किभ : युक्रेनमा राष्ट्रपतिका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा एक जना लोकप्रिय हास्यकलाकार भोलोडिमिर जेलेन्स्की अग्रस्थानमा रहेको चुनाव आयोगले जनाएको छ ।
वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोविरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोसेन्कोले उनलाई कडा चुनौती दिएका थिए । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोसेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका छन् तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका छैनन् ।
प्रारम्भिक मत गणनाको परिणामअनुसार जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोसेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । पूर्वप्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गरेका छन् ।
करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरूमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।
मत सर्वेक्षणमा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका थिए ।
युक्रेनको संविधानअनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएका कारण सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच आगामी अप्रिल २१ मा दोस्रो चरणको चुनाव हुनेछ ।