विराटनगर : विराटनगरमा अहिले विकास निर्माणको कार्य दू्रत गतिमा छ । कतै नाला बन्दै छ, कतै सडक कालोपत्रे हुँदै छ । कतै तोडफोडको शृंखला पनि जारी छ । चैत महिनाको मध्यतिर आइपुग्दा भत्केको सडकको धूलोले बाटो हिँड्नै असजिलो छ । यस्तो अवस्थामा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कतै आलोचना हुने गरेको छ त कतै प्रंशासा ।
जनचासोको विषयलाई नजिकबाट बुझेका मेयर पराजुली आफ्नो कार्यकाललाई सुखद् बनाउन मात्र चाहँदैनन्, निर्वाचनताका आफूले गरेको बाचा पूरा गर्न डटेर लागेका छन् । केही दिनअघि मात्र साफ महिला फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको जस पाएका मेयर पराजुलीले यो हप्ता फेरि अर्को चर्चित काम गरे । उनले गरेको कार्य सामान्य जस्तो लागे पनि त्यसभित्र मानवीय संवेदना मात्र थिएन, बालबालिकालाई मानिसले कसरी गलत तवरले प्रयोेग गर्न सक्छ भन्ने गतिलो उदाहरणसमेत थियो ।
विराटनगरको महेन्द्र चोक व्यस्त स्थान हो । सोही ठाउँमा एक अपांगता भएकी महिला लामो समयदेखि बस्दै आएकी छिन् । दिनभरि मागेर गुजारा चलाउने पानादेवी महतो आफै शारीरिक रूपमा अशक्त महिला हुन् । १० महिनाअघि पानादेवीले गजबको जुक्ति निकालिन् । उनले विराटनगरकै एक अस्पतालबाट एक अबोध बेवारिसे बालकलाई आफूले पालनपोषण गर्ने जनाउँदै आफैँसाथ लिएर गइन् । आफु एक्लै रहेको र बालकलाई पाल्ने बहानामा पानादेवीले त्यो बेवारिसे बालकलाई आफैले पालन पोषणसमेत गर्न थालिन् ।
जब अस्पतालबाट आफूले ल्याएको बालकको प्रयोग गरेर माग्न थालेपछि वास्तविकता सार्वजनिक भएको थियो । पानादेवीले दैनिक अबोध बालकलाई लिएर जाने र बालकको प्रयोग गरी माग्ने कार्य गर्ने गरेकी थिइन् ।
उनले कुन अस्पतालबाट त्यो बालक लगेको र कसले ती महिलालाई बालक दियो, प्रष्ट रूपमा नखुले पनि उनले केही महिना अबोध बालकलाई आफै साथ राख्न थालिन् । तर जब अस्पतालबाट आफूले ल्याएको बालकको प्रयोग गरेर माग्न थालेपछि वास्तविकता सार्वजनिक भएको थियो । पानादेवीले दैनिक अबोध बालकलाई लिएर जाने र बालकको प्रयोग गरी माग्ने कार्य गर्ने गरेकी थिइन् । यो विषय विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले थाहा पाए । उनी आफै ती महिला भएको ठाउँ पुगेर बालकको उद्धार गरे । विराटनगरको अस्पताल चोक पुगेर मेयर पराजुलीले पानादेवीको साथमा रहेका १० महिने अबोध बालकलाई उद्धार गरी एसओएस बालग्राम इटहरी पठाए ।
जोखिममा बालबालिका
मेयर पराजुलीले १० महिने अबोध बालकको उद्धार गरेको यो एउटा प्रतिनिधि घटना मात्र हो । विराटनगर नगर क्षेत्रमा अहिले पनि धेरै बालबालिका जोखिममा छन् । विराटनगरको शनि मन्दिर, काली मन्दिरलगायत स्थानमा हरेक दिन बिहान–बेलुका अबोध बालबालिकालाई माग्न लगाएको देखिन्छ । आमाबुबाले नै माग्ने पेसा अपनाएपछि बालबालिका पनि सोही कार्यमा लागेका छन् ।
मेयर पराजुली यो घटना सार्वजनिक भएपछि जोखिममा रहेका बालबालिकाको तथ्यांक लिने कार्य भइरहेको बताउँछन् । बालबालिकासँग सम्बद्ध विभिन्न संस्थाहरूसँग सहकार्य गरेर अहिले तथ्यांक लिने काम भइरहेको जनाउँदै मेयर पराजुलीले भने, ‘बुबाआमाले नै माग्ने काममा उत्प्रेरित गरेका छन् भने पनि त्यसलाई निरुत्साहित गर्छौं । बालबालिका संरक्षण, उद्धार गर्नु राज्यको दायित्व हो । यदि तपाईहरूले पनि त्यस्तो थाहा पाउनुभएको छ भने खबर गर्नुस्, हामी उद्धार गर्छौं ।’
माग्ने कामको प्रयोग गर्दै भारतीय क्षेत्रबाट पनि विराटनगर आउनेको संख्या धेरै छ । हातमा कचौरा वा थाल लिएर बाटोबाटो माग्ने कार्यमा धेरै बालबालिका लागेका छन् । खासगरी भारतीय बजार जोगबनीबाट आई माग्ने बालबालिकाको संख्या बढी छ । विराटनगरको महेन्द्र चोक, बसपार्क लगायतका व्यस्त स्थानमा मागिरहेका बालबालिका धेरै देख्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५