सचिव भट्टराईको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५