काठमाडौं : मौसमविद् मीनकुमार अर्यालले हिजो तराईका जिल्ला बारा र पर्सामा आएको हावाहुरी सामान्य मौसमी चक्रअनुसार भएको बताएका छन् ।
मौसम पूर्वानुमानका लागि प्रविधिमा नेपाल कमजोर भएकै कारण उक्त विपत्तिको पूर्वानुमान गर्न नसकिएको अर्यालले जानकारी दिए । उक्त हावाहुरीबाट ठूलो जनधनको क्षति भएकामा उनले दुःख व्यक्त गरे ।
प्रि–मनसुन अवधिमा जमिन सबैभन्दा तातो हुने बताउँदै उनले भने, ‘तल जमिनको सतहमा भएको तातो हावा माथि जाने र माथि कालो मडारिएको बादलले चिस्याएको हावा तल झर्ने प्रक्रिया नै हिजोको घटना हो ।’ उनले यसलाई मौसमी चक्रको सामान्य प्रक्रिया भएको जानकारी दिए ।
तीनतिरको हावा एकैठाउँमा केन्द्रित भई जुध्दा त्यो क्षेत्रमा बढी क्षति भएको अर्यालले बताए । उनका अनुसार जमिनको सतहबाट १/२ किलोमिटरको उचाइबाट बंगालको खाडी, अर्को अरेबियन सागरबाट आएको हावा माथि जाने र पोखरातिरबाट आएको माथिल्लो सतह (१५/१६ किलोमिटर) को चिसो हावा तल झर्ने क्रममा बारा र पर्सा एरियामा एकापसमा जुध्दा उक्त वितण्डा भएको हो ।
मौसमविद्हरूको भाषामा ‘कन्भेक्टिभ सिस्टम’ भनिने यो प्रक्रिया प्रि–मनसुन अवधिमा प्रायः भइरहने मौसमविद् अर्यालले जनाए । तर, उक्त प्रक्रियामा हावा कति गतिको थियो भन्ने कुराले क्षति निर्धारण गर्ने उनको भनाइ थियो ।
हाल नेपालमा प्रयोग भइरहेको प्रविधि सिंगल मोडेलको भएकाले पानी, हावाहुरी, चट्याङलगायत सबै प्रक्रियाको पूर्वानुमान यकीनसाथ गर्न नसकिएको उनले स्वीकारे । उनले भने, ‘लोकल फेनामेनामा प्रेडिक्ट गर्न साह्रै गाह्रो हुन्छ ।’ अर्को मोडलको प्रविधि पनि जडान भइसकेको तर विभागको डाटा सिस्टममा कनेक्ट हुन बाँकी भएकाले हिजोको हावाहुरीको अनुमान गर्न नसकेको उनले बताए । भने, ‘प्रविधि फिट भइसकेको थियो । खालि विभागको सिस्टममा डाटा कनेक्टको काम बाँकी भएकाले अनुमान गर्न सकिएन ।’
उक्त सिस्टमको ९० प्रतिशत काम पूरा भइसकेको भन्दै अर्यालले अब छिट्टै सबै प्यारामिटरले काम गर्ने भएकाले हरेक मौसमी गतिविधिको पूर्वानुमान गर्न सकिने जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०७५