काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा सभापतिको चर्चा सुरु भएको छ । नेविसंघ हेर्दै आएका पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले गत शुक्रबार चितवन पुगेर एक साताभित्र तदर्थ समिति बन्ने बताएपछि नयाँ नेतृत्वबारे थप चासो बढेको हो ।
महतले अब ६ महिनामा अधिवेशन गर्ने जिम्मेवारी दिएर तदर्थ समिति गठनको तयारी भइरहेको बताएका छन् । ११औँ महाधिवेशनबाट निर्वाचित नैनसिंह महर नेतृत्वको कार्यसमितिले पटक पटक म्याद थप गर्दा पनि महाधिवेशन गर्न नसकेपछि नेविसंघ भंग भएको थियो । माघ अन्तिम सातायता नेविसंघको केन्द्रीय समिति नै छैन ।
नेविसंघको नेतृत्वमा आउन अहिले विद्यार्थी नेताहरूको दौडधुप सुरु भएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, प्रकाशशरण महतलगायतका निवासमा विद्यार्थी नेताहरूको दौडधूप सुरु भएको छ । देउवा निकट स्रोतका अनुसार अब बन्ने तदर्थ समिति ३२ वर्षमाथिको बन्ने छ । ३२ माथिका नेताहरू नै नेतृत्व हत्याउन सक्रिय देखिएका छन् ।
सभापतिको लिगलिगे दौड
अब बन्ने तदर्थ समिति सभापति शेरबहादुर देउवा गुटबाटै बन्ने पक्का छ । त्यसकारण नेविसंघमा सभापतिका आकांक्षीहरू पनि सोही गुटका धेरै छन् । सो समूहबाट सभापतिका रूपमा राजीव ढुंगाना, पुष्पकुमार शाही, ऋषिकेशजंग शाह र सरोज थापालाई हेरिएको छ । ढुंगाना संघका पूर्व उपाध्यक्ष हुन् । शाह र शाही दुवै पूर्वउपाध्यक्ष हुन् । थापा पूर्वमहामन्त्री हुन् ।
देउवा समूहभित्र पनि नेविसंघमा चासो र प्रभाव राख्ने नेताहरू छन् । संघका पूर्वसभापति विमलेन्द्र निधि, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, विश्वप्रकाश शर्मा, किशोरसिंह राठोर र संघका पूर्वमहामन्त्री डा. प्रकाशशरण महतले नेविसंघलाई चासोका साथ हर्ने गर्छन् । उनीहरू देउवा गुटभित्रै पनि आफू निकटस्थलाई सभापति बनाउन चाहन्छन् । तर देउवाले भने पार्टी सहमहामन्त्रीसमेत रहेका महतलाई नेविसंघ हेर्न अघि सार्दै आएका छन् ।
देउवा गुटका एक केन्द्रीय सदस्यले तदर्थ समितिमा पनि डा. महत निर्णयक हुने छन् । तर यसपटक निधिले समेत अघिल्ला समिति आउँदा भन्दा यसपटक अलिक बढी चासो राखेको उनले बताए । निधि र महतले आआफ्नो अनुकूलका नेतालाई ल्याउन खोज्दा नेविसंघ गठनमा ढिलाइ भएको देउवा निकट स्रोतको दाबी छ ।
११औँ महाधिवेशनले पारित गरेको विधानअनुसार संघको १२औँ महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू हुने छ । ३२ वर्षमुनि कि माथिको ल्याउने भन्नेमा पनि देउवा गुटभित्र फरक मत छ । तर सहमहामन्त्री महतले भने तदर्थ समितिमा उमेर हद नलाग्ने प्रष्ट बताइसकेकाले अबको नेतृत्व माथिकै आउने देखिन्छ । ‘नेविसंघको विधानअनुरूप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू हुँदैन’, महतले भने ।
कसले मार्ला बाजी ?
देउवा निकटस्थहरू तदर्थ समितिको सभापति राजिव ढुंगाना बन्ने दाबी गर्छन् । स्रोतका अनुसार सभापति देउवाले नै उनलाई नेतृत्वमा ल्याउने बचन दिएका छन् । सुनसरीका ढुंगाना देउवाले कांग्रेस विभाजनपछि बनाएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) निकट नेविसंघमा कोषाध्यक्ष,उपाध्यक्ष भएका थिए । तर पार्टी एकतापछि भने नेविसंघमा खासै सक्रिय नरहेका ढुंगाना अहिले सभापतिका बलिया दाबेदारका रूपमा हेरिन्छन् । निधि र ज्ञानेन्द्रबहादुर कार्कीसँग पनि उनको सम्बन्ध निकट नै रहेको उनी निकटस्थ बताउँछन् ।
ढुंगानालाई पूर्वकै भएकाले कोइराला परिवार र विजय गच्छदारको समेत विरोध नहुने हुँदा उनलाई बनाउँदा सहज हुने बुझाइमा देउवा रहेको बताइन्छ । पछिल्लो समय कोइरालाहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका देउवाले पूर्वमै आफ्नो समूहबाट नेता जन्माउन पनि ढुंगानालाई अघि सार्ने सम्भावना बलियो रहेको स्रोत बताउँछ । कुनै बेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले देउवाकै गृहजिल्ला डडेल्धुराका आफू निकट केशव सिंहलाई नेविसंघको सभापति बनाएका थिए ।
पूर्वमहामन्त्री सरोज थापा विमलेन्द्र निधि निकट मानिन्छन् । संगठनभित्र शालीन नेताका रूपमा हेरिने थापा पनि सभापतिको दौडमा छन् । उनको पक्षमा निधि बलियो गरी उभिएमा सभापतिको लिगलिगे दौड उनले जित्न सक्ने संघका नेता, कार्यकर्ता बताउँछन् । तर महामन्त्रीका रूपमा उनले खासै प्रभावकारी भूमिका नखेलेको भन्दै देउवा गुटकै अर्को समूह थापालाई बनाउन नहुने पक्षमा छ । सभापति देउवा र महतको रोजाइमा भने थापा पहिलो नम्बरमा नभएकाले सभापति बन्ने सम्भावना कम रहेको महत निकट संघका नेताहरू बताउँछन् । तर उनको सम्भावना बाँकी नै रहेको थापा निकट दाबी गर्छन् ।
संघभित्र देउवा समूहमा प्रभाव राख्ने अर्का नेता हुन्, ऋषिकेशजंग शाह । संघको पूर्वउपाध्यक्ष रहेका शाह सल्यानका हुन् । संगठनभित्र युवापंक्तिलाई परिचालन गर्न सक्ने छवि बनाएका उनका पक्षमा राम्रै माहोल देखिन्छ । केही दिनअघि शाहलाई सभापति बनाउन माग गर्दै ठूलो संख्यामा संघका नेता, कार्यकर्ता देउवा निवास नै पुगेका थिए । तर शाहलाई सभापति बनाउने पक्षमा देउवा सकारात्मक हुने सम्भावना कम रहेको देउवा निकट एक नेताले बताए । तर संघका पूर्वसभापति रहिसकेका किशोरसिंह राठोर भने शाहलाई बनाउने पक्षमा रहेको शाह निकट बताउँछन् ।
पुष्पकुमार शाही संघका पूर्वउपाध्यक्ष हुन् । अछामका शाही पनि अहिले भावी सभापतिका रूपमा चर्चामा छन् । संगठनमा निरन्तर लागिरहेका शाही ११औँ महाधिवेशनमा ७ नम्बर प्रदेशतर्फबाट निर्वाचित उपाध्यक्ष हुन् । सभापति देउवाकै प्रदेशका भएकाले पनि शाहीलाई बलियो दाबेदार मानिएको छ । स्रोतका अनुसार सो प्रदेशका जिल्ला सभापतिहरूले पनि आफ्नै प्रदेशका शाहीलाई सभापति बनाउन देउवालाई दबाब दिएका छन् । शाही देउवा पत्नी आरजु राणासँग निकट मानिन्छन् । देउवाले गर्ने निर्णय प्रक्रियामा आरजु राणा हावी भएमा शाही सभापति बन्ने विश्लेषण शाहीइतरका नेविसंघका नेताहरूले गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५